काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले स्लो ओभर रेटिङका कारण मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई २४ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार गुजरात टाइटन्सविरुद्ध मुम्बईले सात विकेटको हार बेहोरेको थियो । उक्त खेलमा मुम्बईले निर्धारित समयमा पूरा ओभर बलिङ गर्न सकेको थिएन । वर्षाले प्रभावित खेललाई १९ ओभरमा झारिएको थियो ।
जारी सिजनमा मुम्बईको यो दोस्रो गल्ती भएकाले हार्दिकलाई २४ लाख जरिवाना गरिएको हो । यसैगरी बिसिसीआइले मुम्बईका इम्प्याक्ट प्लेयरसहित सुरुआती-११ मा रहेका खेलाडीलाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना लगाएको छ ।
यो सिजन स्लो ओभर रेटिङका कारण जरिवाना गरिएको यो नवौं घटना हो । यसअघि राजस्थान रोयल्स र लखनउ सुपरजायन्ट्सलाई समान दुई तथा रोयल च्यालेन्जर्स बेङ्लुरु, दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सलाई समान एक पटक जरिवाना गरिएको थियो ।
यसैगरी गुजरातका प्रशिक्षक आशिष नेहरालाई पनि म्याच फिको २५ प्रतिशत र एक डिमेरिट अंकको जरिवाना गरिएको छ ।
उनले आचारसंहिताकाे अनुच्छेद २.२० लेवल १ को उल्ङ्घन गरेको बिसिसीआइको ठहर छ । पाँचौं ओभरको अन्तिम बलमा साई किशोरले सूर्यकुमार यादवको क्याच छाडेपछि प्रशिक्षक नेहराले आक्रोश पोखेका थिए ।