काठमाडौं । वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तेस्रो हार बेहोरेको छ । बुधबार एन्टेब्बे क्रिकेट ओभलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो ।
हारसँगै नेपालको चार खेलको दुई अंक छ । यससँगै नेपालको फाइनल सम्भावना कमजोर बनेको छ । नामिबियासँगको पहिलो भेटमा पनि नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।
यता दोस्रो जित निकालेको नामिबियाको चार खेलमा चार अंक छ । नामिबियाले पनि नेपाललाई हराएयता हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको थियो ।
नामिबियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि सान प्रविनले ३१, कविता कुँवरले अविजित १७ तथा पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन बनाए ।
नामिबियाका लागि इभ्लिन केजरुक्वाले दुई तथा विल्का एमवाटिल, साइमा टुहाडेलिनी र मिकेली एमवाटिलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेकाे थियाे ।
नामिबियाका लागि यास्मिन खानले ४५, विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ र सुने विटम्यानले १५ रन बनाए ।
नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक विकेट लिए ।