काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
मंगलबार दाङको लमही क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशविरुद्ध चार विकेटको जित निकाल्याे ।
यो नतिजासँगै दुवै टोलीको दुई खेलबाट समान दुई अंक भएको छ । पहिलो खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ७९ हराउँदा गण्डकी सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो ।
कर्णालीले प्रस्तुत गरेको ९२ रनको लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
गण्डकीका लागि दीपक डुम्रेले ७८ बलमा सात चौकाको मद्दले अविजित ५० रनको योगदा दिए । यसैगरी सुजन गौतम २२ रनमा अविजित रहे ।
दीपक र सुजनबीच सातौं विकेटका लागि अविजित ७३ रनको साझेदारी गरे । कर्णालीका लागि कप्तान दिवान पुनले तीन, दीपेन्द्र रावतले दुई तथा युनिशविक्रम ठकुरीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २७.२ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाए ।
गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी, कप्तान विपिन खत्रीले समान दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले समान एक विकेट लिए ।