काठमाडौं । किरण ठगुन्नाको शतकप्रेरित सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
सोमबार दाङको लमही क्रिकेट मैदानमा सुदूरपश्चिमले गण्डकी प्रदेशविरुद्ध ६ विकेटको जित दर्ता गर्यो ।
जितसँगै सुदूरपश्चिमले दुई खेलबाट दुई अंक जोडेको छ । सुदूरपश्चिम पहिलो खेलका कर्णालीसँग ७९ रनले पराजित भएको थियो ।
यता गण्डकीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
गण्डकीले प्रस्तुत गरेको २२१ रनको लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
सुदूरपश्चिमका लागि किरणले १०१ बलमा ९ चौका र ६ छक्काको मद्दतले अविजित १२१ रनको योगदान गरे । प्रतियोगितामा यो पहिलो शतक हो ।
यसैगरी कप्तान नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ र निश्चल क्षेत्रीले १८ रन बनाए । किरणले पाँचौं विकेटका लागि नारायणसँग अविजित ९६ तथा तेस्रो विकेटका लागि निश्चलसँग ५९ रनको साझेदारी गरे ।
गण्डकीका लागि कप्तान विपिन खत्री, अर्मत गुरुङ, कमल परियार र अर्जुन कुमालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २२० रनको योगफल तयार पारेको थियो ।
गण्डकीका लागि दीपक डुम्रेले ७४ बलमा तीन चौका र एक छक्काको मद्दते सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी अर्जुन कुमालले ९५ बलमा चार चौका र एक छक्काको मद्दतले ५७, सुदीप अर्यालले अविजित २३, वंश क्षेत्रीले १८, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले समान १० रज बनाए ।
तेस्रो विकेटका लागि दीपक र अर्जुनले ५५ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि शेल मल्लले तीन, नारायाण जोशीले दुई तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले समान एक विकेट लिए ।