काठमाडौं । इङ्लिस ब्याटर ह्यारी ब्रुकले यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल)बाट नाम फिर्ता लिएका छन् ।
ब्रुकलाई दिल्ली क्यापिटल्सले ६.२५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले गत संस्करणको आइपिएल पनि खेलेका थिएनन् ।
उनले राष्ट्रिय टोलीलाई प्राथमिकतामा राख्दै आइपिएल नखेल्ने निर्णय लिएको बताएका छन् ।
‘देशको लागि खेल्नु मेरो प्राथमिकता रहनेछ,’ ब्रुकले भने, ‘ पछिल्लो केही महिना निकै व्यस्त भएँ । त्यसैले म केही समय आराम गर्न चहान्छु । मैले आफैंलाई केही समय दिनु आवश्यक छ ।’
ब्रुकले गत संस्करण हजुरआमाको मृत्यु भएपछि आइपिएएल खेलेका थिएनन् । नयाँ नियमअनुसार ब्रुकलाई दुई संस्करणको प्रतिबन्ध लाग्ने सम्भावना छ ।
आइपिएलले यस वर्षदेखि नयाँ नियम ल्याएको छ । जसअनुसार कुनै टोलीमा अनुबन्ध भएपछि नाम फिर्ता लिने खेलाडीलाई दुई संस्करणको प्रतिबन्ध लगाइने छ ।
चोट वा स्वस्थ्य सम्बन्धी समस्या देखिएर प्रतियोगिता छाड्नु परेको अवस्थानमा भने यो नियम लागु हुने छैन ।