काठमाडौं । न्युजिल्यान्डविरुद्ध चार विकेटको जित निकाल्दै भारतले तेस्रो पटक आइसिसी च्याम्पियन्स ट्रफीकाे उपाधि उचालेको छ ।
भारतले यसअघि सन् २००२ र २०१३ मा उपाधि जितेको थियो । भारत तीन पटक यो उपाधि जित्ने पहिलो राष्ट्र हो ।
आइतबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि कप्तान रोहित शर्माले ८३ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७६ रनको योगदान गरे । यसैगरी श्रेयस अय्यरले ४८, केएल राहुलले अविजित ३४, शुममन गिलले ३१, अक्षर पटेलले २९ र हार्दिक पाण्डेयाले १८ रन बनाए ।
पहिलो विकेटका लागि रोहित र शुभमनले १०५ तथा चौथो विकेटका लागि श्रेयस र अक्षरले ६१ रनको साझेदारी गरे ।
न्युजिल्यान्डका लागि कप्तान मिचेल स्यान्टनर र माइकल ब्रेसवेलले समान दुई तथा रचिन रविन्द्र र कायल जिमिसनले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५१ रनको योगफल तयार पारेको थियो । न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले १०१ बलमा तीन चौकाको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे ।
यसैगरी माइकल ब्रेसवेलले ४० बलमा तीन चौका र दुई छक्काको मद्दतले अविजित ५३, रचिन रविन्द्रले ३७, ग्लेन फिलिप्सले ३४, विल योङले १५, टम लाथमले १४ र केन विलियमसनले ११ रन बनाए ।
पहिलो विकेटका लागि विल र रचिन तथा पाँचौं विकेटका लागि ड्यारिल र ग्लेनले समान ५७ रनको साझेदारी गरे ।
भारतका लागि वरुण चक्रवर्ती र कुलदीप यादवले समान दुई तथा मोहम्मद शामी र रविन्द्र जडेजाले समान एक विकेट लिए ।