काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध ७९ रनको सहज जित निकालेको छ ।
आइतबार दाङको लमही क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमै समेटियो ।
सुदूरपश्चिमका लागि खडक बोहराले २७ तथा किरण ठगुन्ना र शेर मल्लले समान १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णालीका लागि दीपेन्द्र रावतले ९ ओभरमा तीन मेडनसहिच ३३ रन खर्चिएर सात विकेट लिए । यसैगरी कप्तान दिवान पुनको नाममा दुई विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली प्रदेशले ४०.४ ओभरमा सबै विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो ।
कर्णालीका लागि अर्जुन घर्तीले ९४ बलमा साता तीन चौका र छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी दिनेश अधिकारीले १७ र दिवान पुनले १२ रन बनाए ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले चार, कप्तान नारायण जोशीले दुई तथा शेर मल्ल, मिलन बोहरा र भोजराज भट्टले समान एक विकेट लिए ।