काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।
बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथिकाे ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते । गीतकार पनि रहेका बुद्धवीरले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्डमा पूरा गरे ।
सोही दूरीको ५० वर्षमाथिमा धर्मले १७ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक चुमे । धर्मले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपालकै रैवत दाहाल दोश्रो भए । उनले निर्धारित दूरी तय गर्न १७ मिनेट ५० सेकेन्ड समय लगाए ।
नेपालले थप एक कांस्य पदक पनि जित्यो । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य पदक प्राप्त गरे । उनले निर्धारित दूरी २० मिनेट १९ सेकेन्डमा तय गरे ।
प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् । पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथा लाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
उक्त दौड शनिबार हुने टोलीको नेतृत्व समेत गरेका बुद्धवीरले जनाएका छन् । शनिबारै धर्मले १० हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्नेछन् ।