काठमाडौं । शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेश प्रदेशको सामना गर्नेछ ।
उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ९ बजे सुरु हुनेछ ।
शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा पहिलो पटक हुन लागेको प्रतियोगितामा पाँच प्रदेश र दुई विभागीय गरि सात टोलीको सहभागिता रहनेछ ।
नेपाल रग्बी संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा यी दुईसहित कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा विभायीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
खेल तालिका:
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफ, मधेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । यसैगरी समूह ‘बी’ मा कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेश छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई सात हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी खेल अवधिभर सहभागी खेलाडीको १ लाख २५ हजार बराबरको खेल दुर्घटना विमा पनि गरिएको छ ।
प्रतियोगिताका सबै खेल खेलाडी डटकमको यु-ट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ ।