राष्ट्रिय खेलकुद परिषद्

हाइ पर्फमेन्स कमिटी गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय हाइ पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप सदस्यसचिव स्तरीय निर्णयअनुसार गठित कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर बिक, राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा खेल विज्ञद्वय पार्थसारथी सेन गुप्त र सुमन डिसी छन् । सचिवमा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल छन् ।

खेलकुदको माध्यमबाट राष्ट्रको गौरव र प्रतिष्ठा आर्जन गर्न ९ बुँदे कार्यदेश (टिओआर) सहित कमिटी गठन गरिएको राखेपले जनाएको छ ।

सोमबार बसेको कमिटीको बैठकले आवश्यक छलफल गर्न राष्ट्रिय खेल संघलाई बैठकका लागि आमन्त्रण गर्ने निर्णय गरेको सचिव दाहालले जानकारी गराए ।

बैठकमा सदस्यसचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय सहभागिताको नतिजामा सुधार, खेलाडी छनोट तथा खेलको पुष्ट्याइ, खेलाडी छनोट त्रूटिरहित हुनु पर्ने, प्रशिक्षकको स्तर वृद्धि र कुरा भन्दा नतिजामुखी काममा ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।