काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बङ्लादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ ।
दशरथ रंगशालामा हुने खेल बेलुकी पाँच बजेदेखि सुरु हुनेछ ।
बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंलादेशलाई २-१ ले पराजित गरेको थियो ।
पहिलो खेलमा नेपालका लागी ‘डेब्यु’ गरेका सविता राना र प्रिती राईले एक/एक गोल गरेका थिए भने बंलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।
हालसम्म बङ्लादेशविरुद्ध सात खेल खेलको नेपालले कुनै पनि खेलमा पराजय बेहोरेको छैन् । सात खेलमध्ये नेपालले ६ खेलमा जित निकाल्दा एक खेल बराबरी खेलेको छ ।
अर्को वर्ष भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारी स्वरुप नेपालले दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशलाई काठमाडौं निम्त्याएको हो ।
एएफसी महिला कप छनोट प्रतियोगिता असोज पहिलो साताबाट उज्वेकिस्तानमा हुने तालिका छ । छनोटको समूह ‘एफ’मा नेपालले हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले असोज दुई गते फिलिपिन्स तथा त्यसको तीन दिनपछि हङकङसँग खेल्नेछ । हङकङ र फिलिपिन्सबीचको खेल असोज ८ गते हुनेछ ।
समूहको शीर्ष टोलीले एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।