
पोखरा । ओलावाले आफिजको ह्याट्रिकप्रेरित मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पोखरामा शनिबार भएको खेलमा च्यासल युथ क्लबलाई ५–० को फराकिलो अन्तरमा पराजित गरेको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन ओलावालेलेसँगै दिनेश राजवंशी र ओलुवाम्नी एडेलाजा सोमिडेले एक/एक गोल गरे ।
रेलिगेसन जोनमा संघर्षरत च्यासलमाथि हाबी बनेको मनाङका लागि तेस्रो मिनेटमा गोल गर्दै एडेलाजाले मनाङलाई अग्रता दिलाएका थिए ।
च्यासलमाथि निरन्तर दबाब बनाएको मनाङले पहिलो हाफको खेल सकिन २ मिनेट बाँकी रहँदा अग्रता दोब्बर पार्यो । मनाङले ४३औं मिनेटमा फ्रिकिकमार्फत अग्रता दोब्बर पारेको थियो ।
विश्व अधिकारीले प्रहार गरेको फ्रिकिकलाई ओलावालेले हेडरमार्फत गोलमा परिणत गर्दै मनाङको अग्रता दोब्बर पारेका थिए ।
दोस्रो हाफमा थप आक्रामक बनेको मनाङका लागि ८६औं मिनेटमा दिनेश राजवंशीले हेडरमार्फत तेस्रो गोल गरेका थिए ।
खेलको अन्तिम समयमा सम्हालिन नसकेको च्यासलविरुद्ध मनाङले इन्जुरी समयमा दुई गोल थप्यो । इन्जुरी समयको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका ओलावालेले त्यसको एक मिनेट नबित्दै ह्याट्रिक गरे ।
जितसँगै मनाङले १ अंकको अंक दूरी कायमै राखेको छ । ८ खेलबाट १९ अंक जोडेको मनाङको १९ तथा समान खेलपछि शीर्ष स्थानको मछिन्द्रको २० अंक छ ।
पराजित च्यासलको ८ खेलबाट ५ अंक छ । तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको च्यासलभन्दा मुनी ३ अंक जोडेको फ्रेन्ड्स क्लब छ ।