सहिद स्मारक ‘ए’ डिभिजन लिग

थ्री स्टारको जितविहिन यात्रामा पूर्णविराम

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारले पछिल्लो चार खेल देखीको जितविहिन यात्रामा पूर्णविराम लगाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो ।

पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टारले दोस्रो खेलमा सातदोबाटो युथ क्लबलाई नतिजा सुम्पिएको थियो । थ्री स्टार तेस्रो खेलमा फ्रेन्डस क्लब, चौथो खेलमा एपिएफ, त्रिभुवन आर्मी क्लब र एनआरटीसँग अंक बाँडेको थियो ।

थ्री स्टारका लागि आयुष घलान र ऋतिक कुमार खड्काले समान एक गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेजले एक गोल गरे ।

सातौ मिनेटमा आयुषले थ्री स्टारको लागि गोल खाता खोलेका थिए । आयुषले संजोग राईको पासलाई जाली चुमाएका थिए । फ्रेन्डसविरुद्ध मिडफिल्डर मिक्चेन तामाङले गरेको गोलपछि थ्री स्टारका खेलाडीले बललाई पोस्टको दिशा दिएको यो पहिलो पटक थियो ।

त्यसको दुई मिनेटपछि नै जावलाखेलले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयो गर्न सकेन । ओनगुना जुनियर थ्री स्टारका गोलकिपर प्रिसोसँग वान भर्सेस वानमा गोल गर्न चुके ।

२५औं मिनेटमा संजोगकै पासमा ऋतिकले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारेका थिए ।

त्यसको तीन मिनेटपछि जावलाखेलका निकोलस फर्नान्डेजको प्रहारमा क्रस बार बाधक बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका लोइच एनजिमीले गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।

५५औं मिनेटमा फर्नान्डेजले गोल गर्दै जावालखेलाई फर्काउने संकेत गरेका थिए ।

इन्जुरी समयको दोस्रो मिनेटमा  गौरव श्रेष्ष्ठको हेडर थ्री स्टारका जीवन गुरुङले गोललाईनबाट क्लियर गर्दा जावलाखेलले बराबरी गर्ने अवसर गुमायो ।

थ्री स्टार सात खेलमा १० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेल भने समान खेलमा सात अंक बटुल्दै नवौ स्थानमा यथावत छ ।