काठमाडौं । मासिमिलियानो एलेग्री ११ वर्षपछि एसी मिलान फर्किएका छन् । इटालियन सिरी ‘ए’ को टोली मिलानले शुक्रबार उनलाई नयाँ प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जानकारी दियो ।
एलेग्रीले सर्गियो कोन्सेसाओको स्थान लिनेछन् । कोन्सेसाओलाई बिहीबार बर्खास्त गरिएको थियो। कोन्सेसाओको नेतृत्वमा मिलान सिरी ‘ए’ मा आठौं स्थानमा रह्यो। योसँगै मिलानले आगामी सिजन युरोपेली प्रतियोगिता खेल्न नपाउने भएको छ ।
एलेग्रीले पछिल्लो दुई कार्यकालमा युभेन्ट्स सम्हालेका थिए । गत सिजन कोपा इटालियाको फाइनलमा रेफ्रीप्रति गरेको अभद्र व्यवहारका कारण उनलाई बर्खास्त गरिएको थियो ।
यसअघि एलेग्रीले सन् २०१० देखि २०१४ सम्म एसी मिलानको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा मिलान सन् २०११ मा लिग च्याम्पियन बनेको थियो ।
यसैगरी एलेग्रीले युभेन्टसलाई सन् २०१५ देखि २०१९ सम्म लगातार पाँच पटक इटालियन सिरी‘ए’ को उपाधि दिलाएका थिए ।