इङ्लिस प्रिमियर लिग

खेलाडीको क्षमतमा टचेलको प्रश्न

लन्डन । चेल्सीका प्रशिक्षक थोमस टचेलले आफ्नो खेलाडीको क्षमतामाथि प्रश्न उठाएका छन् । 

इङ्लिस प्रिमियर लिगमा बुधबार घरेलु मैदान स्टामफोर्ड  ब्रिजमा भएको खेलमा चेल्सी ब्राइटनसँग १-१ को बराबरीमा रोकिएको थियो । 

स्ट्राइकर रोमेलु लुकाकुको गोलमा चेल्सीले दोस्रो स्थानमा उक्लिदै तेस्रो स्थानको लिभरपुलसँगको दुरी तीन अंकमा पुर्याउने संघारमा पुगेको थियो । तर खेलको अन्तिम मिनेटमा डेन वेलबेकको गोलमा ब्राइटन खेलमा फर्कदा चेल्सीले एक अंकमा चित्त बुझाएको थियो ।

२० खेलमा शीर्ष स्थानको सिटीको ५० अंक छ भने समान खेलमा ४२ अंक बटुलेको चेल्सी दोस्रो स्थानमा छ । 

केही खेलअघि सम्म शीर्ष स्थानमा रहेको चेल्सीले यस सिजन प्रिमियर लिगमा ११ अंक गुमाइसकेको छ । 

च्याम्पियन्स लिग विजेता चेल्सीले चोट र कोभिड १९ संक्रमणका कारण पहिलो रोजाईका केही खेलाडीविना मैदान उत्रिएको थियो ।

‘खेलाडीबाट के अपेक्षा गर्ने भन्ने नै मलाई थाहा छैन’, टचेलले भने, ‘केही खेलाडी चोटका कारण बाहिर छने त केही कोभिड १९ संक्रमणका कारण टोली छैनन । तर भएका खेलाडीले पनि क्षमता अनुुसारको प्रदर्शन गर्न सकेनन् । मैले ब्राइटनविरुद्ध जितको अपेक्षा गरेको थिए तर अब खेलाडीबाट के आशा गर्ने भन्ने नै मलाई थाहा छैन ।’

  प्रिमियर लिगमा ब्राइटनविरुद्धको नौ खेलमा चेल्सी अपराजित रहँदै आएको छ । त्यस क्रममा चेल्सीले ६ खेल जितेको छ भने तीन खेल बराबरीमा टुङगिएको छ ।