काठमाडौं। रियाल मड्रिडले शनिबार ला लिगाको अन्तिम खेलमा रियाल सोसिडाडलाई २-० ले हराउँदै प्रशिक्षक कार्लो एन्सेलोट्टी र मिडफिल्डर लुका मोड्रिचको सुखद् बिदाइ गरेको छ।
एन्सेलोटीले अब ब्राजिलको राष्ट्रिय टिम सम्हाल्ने छन् । मोड्रिचले आगामी महिना अमेरिकामा आयोजना हुने क्लब विश्वकपपछि क्लब छाड्ने पक्का भएको छ।
सान्टियागो बर्नबेउको वातावरण भावुक थियो । खेल सुरु हुनुअघि रंगशालामा एन्सेलोट्टी र मोड्रिचको ठूला पोस्टर देखाइएको थियो । क्रोएसियाली मिडफिल्डर मोड्रिचको नाम घोषणा हुँदा स्टेडियममा ठूलो ताली बजाइएको थियो ।
खेलको १०औं मिनेटमा दर्शकहरूले उभिएर मोड्रिच, मोड्रिच भन्दै नाराबाजी गरेका थिए । ८७औं मिनेटमा उनी मैदानबाट बाहिरिँदा दुवै टोलीका खेलाडीले उनलाई गार्ड अफ अनर दिए ।
यसैगरी रक्षक लुकास भास्क्वेजले पनि रियाल छाड्ने भएका छन् ।
घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन दुवै गोल किलियन एमबाप्पेले गरे ।
जितसँगै रियालले ३८ खेलमा ८४ अंकका साथ दोस्रो स्थानमा रहेर लिग सक्काएको छ । पराजित सोसिडाड समान खेलबाट ४८ अंकका साथ ११औं स्थानमा रह्यो ।
खेलको ३८औं मिनेटमा एमबाप्पेको पेनाल्टी प्रहारलाई उनाई मारेरोले बचाएका थिए, तर रिबाउन्डमा गोल गर्दै एमबाप्पेले नै रियाललाई अग्रता दिलाए ।
एमबाप्पलेले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई सहज जित दिलाए । उनले भिनिसियस जुनियरको पासलाई पोस्टको दिशा दिए ।