काठमाडौं । उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको दोस्रो तथा अन्तिम सेमिफाइनलमा बुधबार आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकाको सामना गर्दैछ ।
खेल गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा दिउसो ३ः३० मा सुरु हुनेछ ।
गोदावरी समूह ‘ए’ तथा दक्षिणकाली समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । दुवै टोली पहिलो उपाधिको खोजीमा छन् ।
समूह चरणमा महालक्ष्मी नगरपालिकालाई ६-१ ले तथा बागमती गाउँपालिकालाई ७-० ले हराएको गोदावरीले ललितपुर महानगरपालिकासँग १-१ को बराबरी खेलेको थियो ।
दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५-० तथा चन्द्रागिरी नगरपालिकालाई २-१ ले पराजित गरेको थियो ।
यो खेलको विजेताले उपाधिका लागि काठमाडौं महनगरपालिकाको सामना गर्नेछ । साबिक विजेता काठमाडौंले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा कीर्तिपुर नगरपालिकाविरुद्ध ३-० को सहज जित दर्ता गरेको थियो ।