काठमाडौं । आर्सनलले बुधबार इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेपछि लिभरपुल उपाधि नजिक पुगेको छ ।
अब आइतबार घरेलु मैदान एनफिल्डमा टोटनहमविरुद्ध बराबरी वा जितको नतिजा निकाले लिभरपुल च्याम्पियन बन्नेछ ।
बुधबारको नतिजासँगै दोस्रो स्थानको आर्सनल लिभरपुलसँग १२ अंकले पछि परेको छ । आर्सनलको ३४ खेलबाट ६७ अंक रहँदा एक खेल कम खेलेको लिभरपुलले ७९ अंक जोडेको छ ।
यता क्रिस्टल प्यालेस ३४ खेलबाट ४५ अंकका साथ १२औं स्थानमा छ ।
इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनलका लागि जाकुब किवियोर र लियान्द्रो ट्रोसार्डले गोल गरे । क्रिस्टलका लागि एबेरेची एजे र जिन फिलिप माटेटाले गोल गरे ।
खेलको तेस्रो मिनेटमै किवियोरको फ्रिकिक गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । २६औं मिनेटमा एजेले क्रिस्टललाई बराबरीमा ल्याए ।
ट्रोसार्डले ४२औं मिनेटमा गोल गर्दा आर्सनल २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा माटेटाले गोल गर्दै आर्सनलबाट अंक खोसे ।