लियोनेल मेसी

मेसी सर्वोत्कृष्ट, अब समय एमबाप्पेको : हेरेरा

पेरिस । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी)का मिडफिल्डर एन्डर हेरेराले लियोनेल मेसी विश्वको सर्वोत्कृष्ट खेलाडी भएको बताउँदै अबका धेरै वर्ष विश्व फुटबलमा किलियन एमबाप्पेको प्रभाव रहने भविश्यवाणी गरेका छन् ।

बार्सिलोनाको आर्थिक संकटका कारण मेसीले अगस्टमा स्पेनिस महारथीसँगको २१ वर्षे सम्बन्धमा पूर्णविराम लगाउँदै स्वतन्त्र सरुवा प्रणालीमार्फत पिएसजीको बाटो तताएका थिए ।

पिएसजीमा अर्जेन्टिनी अन्तर्राष्ट्रिय फरवार्ड मेसीको बार्सिलोनाका पूर्व टिम सहयात्री नेइमारसँग पुर्नमिलन भएको थियो । साथमा आक्रमणमा नेइमारसँगै मेसीले किलियन एमबाप्पेसँगको सहकार्य पनि पाइरहेका छन् ।

माउरिसियो पोचेटिन्होले पिएसजीलाई युरोपको मुख्य फुटबल शक्ति बनाउने प्रयासस्वरुप सर्जियो रामोस, अचरफ हकिमी, जियानलुइजी डोनारुमा र जर्जिन्हो विज्नाल्डमलाई पनि भित्र्याएका छन् ।

स्टार खेलाडीहरुको जमघट रहेको पिएसजी फ्रान्सेली लिग वानको अंकतालिकामा १९ खेलको समाप्तीमा १३ अंकको अग्रतासहित उपाधि अभियानमा लम्किइरहेको छ । तर फ्रान्समा स्थापित हुन संघर्ष गरिरहेका मेसीले भने अझैसम्म गोल गर्ने स्वभाविक लय देखाउन सकेका छैनन् ।

पूर्व क्लब बार्सिलोनाका लागि सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका मेसीले पिएसजीका लागि सबैखाले प्रतियोगितामा गरी अहिलेसम्म ६ गोलमात्र गरेका छन् ।

पिएसजीमा स्वभाविक फर्ममा नदेखिए पनि हेरेराको नजरमा मेसी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् र टोली पनि ३४ वर्षे मेसीको वरिपरी केन्द्रित भएर खेल्ने प्रयासमा छ ।

‘मेसीजस्ता खेलाडीले फ्रान्स, स्पेन, जापान वा माडागास्कर जहाँ गए पनि खेल्ने तरिका एउटै हुन्छ । त्यसैले उनलाई नयाँ टिममा स्थापित हुन समय लाग्छ । किनकी टिमले उनको शैलीलाई बुझेको हुँदैन,’ हेरेराले भने, ‘उनले सात पटक बालन डी अर जितिसकेका छन् । त्यसैले अरु खेलाडीले उनको शैलीमा आफूलाई ढाल्नुपर्छ । त्यसो भयो भने क्लबले मेसीको क्षमताबाट बढि भन्दा बढि फाइदा लिन सक्छ ।’

मेसीको नाम कालान्तरसम्म पनि विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा कायम रहने बताउँदै हेरेराले अबका दिनमा भने एमबाप्पेले विश्व फुटबलमा राज गर्ने विचार राखे ।

एम्बाप्पेले जारी सिजनमा १५ गोल गर्नुका साथै १२ एसिस्ट गरिसकेका छन् । २०१७ सेप्टेम्बर आठमा मेट्जविरुद्धको खेलमा पिएसजीका लागि ‘डेब्यु’ जनाउँदा नै गोल गरेका २३ वर्षे एमबाप्पेले आफूलाई विशव फुटबलको मुल्यवान सम्पत्तिका रुपमा स्थापित गरिसकेका छन् ।

युरोपका शीर्ष पाँच लिगमा रोबर्ट लेवान्डोवस्की (२०८), मेसी (१६८) र क्रिस्टियानो रोनाल्डो (१५७)ले मात्र सबै खाले प्रतियोगितामा गरी एमबाप्पेको ‘डेब्यु’यता उनीभन्दा बढि गोल गरेका छन् । एमबाप्पेले यसबीच्मा एक सय ४७ गोल गरिसकेका छन् ।

‘अबका धेरै वर्षसम्म एमबाप्पे विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा रहनेछन्,’ हेरेराले थपे ।