सहिद स्मारक ‘ए’ डिभिजन लिग

मनाङ र मछिन्द्रको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको बहुप्रतिक्षित मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । जारी लिगको भावी विजेता र एएफसी कप खेल्ने टोलीको छिनोफानो हुने प्रतिस्पर्धासमेत रहेको आजको खेल हेर्न रंगशालमा दर्शकको उल्लेख्य उपस्थिति छ ।

निर्धारित समयको आधा खेल सकिँदा पनि दर्शकको आउने क्रम रोकिएको छैन । तर, खेल भने अपेक्षितरूपमै प्रतिस्पर्धात्मक भए पनि गोल हुन सकेको छैन ।

सुरुआतदेखि नै हाइ प्रेसिङको रणनीति अपनाएको मनाङले तुलनात्मकरूपमा बढी मौका सिर्जना गरेको छ । यद्यपि, अपेक्षित फिनिसिङ नहुँदा अग्रता भने लिन सकेको छैन ।

खेलको तेस्रो मिनेटमै मनाङका कप्तान अञ्जन विष्टले दायाँ तर्फबाट दिएको क्रसमा अफ्रिकन फरवार्ड ओलुवाम्नी सोमिडेले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन ।

पछिल्लो खेलमा नेपाल पुलिस क्लबविरुद्ध २ गोल गरेका मनाङका कप्तान अञ्जनले मछिन्द्रविरुद्ध पनि १४औं मिनेटमा आफ्नो भाग्य परीक्षण गरेका थिए । यद्यपि, उनले पेनाल्टी एरियाको एजबाट गरेको प्रहार गोलपोष्टको दायाँतर्फबाट बाहिरिएको थियो ।

मछिन्द्रका मिडफिल्डर विशाल राईले २५औं मिनेटमा प्रहार गरेको फ्रि-किकमार्फत बनेको मुभमा एन्द्रेस नियाले गरेको प्रहार बाहिरिएको थियो । यद्यपि, नियाले प्रहार गर्नुअघि म्याच रेफ्री प्रज्वल क्षेत्रीले ह्विसल बजाइसकेका थिए ।

मछिन्द्रको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मनाङका दयानन्द सिंहले ३४औं मिनेटमा पेनाल्टी बक्सको एजबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

सुनील बलले ३९औं मिनेटमा बायाँतर्फबाट दिएको सुन्दर पासमा मछिन्द्रका अजरबैजानी फरवार्ड नुर्लान नोभ्रुजोभ गोल गर्न चुकेका थिए । पेनाल्टी एरियामा उत्कृष्ट रन बनाएर बल नियन्त्रणमा लिएका नुर्लानको प्रहार सेकेन्डबार बाहिर परेको थियो ।

मछिन्द्रलाई उपाधि होडमा मनाङलाई पछि पार्न यो खेल जित्नै पर्ने दबाब छ । यस्तै, सातौं चरण सकिँदा शीर्ष स्थानमा हुनेले एएफसी कप खेल्ने हुँदा त्यसका लागि पनि मछिन्द्रका लागि यो खेल जित्नुको विकल्प छैन ।

मनाङ भने आजको खेलमा कम्तीमा बराबरीको नतिजा निकाल्न चाहन्छ । सुरुआती ५ खेलबाट १३ अंक जोडेको मनाङ शीर्ष स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ ।