इङ्लिस प्रिमियर लिग

बर्नली र एभर्टनबीचको खेल स्थगित

काठमाडौं । इङ्लिस प्रिमियर लिग बोर्डले बक्सिङ डेमा हुने तय भएको एभर्टन र बर्नलीबीचको खेल स्थगित गर्ने निर्णय गरेको छ । बर्न्लीको मैदानमा हुने तय भएको त्यो खेल स्थगित गर्नका लागि एभर्टनले अपील गरेको थियो ।

एभर्टनले आफ्ना धेरै खेलाडी घाइते र कोरोना संक्रमित भएको कारण देखाउँदै प्रिमियर लिग बोर्डसमक्ष स्थगित गर्न माग गरेको थियो । बोर्डले एभर्टनसँग कोरोना संक्रमण र चोटका कारण आवश्यक संख्यामा खेलाडी उपलब्ध नरहेको निष्कर्ष निकाल्दै खेल स्थगित गरेको हो ।

प्रिमियर लिगको बोर्ड बैठकले शुक्रबार बिहान मात्रै खेल स्थगित गर्ने निर्णय सार्वजनिक गर्दै समर्थकसँग माफी पनि मागेको छ ।

कोरोना भाइरसको संक्रमण फेरि फैलिन थालेसँगै पछिल्लो समय प्रिमियर लिगका धेरै खेल स्थगित भइरहेका छन् । बक्सिङ डे मै हुने तय भएका लिभरपुल र लिड्स युनाइटेड तथा वुल्भ्स र वाटफोर्डबीचका खेल यसअघि नै स्थगित भइसकेका छन् ।