काठमाडौं । नेपाल सुपर लिग फ्रेन्चाइजी झापा एफसीले नाइजेरियाका स्ट्राइकर अल्हाजी गेरोलाई भित्र्याएको छ ।
गेरोलाई झापाले एनएसएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो । गेरोले स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष डिभिजन लिग खेलेका छन् ।
गेरोले स्विडेनको ओस्टरसुन्ड एफकेबाट युइएफए युरोपा लिगको अनुभव लिएका छन् । उनले नाइजेरिको सिनियर टोलीका लागि भने मात्र एक खेलमा मौका पाएका छन् ।
गेराे झापा भित्रिने चौथो विदेशी खेलाडी हुन् । यसअघि क्लबले उज्वेकिस्तानका अजमत अब्दुल्लेव र मुहम्मद इसाएभ तथा सर्बियाका लाजर आर्सिकलाई भित्र्याएको थियो ।
लाकेन लिम्बुलाई मार्की खेलाडी बनाएको झापाले छिरिङ लामालाई रिटेन गरेको छ । यस्तै क्लबले प्रशिक्षण जिम्मेवारी प्रवेश कटुवाललाई सुम्पिएको छ ।
एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुँदैछ । झापाले चैत १७ मा बुटवल लुम्बिनी एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यसपल्ट यी दुइसँगै साबिक विजेता ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, एफसी, पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।