काठमाडौं । कप्तान लियोनल मेसीपछि अर्का स्ट्राइकर लौटारो मार्टिनेज पनि अर्जेन्टिनाको टिमबाट बाहिर भएका छन् ।
अर्जेन्टिनाले यसै साता फिफा विश्वकप छनोट खेलमा ब्राजिल र उरुग्वेको सामना गर्दैछ । बुधबार अर्जेन्टिनी एफसीले मार्टिनेज ह्यामस्ट्रिङको कारण टिम बाहिर रहने जानकारी गरायो ।
इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट खेलिरहेका मार्टिनेज अर्जेन्टिनी टिमका महत्वपूर्ण खेलाडी हुन् । पछिल्लो दशक अर्जेन्टिनाले फिफा विश्वकप र कोपा अमेरिकाको उपाधि जिताउँदा मार्टिनेज टिमका सदस्य थिए ।
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा फेयेनोर्डविरुद्ध खेल्दा २७ वर्षीय मार्टिनेज घाइते भएका हुन् । तर, पनि प्रशिक्षक लियोनल स्कालोनीले मार्टिनेजलाई २३ सदस्यीय टिममा समावेश गरेका थिए ।
मेसी र मार्टिनेजसँगै अर्जेन्टिनी टिममा पाउलो ड्यबला, गोन्जालो मोन्टियल र जिओभानी लो सेल्सो हुने छैनन् ।
विश्वकप छनोटअन्तर्गत अमेरिकी छनोटमा १२ खेलबाट २५ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा छ । समान खेलबाट पाँच अंक कम भएको उरुग्वे दोस्रो स्थानमा छ । इक्वेडर भने १९ अंकसहित तेस्रो स्थानमा छ । १८ अंक जोडेको ब्राजिल पाँचौं स्थानमा छ ।