सहिद स्मारक ‘ए’ डिभिजन लिग

फ्रेन्डस अझै जितविहिन

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्डस क्लब छैटौ खेल सम्म पनि जितविहिन बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न दोस्रो खेलमा फ्रेन्डस र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

१२औं मिनेटमा फ्रेन्डसले अग्रता लिने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । हरि कठायतको पासमा नथालियन जुड गार्सियाको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले विफल पारेका थिए ।

२९औं मिनेटमा सुमन लामाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदाँ पुलिसले अग्रता लिने अवसर खेर फाल्यो । तेज तामाङको फ्रिकिकमा मानबहादुर परियारले हेडरमार्फत उपलब्ध गराएको पासमा सुमनले गरेको प्रहार बाहिरिएको थियो ।

त्यसको तीन मिनेटपछि सौजन राईले पुलिसलाई खेलमा अघि बढाउने अवसर पाए पनि उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

निरकुमार राईको पासमा फ्रेन्डसका गोलकिपर देव लिम्बु बिट भैसकेको अवस्थामा सौजनको प्रहार बाहिरिएको हो ।

४५औं मिनेटमा रवि पासावानको प्रहार बारमा लागेर फर्कदा पुलिस पुनः एकपटक निराश बनेको थियो ।

६२औं मिनेटमा फ्रेन्डसका जामोल एन्थोनीको प्रहार पुलिसका गोलकिपर चौधरीले विफल पारे ।

६ खेलमा पुलिसको ६ अंकका साथ आठौं स्थानमा छ  भने समान खेलमा फ्रेन्डसको मात्र तीन अंक छ । फ्रेन्डस तालिकाको चौधौ स्थानमा छ ।