इटालियन सिरी ए

इन्टरको जितमा सान्चेजको गोल

मिलान । बार्सिलोना सरुवाको चर्चामा रहेका चिलीका फरवार्ड एलेक्सिस सान्चेजले गोल गरेको खेलमा पुछारको सालेर्निटानामाथि ५-० को जित हासिल गर्दै इन्टर मिलानले इटालियन सिरी ‘ए’ अंकतालिकामा शीर्षता फराकिलो पारेको छ ।

जारी सिजनमा तेस्रो पटकमात्र पहिलो रोजाईमा खेल्न मौका पाउँदा गोल गर्दै सान्चेजले प्रशिक्षक सिमोन इन्जाघीलाई जवाफ दिएका थिए । इटालियन लिगमा सान्चेजले मेयता गरेको यो पहिलो गोल हो ।

इभान पेरिसिच र डेन्जेल डुम्फ्रिसले पहिलो हाफमै गोल गरेर इन्टरलाई सहज अवस्थामा पुर्याइसकेका थिए । सान्चेजले ५२औं मिनेटमा टोलीको २०२१ को एक सयौं गोल गरेर अग्रता ३-० ले फराकिलो पारे ।

बैकल्पिक खेलाडीद्धय लाउटारो मार्टिनेज र रोबर्टौ गाग्लियार्डिनीले अन्तिम समयमा दुई गोल थपेपछि इन्टरको सहज जित पक्का भयो ।

जितपछि १८ खेलमा ४३ अंकसहित इन्टरले दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको एसी मिलानमाथिको अग्रता चार अंकले फराकिलो पार्यो । पराजित सालेर्निटाना भने १८ खेलमा आठ अंकका साथ पुछारमा कायम छ ।