सहिद स्मारक ए डिभिजन लिग

तीन टोलीलाई पोखरामा आतिथ्यता प्रदान गर्दै मनाङ

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङदी क्लबले पाँचौ, छैटौं र आठौं  चरण सम्म गरी तीन टोलीलाई पोखरामा आतिथ्यता प्रदान गर्ने भएको छ ।

एन्फाका केन्द्रिय सदस्य तथा मनाङका उपाध्यक्ष  विजय घलेले नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब लिग खेलका लागि पोखरा जान सहमत भएको बताए ।

‘लिग चरण अन्तर्गत पाँचौ, छैटौं र आठौं गरि हामीले खेल्ने तय भएका तीन चरणका खेलहरु पोखरामा हुनेछ, घलेले भने, हामी आफ्नो घरेलु मैदान पोखरा रंगशालमा पुलिस, ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबलाई स्वागत गर्न तयार छौ । यसअघि तय भएकै मितिमा खेलहरु संचालन हुनेछ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर दुई मा लिग तयारीको पूर्वसन्ध्यामा गरेको कार्यक्रममा मनाङले आफ्नो घरेलु मैदानको रुपमा पोखरा रंगशालामा पाँच खेल खेलाउने प्रस्ताव गरेको र केही क्लबहरु त्यहाँ जान सहमत भएको जनाएको थियो । 

एन्फाले क्लबहरु पोखरा जान सहमत नभएमा कम्तीमा दुई चरणका सबै खेलहरु पोखरा लैजाने समेत जनाएको थियो ।

एन्फाले हाल सम्म चौथो चरण सम्मको मात्र खेल तालिका सार्वजनिक गरेको छ ।

लिगका तेस्रो चरण खेलहरु बुधबारबाट सकिएका छन् । मनाङ तीन खेलमा दुई जित र एक बराबरीको नतिजापछि सात अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा समान सात अंक जोेडेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा छा् । 

चौथो चरणका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ ।