इङ्लिस प्रिमियर लिग

भिल्लामाथि आर्सनलको जित

लन्डन । इङ्लिस प्रिमियर लिग (इपिएल) मा आर्सनलले शुक्रबार राती एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको छ ।

२१औं मिनेटमा स्मिथ रोवेको कर्नरमा थोमस पार्टीले हेड गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिममा भिल्लाका म्याट टार्गेटले आर्सनलका एलेक्सजेन्डर लाकाजेटीमाथी फाउल गरेपछि आर्सनलले भिडियो असिस्टन्ट रेफ्रीमार्फत पेनाल्टी पाएको थियो ।

पिरे इमेरिक औबामेयाङको पेनाल्टी आर्सनलकै पूर्व गोलरक्षक इमिलियानो मार्टिनलेजले बचाए पनि रिबाउन्डमा औबामेयाङले कुनै गल्ति नगरी आर्सनललाई २–० ले अघि बढाए ।

भिल्लाले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि आर्सनलका स्मिथ रोवेले ५६औं मिनेटमा तेस्रो गोल गरेका थिए ।

भिल्लाका ज्याकोब रामसेले क्लबबाट पहिलो गोल गर्ने क्रममा ८२औं मिनेटमा २० यार्डबाट बललाई पोष्टको दिशा दिएका थिए ।