काठमाडौं, (खेलाडी)- अखिल नेपाल फुटबल संघ (एन्फा) मा निर्वाचन नजिकिँदै गर्दा राजीनामाको लहर चल्न थालेको छ ।
कुनै बेला विभिन्न पद सिर्जना गरेर नियुक्तीको लहर चलाएको एन्फामा पछिल्लो पटक शुक्रबार अर्जुन लामाले प्राविधिक कमिटीको सदस्य पदबाट राजीनामा दिएका छन् ।
लामाले आफ्नो पदको दुरुपयोग भएको भन्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् ।
उनले पत्रमा कामको जिम्मेवारी पाए पनि कागजमा मात्र सीमित भएको र प्राय निर्णय मनोमानी ढंगले हुने गरेका कारण आफू कमिटीमा रहनुको कुनै अर्थ नरहेको उल्लेख गरेका छन् ।
यसअघि कमिटीका संयोजक कृष्ण थापा तथा उपसंयोजक कुमार राजभण्डारीले राजीनामा गरिसकेका छन् ।
मंगलबार कमिटीका उपसंयोजक कुमार राजभण्डारीले राजीनामा गरेका थिए । उनले काम केही नभएका कारण आफूले राजीनामा गरेको बताएका थिए । त्यसअघि कमिटीको संयोजक पदबाट एन्फाका उपाध्यक्ष थापाले राजीनामा गरेका थिए ।