विराटनगर । घरेलु टोली कोशी प्रदेशले मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
विराटनगरको वैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको समूह ‘बी’ अन्तर्गतको पहिलो लिग खेलमा कोशीले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गर्यो ।
जितपछि कोशीले दुई अंक जोडेको छ । पुलिसले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
कोशीले प्रस्तुत गरेको ९४ रनको पछ्याएको पुलिस २४.५ ओभरमा ५६ रनमै समेटियो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।
कोशीका लागि प्रेम कामतले ९ ओभरमा १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी प्रकाश कार्कीले तीन र भुपाल लुईँटेलले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले २९.३ बलमा सबै विकेट गुमाृँदै ९३ रनको योगफल तयार पारेको थियो । कोशीका रुपक बरालले २१ तथा मिनस थापा र सुमन गहतराले समान १५ रन बनाए ।
पुलिसका सुनिल दौल्यानले आठ ओभरमा २५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी विपिन कार्की र चित्र विष्टको नाममा समान दुई विकेट रह्यो ।