काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मंगलबार एसियन कप छनोटको तेस्रो चरणमा लाओससँग प्रतिस्पर्धा गर्दैछ । लाओसको राजधानी भेन्टियानस्थित लाओ नेसनल रंगशालामा खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे हुनेछ ।
छनोट प्रतियोगिताको समूह ‘एफ’मा नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोरेको थियो । साढे दुई महिनापछि नेपालले दोस्रो खेल खेल्न लागेको हो ।
एसियन कपको छनोटमा नेपाल तेस्रो चरणसम्म पुगेको यो लगातार दोस्रो पटक हो । यसअघि एसियन कप २०२३ को छनोटमा पनि नेपाल तेस्रो चरणसम्म पुगेको थियो ।

यसपालि नेपालले फिफा वरीयताकै आधारमा प्रारम्भिक चरण खेल्नुपरेको थियो । एसियामा कुल ४७ देश एएफसीको सदस्य छन् । यसमध्ये वरियताको तल रहेका २२ टोलीले पहिलो चरणबाटै छनोट प्रतियोगिता खेल्नुपरेको थियो ।
होम एन्ड अवे ढाँचामा नेपालले पहिलो चरणमा लाओसलाई समग्रमा २-१ ले हरायो । दोस्रो चरणमा नेपालको भेट संयुक्त अरब इमिरेट्स, बहराइन र यमनसँग भएको थियो । कुल ६ खेलमा नेपालले मात्र एक अंक जोड्न सक्यो । जसका कारण अर्को वर्ष हुने विश्वकप खेल्ने नेपालको चुनौती सकिए पनि एसयिन कप छनोटको तेस्रो चरणलाई भने टोली छानियो ।
तेस्रो चरणमा नेपालले समूहमा भियतनाम, मलेसिया र लाओससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । होम एन्ड अवे ढाँचामा प्रत्येक टोलीले ६ वटा खेल खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्नेछ ।

फिफा वरीयतामा भियतनाम र मलेसिया यो समूहका बलिया टोली हुन् । भियतनाम नेपालभन्दा ६६ स्थान र मलेसिया ४४ स्थान माथि छ । यद्यपि नेपालले एसियन कपमा पुग्ने लक्ष्य बोकेको छ । मुख्य प्रशिक्षक म्याट रस अन्तिम समयसम्म एसियन कप पुग्न लडाईँ लड्न तयार छन् ।
मलेसिया भ्रमणअघि नेपाली टोलीले पर्याप्त प्रशिक्षण समय पाएको थिएन । खेलाडी मोफसलका प्रतियोगितामा व्यस्त भइरहेकै बेला नवनियुक्त प्रशिक्षक रसले दुई साताको समय अघि मात्र प्रारम्भिक टोली घोषणा गरेका थिए ।
एक त नयाँ टोली, त्यसमाथि कम समयको प्रशिक्षण । यही कारण मलेसियासँग नेपालले राम्रो गर्न सकेन । यो कुरा रस आफैँले स्वीकारेको तथ्य हो । तर, रस आगामी यात्राका लागि सकारात्मक छन् । उनी भन्छन्, लाओसबाट मेरो वास्तविक परिक्षण सुरु हुनेछ । सर्वप्रथम हामी लाओसलाई हराउन चाहन्छौं । सबै खेल खेल्दा अधिकतम १३ अंक जोड्ने प्रयासमा छौं ।

मलेसियाविरुद्ध हामी ‘ट्याक्टिल अवेरनेस’मा चुक्यौं । हारको जिम्मेवारी म स्वयं लिन्छु । मैले मलेसियाविरुद्ध खेल्न आवश्यक तयारी गर्न सकिनँ,’ रस भन्छन्, ‘सिंगापुर र मलेसिया भ्रमणमा सकारात्मक पक्ष पनि थिए । सिंगापुरविरुद्धको जितले हामी कुन स्तरसम्म खेल्न सक्छौं भन्ने छर्लङ्ग पारिदिएको छ । यो टोलीले जुनसुकै प्रतिद्वन्द्वीलाई कडा प्रतिस्पर्धा दिन सक्छ भन्ने पाठ मैले सिकें । त्यसैले म दिनप्रति दिन टोलीलाई निखार्ने काम गरिरहेको छु । मलाई आशा छ हामीले एसियन कपमा स्थान बनाउन सक्छौं । हामी १३ अंक जोड्ने लक्ष्यमा छौं ।’
मलेसियाअघि नेपाली टोलीले यसको तयारीस्वरुप सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । फरवार्ड जिलेश्पीजंग कार्कीको निर्णायक गोलमा नेपालले सिंगापुरविरुद्ध १–० को जित हासिल गरेको थियो । यो जित ऐतिहासिक यसअर्थमा थियो कि नेपालले ३६ वर्षपछि सिंगापुरलाई हराएको थियो ।
यसपालि पनि नेपालले लाओसविरुद्धको खेल अगाडि गत बिहीबार तुलनात्मक रुपमा बलियो हङकङविरुद्ध झण्ढै चार दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । यो मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली निराश हुनु परेन । ५-४-१ को रक्षात्मक फर्मेशनमा उत्रिएको नेपाली टोलीले ३-४-३ को शैलीमा उत्रिएको आक्रामक हङकङलाई गोलरहित बराबरीमा रोक्यो । कप्तान तथा गोलकिपर किरण चेम्जोङले हङकङका चार खतरनाक प्रहार विफल पारेका थिए । उता नेपालले भने पोस्टमा एउटा प्रहार पनि गर्न सकेन । मलेसियाविरुद्ध पनि नेपाली टोली यही शैली मैदान उत्रिएको थियो ।

लाओसविरुद्ध पहिलो चरण खेल्दा टोलीका प्रशिक्षक थिए, भिन्जेन्जो अल्बर्टो एनेस । दुवै लेगमा नेपालले ‘फोर म्यान डिफेन्सिभ वाल’मा खेलेको थियो । यद्यपि यी खेलमा पनि नेपाल ‘डिफेन्सिभ अप्रोच’मै मैदानमा उत्रिएको थियो । लाओसविरुद्ध दुवै लेगमा पिभोट रोलमा देखिएका लाकेन लिम्बूलाई रसले हङकङविरुद्ध सेन्ट्रल फरवार्डका रुपमा प्रयोग गरेका थिए । ‘बक्स टु बक्स’ मिडफिल्डर लाकेनले लाओसविरुद्ध कुन जिम्मेवारी पाउनेछन्, त्यो मंगलबारै थाहा हुनेछ ।
नेपालले लाओससँग अहिलेसम्म खेलेका ६ अन्तर्राष्ट्रिय खेलमा पराजय बेहोर्नु परेको छैन । नेपालले लाओसविरुद्ध पछिल्ला ६ खेलमा तीन जित र तीन बराबरी खेलेको छ । बलियो इतिहासका बावजुद कप्तान किरण लाओसलाई सहज रुपमा नलिने प्रतिक्रिया दिन्छन् ।
‘लाओसलाई हामीलाई डोमिनेट गरिरहेका छौं । तर, हामीले विपक्षी सबैले एकै नजरमा हेर्नुपर्छ । लाओसको टोलीमा पनि धेरै परिवर्तन आएको छ भन्ने बुझेका छौं । त्यसैले यो खेललाई लिएर शतर्क छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं,’ किरणले भने ।
जहाँ प्रशिक्षक रसले मलेसियाविरुद्धको खेलका लागि कम प्रशिक्षण समय पाएका थिए । यसपालि करिब एक महिनाको प्रशिक्षणपछि नेपालले लाओसको यात्रा गरेको छ ।

लाओस भ्रमणका लागि रसले वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) लगत्तै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । २७ सदस्यीय प्रारम्भिक टोलीले पहिलो ५ दिन मनाङमा ‘हाइअल्टिच्युड ट्रेनिङ’ गरेको थियो ।
समुद्र सतहभन्दा ३५०० मिटर उचाइमा रहेको मनाङमा प्रशिक्षण गर्नुका विभिन्न कारण थिए । समुद्र सतहभन्दा ७१० मिटर उचाइमा रहेको लाओसविरुद्ध खेल्दा यसले खेलाडीलाई सहज हुने विश्वाससहित टोली मनाङ पुगेको थियो । यसबाहेक यो ५ दिने सिविरले टोलीलाई के–के फाइदा पुग्यो त ? मनाङ बसाइले टिम बन्डिङमा सुधार आएको कप्तान किरण चेम्जोङको तर्क छ ।
‘मनाङको सिविर ‘टिम बन्डिङ’मा निकै फलदायी भयो । विगतका दिनमा हामीले यस किसिमको प्रशिक्षण गरेका थिएनौं,’ कप्तान किरणले सुनाए, ‘नयाँ भाइहरूले सिनियर खेलाडीसँग घुलमिल हुने अवसर प्राप्त गरे । अहिले यी भाइहरूसँग ‘साइनेस’ छैन । सबैले एकअर्कालाई ‘कोअपरेट’ गरिरहेका छन् ।’
प्रशिक्षक रस पनि किरणकै कुरामा जोड दिन्छन् । मनाङको बसाइले टोलीका सदस्यहरू थप नजिकिएको उनको बुझाइ छ ।

‘कार्डियो भास्कुलर सिस्टम’ राम्रो हुनु यो सिविरको मुख्य फाइदा हो । अक्सिजन कमीले शरीरलाई धेरैभन्दा धेरै ‘रेड ब्लड सेल’ उत्पादन गर्न र फोक्सो र मुटुमा पनि सकारात्मक असर पार्ने गर्छ,’ रसले भने, ‘यसबाहेक मनाङमा हामीले सँगै केही गाह्रो परिस्थिति पनि आत्मसात गर्यौं । ती कठिनाइ पार लगायौं । सबैले एकअर्कालाई नजिकबाट चिन्ने मौका पाए । मनाङको यात्राले अफिसियल, व्यवस्थापन र खेलाडीमा भाइचाराको सम्बन्ध ल्याएको छ ।’
मनाङपछि टोलीले तीन साता दशरथ रंगशालामा प्रशिक्षण गरेको थियो । जहाँ रसले ट्याक्टिकल र फिटनेसमा जोड दिए । अहिले खेलाडीको फिटनेस राम्रो भएको र चोटको समस्या नरहेको उनी बताउँछन् । यद्यपि टोलीका प्रमुख खेलाडी राइट ब्याक सनीस श्रेष्ठ हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उनी खेल्ने नखेल्ने विषयमा आधिकारिक जानकारी आइसकेको छैन ।
अहिलेसम्मको इतिहासमा लाओसविरुद्ध नेपालले कूल ९ गोल गरेको छ भने पाँच गोल खाएको छ । पछिल्लो पटक मनिष डाँगीको निर्णायक गोलमा नेपालले लाओसलाई हराएको थियो । त्यो खेलयता लाओसले १२ अन्तर्राष्ट्रिय खेल खेल्दा एकमा मात्र जित हासिल गरेको छ । नेपालले भने त्यसपछि ११ मध्ये दुई खेल जितेको छ । यी ११ खेलमा नेपालले मात्र चार गोल गर्न सकेको छ । जसमध्ये फरवार्ड जिलेश्पीजंग (कार्की) एक्लैको नाममा दुई गोल छ ।
अन्तर्राष्ट्रिय डेब्यूको पर्खाईमा रहेका गोलकिपर विशाल सुनार र कृतिशरत्न छुन्जुसँगै फरवार्ड सृजनराज गौतम र उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका युवा स्टार कुशल देउवा पहिलो पटक राष्ट्रिय टोलीमा समेट्दै रसले अन्तिम टोली घोषणा गरेका थिए । सिंगापुर र मलेसिया भ्रमणका दौरान पनि रसले चार नयाँ अनुहारः गोलकिपर अञ्जल श्रेष्ठ, रक्षक सुमन श्रेष्ठ तथा फरवार्डद्धय सुवास बम र रेजीन सुब्बालाई समेट्दै टोली निर्माण गरेका थिए । अञ्जलबाहेक सबैले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए ।

यसपालि सृजनले हङकङविरुद्ध अन्तर्राष्ट्रिय डेब्यूको अवसर प्राप्त गरे । उनले निर्धारित समय सकिन ८ मिनेट बाँकी रहेको स्थितिमा अञ्जन विष्टलाई प्रतिस्थापन गरेका थिए । अब बाँकी रहे कृतिश र कुशल । यी तीनले ‘प्लेइङ’ मिनेट्स’ पाउने सम्भावना कति छ त ?
‘टिममा सबै खेलाडीको स्तर लगभग उस्तै छ । हाम्रो स्क्वाड डेप्थ बलियो छ । नयाँ खेलाडीले पनि मौका पाउन सक्छन्,’ रसको बुझाई छ, ‘पहिलो रोजाईका खेलाडीमा स्थिरता छ । जुन नयाँ खेलाडीमा अलि कम छ । हरेक दिन कसरी स्थिरता कायम गर्ने कुरा नयाँ खेलाडीले सिक्न आवश्यक छ ।’
सम्भावित नेपाल ११
किरण चेम्जोङ (कप्तान), योगेश गुरुङ, अनन्त तामाङ, सुमन श्रेष्ठ, रोहित चन्द, विमल पाण्डे, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, लाकेन लिम्बु, अञ्जन विष्ट