कार्तिक २६, २०८२ बुधबार | २१:०७:१७
ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने

झन्डै चार दशकपछि नेपाल र हङकङ भिड्दै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध उत्रिएको नेपाली टोली, तस्वीर सौजन्यः सिंगापुर फुटबल ।

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बिहीबार हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । सो कोन पोस्थित हङकङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।

अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई आतिथ्यता गरेको हो ।

छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’मा रहेको हङकङले सिंगापुरविरुद्ध गोलरहित बराबरी खेलेको थियो । नेपालले भने मलेसियासँग हार बेहोरेको थियो ।

मलेसियाको घरेलु मैदान सुल्तान इब्राहिम रंगशालामा सम्पन्न खेलमा मलेसियाले नेपालविरुद्ध २-० को सहज जित हासिल गरेको थियो । मलेसिया भ्रमणअघि नेपाली टोलीले यसको तयारीस्वरुप सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । यस खेलमा नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित पाएको थियो । फरवार्ड जिलेस्पीजंग कार्कीको गोलमा नेपाल १-० ले विजयी भएको हो । यो ऐतिहासिक यसअर्थमा थियो कि नेपालले ३६ वर्षपछि सिंगापुरलाई हराएको थियो ।

हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसिया कप छनोटका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण गर्दै नेपाली टोली, तस्वीरः सरोज सापकोटा/खेलाडी

मलेसिया भ्रमणअघि नेपाली टोलीले पर्याप्त प्रशिक्षण समय पाएको थिएन । खेलाडी मोफसल प्रतियोगितामा व्यस्त भइरहेकै समय नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले दुई साताअघि मात्र प्रारम्भिक टोली घोषणा गरेका थिए । मोफसलमा गरेको प्रदर्शनकै आधारमा ३० सदस्यीय टोली छनोट गरिएको थियो । एक त नयाँ टोली, त्यसमाथि कम समयको प्रशिक्षण । यही कारण मलेसियासँग नेपालले राम्रो गर्न सकेन । यो रस आफंैले स्वीकारेको तथ्य हो ।

‘मलेसियाविरुद्ध हामी ‘ट्याक्टिल अवेरनेस’मा चुक्यौं । हारको जिम्मेवारी म स्वयं लिन्छु । मैले मलेसियाविरुद्ध खेल्न आवश्यक तयारी गर्न सकिनँ,’ रस भन्छन्, ‘सिंगापुर र मलेसिया भ्रमणमा सकारात्मक पक्ष पनि थिए । सिंगापुरविरुद्धको जितले हामी कुन स्तरसम्म खेल्न सक्छौं भन्ने छर्लङ्ग पारिदिएको छ । यो टोलीले जुनसुकै प्रतिद्वन्द्वीलाई कडा प्रतिस्पर्धा दिन सक्छ भन्ने पाठ मैले सिकें । त्यसैले म दिनप्रति दिन टोलीलाई निखार्ने काम गरिरहेको छु ।’

यसपालि भने रसले वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोली घोषणा गरे । जसमध्ये केही नयाँ अनुहार बन्द प्रशिक्षणमा सामेल भए । बन्द प्रशिक्षणको सुरुआती ५ दिन २७ खेलाडी र अफिसियल टोलीले मनाङमा ‘हाइअल्टिच्युड ट्रेनिङ’ गरेको थियो ।

हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसिया कप छनोटको तयारीस्वरुप मनाङमा ‘हाइअल्टिच्युड ट्रेनिङ’का दौरान नेपाली टोली, तस्वीर सौजन्यः एन्फा ।

समुद्र सतहभन्दा ३५०० मिटर उचाइमा रहेको मनाङमा प्रशिक्षण गर्नुका विभिन्न कारण थिए । समुद्र सतहभन्दा ७१० मिटर उचाइमा रहेको लाओसविरुद्ध खेल्दा यसले खेलाडीलाई सहज हुने विश्वाससहित टोली मनाङ पुगेको हो । यसबाहेक यो ५ दिने सिविरले टोलीमा के–के फाइदा पुग्यो त ? मनाङको बसाइले टिम बन्डिङमा सुधार आएको कप्तान किरण चेम्जोङको तर्क छ ।

‘मनाङको सिविर ‘टिम बन्डिङ’मा निकै फलदायी भयो । विगतका दिनमा हामीले यस किसिमको प्रशिक्षण गरेका थिएनौं,’ कप्तान किरणले सुनाए, ‘नयाँ भाइहरूले सिनियर खेलाडीसँग घुलमिल हुने अवसर प्राप्त गरे । अहिले यी भाइहरूसँग ‘साइनेस’ छैन । सबैले एकअर्कालाई ‘कोअपरेट’ गरिरहेका छन् ।’

प्रशिक्षक रस पनि किरणकै कुरामाथि जोड दिन्छन् । मनाङको बसाइले टोलीका सदस्यहरू थप नजिकिएको उनको बुझाइ छ ।

‘कार्डियो भास्कुलर सिस्टम’ राम्रो हुनु यो सिविरको मुख्य फाइदा हो । अक्सिजन कमीले शरीरलाई धेरैभन्दा धेरै ‘रेड ब्लड सेल’ उत्पादन गर्न र फोक्सो र मुटुमा पनि सकारात्मक असर पार्ने गर्छ,’ रसले भने, ‘यसबाहेक मनाङमा हामीले सँगै केही गाह्रो परिस्थिति पनि आत्मसात गर्यौं । ती कठिनाइ पार लगायौं । सबैले एकअर्कालाई नजिकबाट चिन्ने मौका पाए । मनाङको यात्राले अफिसियल, व्यवस्थापन र खेलाडीमा भाइचाराको सम्बन्ध ल्याएको छ ।’

हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसिया कप छनोटको तयारीस्वरुप मनाङमा ‘हाइअल्टिच्युड ट्रेनिङ’का दौरान नेपाली टोली, तस्वीर सौजन्यः एन्फा ।

मनाङपछि टोलीले तीन साता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण गरेको थियो । जहाँ प्रशिक्षक रसले ट्याक्टिकल र फिटनेसमा जोड दिएका थिए । अहिले खेलाडीको फिटनेस राम्रो रहेको र टोलीमा इन्जुरी समस्या छैन । टोलीले हङकङअघि विभागीय त्रिभुवन आर्मीको टोलीसँग ‘क्लोज डोर’मा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । हङकङको खेलले लाओससँग खेल्न थप सहयोग मिल्ने रसले विश्वास लिएका छन् ।

‘हङकङको युवा टोली शारीरिक रूपमा बलियो टोली हो । छिटो र छरितो खेल प्रस्तुत गर्ने टोली हो हङकङ । हङकङविरुद्ध जित हासिल गरे हामीलाई सकारात्मक उर्जा मिल्नेछ,’ रस आत्मविश्वासी देखिन्छन्, ‘हामी हङकङको अपराजित लय तोड्ने लक्ष्यसाथ मैदानमा उत्रन्छौं ।’

फिफा वरीयतामा नेपालभन्दा २२ स्थान माथि रहेको हङकङ पछिल्ला ८ अन्तर्राष्ट्रिय खेलमा अपराजित छ । यद्यपि गत साता हङकङले मैत्रीपूर्ण खेलमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग पराजय बेहोरेको थियो । हङकङ रंगशालामै भएको खेलमा इङलिस महारथीले घरेलु टोलीलाई ३-१ ले निराश हरायो । यो हारमा पनि सकारात्मक पक्ष के छ भन्दा युनाइटेडविरुद्ध १९औं मिनेटमा अट्याकिङ मिडफिल्डर जुनिन्होले हङकङलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछाडि परेको युनाइटेडले दोस्रो हाफमा तीन गोल थपेको हो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध नेपाली फरवार्ड जिलेश्पीजंग कार्की (निलो जर्सी), तस्वीर सौजन्यः सिंगापुर फुटबल ।

उता नेपालले सन् २०२४ यता खेलेका ९ अन्तर्राष्ट्रिय खेलमा मात्र दुई खेल जितेको छ । यी दुवै जित नेपालले मैत्रीपूर्ण खेलमा हासिल गरेको हो । एक सिंगापुरविरुद्ध भइहाल्यो, अर्को अफगानिस्तानविरुद्ध २-० को जित । यी दुवैमा फरवार्ड जिलेस्पीले गोल गरेका छन् । यी ९ खेलमा नेपालले मात्र ४ गोल गरेको छ । अफगानिस्तानविरुद्ध जिलेस्पीले टोलीलाई अग्रता दिलाए भने पछि रक्षक रोहित चन्दले एक गोल थपेका थिए ।

नेपालले २०२४ को जुनमा २०२६ फिफा विश्वकप छनोट (एएफसी)को दोस्रो चरणअन्तर्गत यमनविरुद्ध दोस्रो लेगमा २–२ को बराबरी खेलेको थियो । साउदी अरबियाको प्रिन्स मोहम्मद विन फाहद रंगशालामा पनि जिलेस्पीले गोल गरेका थिए । यिनै जिलेस्पीबाट हङकङ र लाओसविरुद्धको खेलमा पनि नेपाली समर्थकले गोलको आस राख्नेछ ।

उता अन्तर्राष्ट्रिय फुटबलमा हरि खड्का र नीराजन रायमाझीसँगै सर्वाधिक गोल गर्ने खेलाडी अञ्जन विष्टलाई हङकङविरुद्ध गोलको खडेरी तोड्ने अवसर हुनेछ । १३ अन्तर्राष्ट्रिय गोल गरिसकेका अञ्जनले पछिल्ला १२ खेलमा गोल गर्न सकेका छैनन् । उनले पछिल्लो गोल २०२६ फिफा विश्वकप छनोट (एएफसी)को पहिलो चरणअन्तर्गत लाओसविरुद्धको पहिलो लेगमा गरेका थिए । खेलमा त्यही गोल निर्णायक बन्दा नेपाल विजयी भयो ।


हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसिया कप छनोटका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षणका दौरान फरवार्ड अञ्जन विष्ट, तस्वीरः सरोज सापकोटा/खेलाडी

हङकङविरुद्ध गोल गर्न सके अञ्जन नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् । आगामी दिनमा उनले खुलेर खेल्न सक्ने आस राख्न सकिन्छ । किनभने पछिल्लो समय अञ्जनको लयलाई लिएर टीकाटिप्पणी भइरहेको छ । उनलाई त्यो एक गोलको डेडलकले पो सताइरहेको हो कि प्रश्न आम–जनमानसमा उठिरहेको छ । तर, अञ्जन भने यसबारे भिन्न मत राख्छन् ।

उनी भन्छन्, ‘म जहिल्यै टोलीका लागि खेल्छु । मलाई १४औं गोलको बोझ छैन । यदि मैले गोलकै लागि दौडेको भए म यहाँसम्म पुग्दिनँ थिएँ होला । नराम्रो खेलमा पनि मैले गोल गरेको छु । कतिपय राम्रा खेलमा मबाट गोल हुँदैनन् । त्यसैले यो कुराले मलाई अर्थ राख्दैन । देशलाई जिताउनु नै मेरो प्रमुख लक्ष्य हो ।’

सम्भावित नेपाल ११
किरण चेम्जोङ (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुमित श्रेष्ठ, मनिष डाँगी, एरिक विष्ट, लाकेन लिम्बु, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder