काठमाडौं । नेपालले लेबनानमा हुने भनिएको फोर नेसन्स कप महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ ।
लेवनानको वर्तमान सुरक्षा व्यवसथालाई मध्यनजर गर्दै नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दियो ।
प्रतियोगिता जुलाई ८ देखि १८ सम्म हुने तालिका थियो । तर सुरक्षाकै कारण देखाउँदै बंगलादेशले यसअघि नै नाम फिर्ता लिइसकेको छ ।
‘लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै एन्फाले जुलाई ८ देखि १६ सम्म हुने महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग नलिने निर्णय लिएको छ,’ एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतियोगिताका लागि नेपालले बन्द प्रशिक्षण गरिरहेको थियो भने मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २२ सदस्यीय टोली समेत घोषणा गरिसकेका थिए ।
एन्फाले छिटै नेपाली महिला टोलीलाई अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन तयारीमा रहेको जनाएको छ ।
‘नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एन्फा तयारीमा रहेको र निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइनेछ,’विज्ञप्तिमा भनिएको छ ।