काठमाडौं । वेस्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्डले २३८ रनको फराकिलो जित दर्ता गरेको छ ।
जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।
बिहीबार एजबास्टनमा इङ्ल्यान्डले प्रस्तुत गरेको ४०१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २६.२ ओभरमा १६२ रनमै समेटियो ।
वेस्ट इन्डिजका लागि जेडेन सेल्सले अविजित २९, कप्तान साई होपले २५, केसी कार्थीले २२, गुडाकेश मोतीले १८, अमिर जन्गोले १४ र अल्जारी जोसेफले १२ रन बनाए ।
इङ्ल्यान्ड लागि जिमी ओभरटन र सकिब मोहम्मदले समान तीन, आदिल राशिदले दुई तथा ज्याकोब बेथेल र ब्राइडन कार्सेले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०० रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि ज्याकोब बेथेलले ५३ बलमा आठ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी बेन डकेटले ६०, कप्तान ह्यारी ब्रुकले ५८ र जो रुटले ५७, विल ज्याक्सले ३९ तथा जस बटलर र जिमी स्मिथले समान ३७ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेडेन सेल्सले चार तथा जस्टिन ग्रेभ्स र अल्जारी जोसेफले समान दुई विकेट लिए ।