काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो अन्तिम खेलमा आइतबार कोलकाता नाइटराइडर्सविरुद्ध ११० रनको फराकिलो जित दर्ता गरेको छ ।
जितसँगै हैदराबादले १४ खेलमा १३ अंक जोडर छैटौं स्थानमा छ । पराजित कोलकाता समान खेलबाट १३ अंकका साथ आठौं स्थानमा छ ।
दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा हैदराबादले प्रस्तुत गरेको २७९ रनको लक्ष्य पछ्याएको कोलकाता १८.४ ओभरमा १६८ रनमै समेटियो ।
कोलकाताका लागि मनिष पाण्डेले ३७, हर्षीत रानाले ३४ सुनिल नारायणले ३१, कप्तान अजिंक्य रहाणेले १५, अगंक्रिश रधुवंशीले १४ र रमनदीप सिंहले १३ रन बनाए ।
आठौं विकेटका लागि मनिष र हर्षीतबीच ५२ रनको साझेदारी भएको थियो । हैदराबादका लागि हर्ष दुबे, इशान मालिंगा र जयदेव उनाद्कडले समान तीन विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७८ रनको योगफल तयार पारेको थियो ।
हैदराबादका हेनरिक क्लासनले ३९ बलमा सात चौका र ९ छक्काको मदद्तले अविजित १०५ रनको योगदान गरे । यसैगरी ट्राभिस हेडले ४० बलमा समान ६ चौका र छक्कासहित ७६, अभिषेक शर्माले ३२, इशान किशनले २९ र अनिकेत वर्माले अविजित १२ रन बनाए ।
पहिलो विकेटका लागि ट्राभिस र अभिषेकबीच ९३ रनको सानझेदारी भएको थियो । हेनरिकले दोस्रो विकेटका लागि ट्राभिस तथ तेस्रो विकेटका लागि इशानसँग समान ८३ रनको साझेदारी गरेका थिए ।
कोलकाताका सुनिल नारायणले दुई र वैभव अरोराले एक विकेट लिए ।