काठमाडौं । पुछारको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो अन्तिम खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सविरुद्ध ८३ रनको सहज जित दर्ता गरेको छ ।
जितसँगै चेन्नईले १४ खेलमा आठ अंक जोड्यो । पराजित गुजरातको समान खेलबाट १८ अंक छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा चेन्नईले प्रस्तुत गरेको २३१ रनको लक्ष्य पछ्याएको घरेलु टोली गुजरात १८.३ ओभरमा १४७ रनमै समेटियो ।
गुजरातका लागि साई शुदर्शनले ४१, अर्शद खानले २०, शहारुख खानले १९, राहुल तेवाटियाले १४, कप्तान शुभमन गिलले १३ र राशिद खानले १२ रन बनाए ।
चेन्नईका लागि नुर अहमद र अन्सुल कम्बोजले समान तीन, रविन्द्र जडेजाले दुई तथा मथिश पाथिराना र खलिल अहमदले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २३० रनको योगफल तयार पारेको थियो ।
चेन्नईका लागि डिवाल्ड ब्रेभिसले २३ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी डिभोन कोन्वेले ३५ बलमा ६ चौका र दुई छक्कासहित ५२, उर्भिल पटेलले ३७, आयुश महत्रेले ३४, रविन्द्र जडेजाले अविजित २१ र शिभम दुबेले १७ रन बनाए ।
पाँचौं विकेटका लागि ब्रेभिस र रविन्द्रले ७४ तथा दोस्रो विकेटका लागि डिभोन र उर्भिलले ६३ रनको साझेदारी गरेका थिए ।
गुजरातका लागि प्रशिद्ध कृष्णले दुई तथा राशिद खान, साई किशोर र शहारुख खानले समान एक विकेट लिए ।