काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो अन्तिम खेलमा पञ्जाव किंग्सविरुद्ध ६ विकेटको जित निकालेको छ ।
जितसँगै १४ खेलमा १५ अंक जोडेको दिल्लीले पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित पञ्जाव १३ खेलबाट १७ अंकका साथ दोस्रो स्थानमा छ ।
शनिबार राजस्थानको सवाइमान सिंह रंगशालामा पञ्जावले प्रस्तुत गरेकोको २०७ रनको लक्ष्य दिल्लीले तीन बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीका लागि समीर रिज्भीले २५ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले अविजित ५८ रनको योगदान गरे । यसैगरी करुण नायरले ४४, केएल राहुलले ३५, कप्तान फाफ डुप्लेसिसले २३, सेदिकुल्लाह अटलले २२ र ट्रिस्टन स्टब्सले अविजित १८ रन बनाए ।
समीरले चौथो विकेटका लागि करुणसँग ६२ तथा पाँचौं विकेटका लागि ट्रिस्टनसँग अविजित ५३ रनको साझेदारी गरेका थिए । यसैगरी पहिलो विकेटका लागि केएल र फाफबीच ५५ रनको साझेदारी भएको थियो ।
पञ्जावका लागि हप्रित ब्रारले दुई तथा मार्को यानसन र प्रवीण दुवेले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०६ रनको योगफल तयार पारेको थियो ।
पञ्जावका लागि कप्तान श्रेयस अय्यरले ३४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी मार्कस स्टोइनिसले अविजित ४४, जोस इङ्सलिसले ३२, प्रभसिम्रन सिंहले २८, नेहाल बधेराले १६ र शशांक सिंहले ११ रन बनाए ।
दिल्लीका लागि मुस्ताफिजुर रहमानले तीन, कुलदीप यादव र विपराज निगमले समान दुई तथा मुकेश कुमारले एक विकेट लिए ।