काठमाडौं । अहिले नेपाली क्रिकेटवृत्तमा फ्रेन्चाइज लिग प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को चर्चा परिचर्चा व्यापक भइरहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको एपिएल मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । नेपाली क्रिकेटको यो सबैभन्दा ठूलो प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
यसअघि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी-२० लिग र वुमेन्स च्याम्पियन्स लिग सम्पन्न भइसकेका छन् ।
अहिले फ्रेन्चाइज टिमहरू आफ्नो टोली तयार पार्न व्यस्त छन् । नाम चलेका विदेशी खेलाडी भित्र्याउन तँछाडमछाड गरिरहेका छन् । एनपिएलको पहिलो संस्करणमै मार्टिन गुप्टिल, जिमी निसम, शिखर धवन, रवि बोपराजस्ता विश्व क्रिकेटमा नाम कमाएका खेलाडी जोडिने भएका छन् ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको भए पनि फ्रेन्चाइज लिग क्रिकेट नेपालमा सुरु भएको दशक बित्नै लागेको छ । एनपिएलअघि पुरुषका चार र महिलाको एक फ्रेन्चाइज लिग सम्पन्न भइसकेका छन् ।
यसअघि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी-२० लिग र वुमेन्स च्याम्पियन्स लिग सम्पन्न भइसकेका छन् ।
यस्तो छ नेपालमा फ्रेन्चाइज लिग इतिहास
एभरेस्ट प्रिमियर लिग (इपिएल)
नेपालमा फ्रेन्चाइज लिगको सुरुआत एभरेस्ट प्रिमियर लिगबाटै भएको थियो । यो नेपालको सबैभन्दा सफल फ्रेन्चाइज लिग पनि हो ।
सन् २०१४ मा घोषणा भए पनि यसको पहिलो संस्करण सन् २०१६ मा आयोजना गरियो । यो लिग इपिएल प्रालिले आयोजना गरेको थियो । नेपाल प्रिमियर लिगको नामबाट आयोजना गरिएको पहिलो संस्करणमा ६ टोलीको सहभागिता थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो संस्करणको च्याम्पियन बन्यो पञ्चकन्या तेज । दोस्रो संस्करणदेखि लिगको नाम फेरिएर एभरेस्ट प्रिमियर लिग (इपिएल) बन्यो । यही नाममा प्रतियोगिताको ३ संस्करण सम्पन्न भयो ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न सबै संस्करणमा ६ टोलीको सहभागिता थियो । सन् २०१७ सम्पन्न दोस्रो संस्करणमा विराटनगर वारियर्स च्याम्पियन बन्यो । सन् २०१८ मा भएको तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रियसले उचाल्यो ।
इपिएलको चौथो तथा पछिल्लो संस्करण सन् २०२१ मा आयोजना गरिएको थियो । इपिएलको पछिल्लो च्याम्पियन बन्यो चितवन टाइगर्स । नेपाल क्रिकेट संघ (क्यान) ले सबै फ्रेन्चाइज लिगको आयोजना अनुमति खारेज गरेर लिग आफैंले गर्ने भएपछि इपिएल बन्द भएको हो ।
धनगढी प्रियिमर लिग (डिपिएल)
धनगढी प्रिमियर लिगको सुरुआत सन् २०१७ मा भएको थियो । तर, ३ संस्करण आयोजनापछि लिग सञ्चालन हुन सकेको छैन ।
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिताका तीनै संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता धनगढी क्रिकेट मैदानमा आयोजना गरिएको थियो । सन् २०१७ र २०१८ को सुरुआती दुई संस्करणमा टिम चौराह धनगढी च्याम्पियन बन्यो ।
सन् २०१९ मा सम्पन्न पछिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले जितेको थियो ।
पोखरा प्रियिमर लिग (पिपिएल)
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सन् २०१८ मा पोखरा प्रिमियर लिग नामको फ्रेन्चाइज प्रतियोगिता सुरुआत गरेको थियो ।
पोखरा रंगशालामा भएको लिगका २ संस्करणभन्दा अगाडि बढ्न सकेन । दुवै संस्करणमा समान ६ टोलीले सहभागिता जनाएका थिए ।
सन् २०१८ सम्पन्न पहिलो संस्करणमा पोखरा पल्टन च्याम्पियन्स बनेको थियो । सन् २०१९ मा भएको दोस्रो तथा अन्तिम संस्करणको उपाधि चितवन राइनोजले उचालेको थियो ।
नेपाल टी-२० लिग
नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसकाे आयोजनामा सन् २०२२ मा नेपाल टी-२० लिग आयोजना भएको थियो ।
यो लिगले जति चर्चा कमायो, त्यति नै विवादित पनि बन्यो । जसका कारण क्यानले सेभेन थ्री स्पोर्ट्ससँग गरेको आठ वर्षको सम्झौता बीचमा नै तोड्नुपरेको थियो । म्याच फिक्सिङ, स्पट फिक्सिङ जस्ता गम्भीर आरोप लागेपछि आयोजकले बीचमै लिग छाडेपछि बाँकी खेल क्यान आफैंले सञ्चालन गरेको थियो ।
मात्र एक संस्करण भएको नेपाल टी-२० लिगमा ६ टोलीको सहभागिता थियो । लिगको उपाधि लुम्बिनी अलस्टार्सले उचालेको थियो ।
वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल)
नेपाली महिला क्रिकेटको इतिहासमा हालसम्म भएको पहिलो र एकमात्र फ्रेचाइज प्रतियोगिता हो, वुमेन्स च्याम्पियन्स लिग । क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा भएको यो प्रतियोगिता पनि १ संस्करणभन्दा अगाडि बढ्न सकेन ।
सन् २०१९ मा त्रिवि क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा पाँच टोलीले सहभागिता जनाएका थिए । चितवन राइनोज च्याम्पियन बनेको थियो ।