कर्पोरेट ब्याड्मिन्टन

विवाद गर्ने समयलाई काम गर्न खर्चिन्छु

क्रिकेट र फुटबलपछि ब्याड्मिन्टन अहिले नेपाली खेलकुदमा चर्चाको विषय बनेको छ । कारण : काठमाडौं ब्याड्मिन्टन एकेडेमीले यो खेललाई व्यावसायिक बनाउने प्रयासस्वरुप कर्पोरेट टिम च्याम्पियनसिप आयोजना गर्दैछ । र यो अभियानको नेतृत्व गरिरहेका छन्, अन्तर्राष्ट्रिय अम्पायर, काठमाडौं जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष एवं नेपाल ब्याड्मिन्टन संघका कार्यसमिति सदस्य समेत रहेका एकेडेमीका सचिव दीपक थापाले । नेपाली खेलकुदमा नवीनतम सोच र योजना कार्यान्वयन गर्न सक्षम रचनात्मक खेलकर्मीको पहिचान बनाएका थापासँग खेलाडी डटकमका लागि अजय फुयालले गरेको नेपाल ब्याड्मिन्टन संघका गतिविधि, आन्तरिक विवाद, नेपाली खेलकुदको समग्र व्यावसायिकतालगायतका विषयमा कुराकानीको सम्पादित अंश :

कर्पोरेट ब्याड्मिन्टनको तयारी कस्तो भइरहेको छ ?

कर्पोरेट भन्दा पनि यो टिम च्याम्पियनसिप हो । नेपालमा धेरै प्रकारका गेम भइरहेको छ । तर, यो टिम च्याम्पियनपिस चाँही छुट्टै खालको खेल हो । किनभने यसमा टिममा विश्वास गर्नुपर्ने हुन्छ । एकजनाले खेलेरमात्र हुँदैन । टिमको इफोर्ट चाहिन्छ ।

टिममा पनि विभिन्न किसिमको ‘डेजिग्नेसन’ हुनु पर्ने खेल छ । यसमा हामीले कर्पोरेट हाउस र नेपालका राष्ट्रिय खेलाडीको संयोजन गरेका छौं । हार्मोनी बिट्विन कर्पोरेट हाउस एन्ड प्लेयर्स अफ नेपाल । त्यही कारण हामीले दुई/तीन चरण पार गरेर टिम अनाउन्समेन्टसम्म सक्यौं । अब टिम अभ्यास सुरु हुन्छ । १५ दिनपछि प्रतियोगिता सुरु हुन्छ ।

कर्पोरेट खेलाडीलाई वरियताप्राप्त खेलाडीसँग मिसाएर खेलाउँदा गोलमाल हुँदैन ?

हाम्रो नेपालमा पनि राखेपले पनि राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने गरेको छ । यही दुई वटाको संयोजन मिलाएको हो ।

राष्ट्रिय खेलाडीले राष्ट्रका लागि खेल्छ भने कर्पोरेट सेक्टरले स्वास्थ्यका लागि खेल्ने हुन्छ । कर्पोरेट सेक्टरलाई टेक्निकल स्किल हुँदैन भने खेलाडीसँग टेक्निकल स्किल थाहा हुन्छ । फिनान्सियल सेक्टर यता स्ट्रोङ छ भने उता टाइम भएको मान्छे छ ।

यसको संयोजनले गर्दा देशलाई एउटा ब्याकअप कर्पोरेट हाउस हुन्छ भने खेलाडीलाई पनि खेलिसकेपछि जीवन जिउने आधार कुनै पनि कर्पोरेट हुन सक्छ । त्यसका उदाहरणहरू पनि छ । त्यसकारण हामीले अहिले १६ जना खेलाडीले खेल्छ ।

गोला प्रथा गरेर एउटा टिमलाई दुई जना राष्ट्रिय खेलाडी दिएका छौं । यसमा पाँच इभेन्ट हुन्छ । त्यसमा पहिलो पुरुष एकल राष्ट्रिय खेलाडीले खेल्नुहुन्छ । त्यसपछिको दोस्रो इभेन्ट्समा राष्ट्रिय खेलाडीले महिला एकल खेल्नुहुन्छ ।

त्यसपछि तेस्रो खेल हुन्छ । यसमा तीनवटा खेल जित्नुपर्ने हुन्छ । दुईवटा खेल जितेर अर्को इभेन्टमा चाँही कर्पोरेट एक्जुकेटिभ लेभलको जो माथिल्लो दर्जाका हाकिमसाहेबहरू हुनुहुन्छ । उहाँहरूको अलीकति उमेर पनि पाको हुन्छ । उहाँहरूले डबल्स खेल्नुपर्ने हुन्छ ।

त्यसमा पनि जित्नुभयो भने सकिइहाल्यो । तर जित्नुभएन र २-१ भयो भने त्यसपछि एकजना राष्ट्रिय पुरुष खेलाडीले कम्पनीको कोही पुरुष खेलाडीसँग मिलेर पुरुष युगल खेल्नुहुन्छ । त्यसबाट नतिजा निस्किए खेल सकिन्छ । अन्यथा त्यसमा पनि २-२ को बराबरी भयो भने पाँचौं खेलले निर्णय दिन्छ । त्यसमा एकजना राष्ट्रिय महिला खेलाडी र कर्पोरेटको एकजना महिला मिलेर महिला युगल खेल्नुहुन्छ ।

नेपाली खेलकुदमा कर्पोरेटको कुनै आकर्षण छैन । एउटै इभेन्टमा आठ वटा कर्पोरेट ल्याउनु कत्तिको चुनौतीपूर्ण रह्यो ?

पक्कै पनि चुनौती छ । चुनौतीमा एउटा अवसर हुँदो रहेछ । जहाँ समस्या आउँछ, समाधान पनि सँगै आउँछ । त्यसकारण समस्या एकदमै थियो, तर त्यो समस्याको उपाय गर्नलाई चाँही बिगार्ने भन्दा पनि सपार्ने हातहरू साच्चै राम्रो हुन्छ । त्यही भएर त्यो मानिस ठाउँमा पुगेको हुन्छ । त्यही कारण त्यो मानिस हाकिम भएको होला ।

अहिले हामीलाई गाह्रो थियो, तर असम्भव चाँही थिएन । हामीले विगतमा गरेको कामको पनि मुल्यांकन गर्दै उहाँहरूले हामीलाई पुरस्कृत गर्दै नेपाली खेलाडीलाई हौसला बढाउनका लागि कर्पोरेट सेक्टरसँग जोड्ने मौका दिनुभएको छ ।

फुटबल र क्रिकेटमा यसअघि नै फ्रेन्चाइज प्रतियोगिता भइरहेका छन् । भलिबलमा पनि घोषणा भइसकेको छ । ब्याड्मिन्टनमा पनि गर्दै हुनुहुन्छ । नेपालको खेलकुद कर्पोरेटमय भएको रूपमा यसलाई लिन सकिन्छ ?

लिन सकिन्छ । किनकी कर्पोर्रेट सेक्टरमा अहिले भएका जति पनि मानिसहरू हुनुहुन्छ । उहाँहरू एकथरी स्वास्थ्यका लागि खेल्नेहरू हुनुहुन्छ । अर्कोथरी कुनै नयाँ एउटा खेलसँग आबद्ध होउ भन्ने हुनुहुन्छ ।

कर्पोरेटमा पनि ग्याजेट धेरै छ, उहाँहरू काममा एकदमै व्यस्त भएकाले एउटा खेलले मनोरञ्जन हुँदा हुँदै स्वस्थ पनि भइने हुन्छ । प्राइभेट सेक्टरमा पनि विभिन्न क्लबहरू छन् । विभिन्न संघ संस्थाले पनि खेलाउने, आफ्नै पनि टिममा क्लबहरू राख्ने चलन बसेको छ । विभिन्न बैंकहरूमा स्पोर्टस क्लबहरू समेत छन् ।  

विभिन्न व्यावसायीले कभर्डहलहरू आफैले बनाउनुभएकाले पनि खेल्ने वातावरण भयो । मान्छेहरू खेल्न जान थाले, खेल्दा खेल्दै रमाइलो भयो । रमाइलोपछि अली राम्रो खेल्न थाल्यो । त्यसपछि प्रतियोगितामा भाग लिदा मित्रता गर्ने, मान्छेले एकअर्कालाई चिन्ने भयो ।

ब्याडमिन्टन खेल चाँही सोसलाइज पनि गर्न सकिने, प्रतिस्पर्धामा पनि खेल्न सकिने भएकाले यसको समन्वय एकदमै राम्रो छ । त्यसकारण मान्छे क्याजुअलमा खेलेर फर्मलमा रिलेसन पनि डेभ्लप गर्ने छ ।

नेपाली खेलकुदलाई उद्योगको रूप दिनुपर्छ भन्ने मान्यता अघि सार्नुभएको छ । त्यो सम्भव छ ? कसरी ?

सरकारले त्यति ठूलो ‘रिकग्नाइज’ गरेको छैन । सरकारसँग पनि सीमित बजेट छ । सरकारले स्थापना गरेको संघ संस्था पनि सीमित बजेटमा चल्छन् ।

तर सीमित बजेटमा चलेता पनि जो संघसंस्थामा २० वा ३० जना कार्यकारिणी समिति हुन्छन् । उहाँहरू भनेको मैले देशलाई केही योगदान गर्छु भनेर आउने हो ।

संसारभरी नै सरकार एक्लैले कहिल्यै केही पनि गर्न सक्दैन । त्यसैले गर्दा खेलकुदको विकास गर्छु भनेरै म स्वयमसेवी भएर कुनै पनि संस्थामा छिर्ने हो । मैले कमाएको केही योगदान मैले दिन्छु र मेरो बुद्धि-विवेकले कतैबाट केही रिसोर्स जुटाउन सक्छु भने म त्यसलाई खेलकुदमा लगाएर नेपाली खेलकुदको विकास गर्न लाग्छु ।

नेपाली खेलकुदको विकास गर्नु भनेको हाम्रै भाई भतिजा छोराहरूलाई कुबाटोमा लाग्नबाट जोगाएर सुबाटोमा लगाउने र पढाईसँग पनि आबद्ध गर्दै उसको शारिरीक र मानसिक विकास गर्नका लागि हो ।

त्यसैकारणले गर्दा अहिले विभिन्न प्रोडक्टहरू छ र भौतिक रुपमा पनि ‘आन्टरप्रेनरसिप डिभेलप’ भइरहेको छ । विभिन्न कर्पोरेट हाउसले पनि अपनत्व ग्रहण गरिसकेको छ । क्रिकेट र फुटबल लाई हेर्न सक्छौं । त्यसपछि के त भन्दा हामी ब्याड्मिन्टनमा लाग्न सक्छौं ।

किनभने हाम्रा दुई छिमेकी राष्ट्रले संसारमै तहल्का मच्चाएकाले हामी पनि त्यसको काबिल छौं जस्तो लाग्छ ।

तपाईले यति चुनौतीपूर्ण काम गरिरहँदा ब्याड्मिन्टन संघको आन्तरिक राजनीतिले कत्तिको अप्ठेरो पार्छ ?

संघ भनेको आफैमा एउटा पवित्र संस्था हो । त्यहाँ आउने व्यक्तिहरूले त्यसलाई हेर्ने दृष्टिकोण फरक पार्छ । ब्याड्मिन्टनको इतिहास हेर्ने हो भने २००८ मा स्थापना भएदेखि कैयौं अध्यक्षहरू फेरिए, कति आउन बाँकी नै छन् ।

तर यात्रामा कुनै यात्रा एकदमै मोडहरूवाला हुने रहेछ । कुनै यात्रा भिरालो हुँदो रहेछ । अनि भिरालो सकिइसकेपछि समतल आउँदोरहेछ । अहिले चाँही नेपाल ब्याड्मिन्टन संघमा मैले भिरालो र मोडको यात्रा देखिरहेको छु ।

म पनि त्यहाँ कार्यकारी सदस्य नै छु । कति कुरा मैले गर्न चाहेर पनि सकिरहेको छैन । म काठमाडौं जिल्ला ब्याड्मिन्टन संघको पनि अध्यक्ष हुँ । गत वर्ष हामीले एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता राखेका थियौं । तर मलाई हाम्रै सहकर्मीहरूले गर्न दिएनन् ।

बाटो असजिलो भयो । हामीले पछि त्यो खेल रद्द नै गर्नुपर्यो । त्यो खेल गर्न सकेको भए नेपाली ब्याड्मिन्टनलाई धेरै फाइदा हुन्थ्यो । हाम्रा खेलाडीको वरियता बढ्थ्यो । प्रत्येक खेलाडीको नम्बर बढथ्यो । चुनोती चाँही धेरै छ ।

तपाई आफै पनि संघको राजनीतिमा मुछिनुभएको छ नी ?

राजनीतिले मार्गनिर्देशन गर्ने एउटा लिडर खोज्ने हो । झगडा गर्ने राजनीति हो भने म त्यसमा छैन । भन्नेले भनिरहन्छन्, हामी काम गरिरहन्छौं । हाम्रो त इतिहास नै हेरे हुन्छ ।

दीपक थापाको फेसबुक पेज वा दीपक थापालाई कुनै सामाजिक सञ्जालमा फलो गर्ने अथवा दीपक थापा आबद्ध भएको संघ संस्था हेर्यो भने उसले गरेको कामले साच्चिकै मेरो समाज र मेरो देशलाई योगदान गरेको छ की छैन भन्ने मुल्यांकन गर्न सबैले सक्छन् । यो छर्लङ्ग नै छ ।

तपाई र ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठमाथि खेलाडी विदेश भगाएको, भ्रष्टाचार गरेको, एकलौटी गरेको लगायतका आरोप संघकै मानिसले लगाएका छन् नि ?

उहाँहरूको काम गर्ने समयभन्दा पनि त्यसमै अली दिमाग लगाएको भएर त्यस्तो कुरा गरेको होला । तर मलाई चाँही यसमा धेरै भन्नु छैन । किनभने मैले उहाँहरूलाई त्यसको उत्तर दिनु र विवाद गर्नुभन्दा त्यो समय र इफोर्ट लगाए अर्को दुई/तीन वटा कार्यक्रम गर्न भ्याउँछु । जसले गर्दा खेलकुदलाई केही योगदान पुगोस ।

तपाई त अन्तर्राष्ट्रिय अम्पायर पनि, वर्तमान संघको क्रियाकलापलाई कसरी लिनुभएको छ ? कति नम्बर दिनुहुन्छ ?

एकैचोटी नम्बर नै दिन मिल्दैन । जस्तो मेरो छोरा छ, कहिल्यै पनि पढ्दैन तर जाँचमा डिस्टिङसन ल्यायो भने उ पढ्ने नै कहलिन्छ ।

अन्तर्राष्ट्रिय छवि हेर्ने हो भने नेपालले गतवर्ष मात्रै चार वटा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्यो । म अन्तर्राष्ट्रिय अम्पायर भएको नाताले संशारको जुनसुकै ठाउँमा जुनसुकै स्तरको प्रतियोगितामा पनि मैले अम्पायरिङ गरेको छु । बाहिर एसियाको इमेज हेर्ने हो भने नेपालले चार वटा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भनेको ठूलो उपलब्धिको कुरा हो ।

एसियामा भारतबाहेक कुनै पनि देशले त्यस्तो गर्न सकेको छैन । त्यसकारण अन्तर्राष्ट्रिय जगतमा भारतपछि सबभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने देशको रूपमा नेपालको छवि छ ।

अन्तर्राष्ट्रिय क्यालेन्डरमा नेपालको चार वटा इभेन्ट देख्नु भनेको संसारको लागि एकदमै टप लेभलमा हामी गनिन्छौं । तर, यही घरायासी कुरा गर्ने हो भने होला राष्ट्रिय प्रतियोगिता गर्न सक्या छैन । तर, त्योभन्दा बाहेकका अरु गतिविधि फरि हेर्ने हो भने धेरै काम भएका छन् ।

जताततै प्रतियोगिताहरू भइरहेका छन् । जस्तो मेरो एकेडेमीले प्रतियोगिता गर्यो भने पनि योगदान त्यही ब्याड्मिन्टन संघको लागि हुन्छ । देशको जुनसुकै कुनामा प्रतियोगिता भए पनि त्यसमा संघको समन्वय, सहयोग र योजनाअनुसार भएका हुन्छन् । त्यसकारण त्यसको श्रेय संघलाई नै जान्छ ।

तपाई नेपाली खेलकुदमा क्रिएटिभ मानिसका रुपमा चिनिनुहुन्छ । यो प्रतियोगितापछि अर्को नयाँ कार्यक्रम के छ ?

अर्को नयाँ काम हामीले नौं वर्षदेखि १९ वर्षसम्मका बालबालिकाहरू सबैलाई समेट्ने स्कुलको प्रतियोगिता गर्छौं । यसमा प्रत्येक दुई वर्ष फरकका खेलाडीको प्रतिस्पर्धा हुन्छ ।

९ वर्ष, ११ वर्ष, १३ वर्ष, १५ वर्ष, १७ वर्ष र १९ वर्षको छुट्टै प्रतिस्पर्धा गरिन्छ । यसले गर्दा स्कुलमा ब्याड्मिन्टन विकास हुन्छ । त्यही ९ वर्षको खेल्ने बच्चाले प्रत्येक उमेर समूहको प्रतिस्पर्धा खेल्दै १९ वर्षको उमेरमा पुग्दा परिपक्व भएर जुनियर राष्ट्रिय टिमलाई प्रतिनिधित्व गर्ने क्षमता बनाउँछ । पछि राष्ट्रले उसलाई राष्ट्रिय खेलाडीको रूपमा प्रशिक्षित गराउँछ र दुई वर्षपछि उ देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिन्छ ।

यो प्रतियोगिताको आकार कस्तो हुन्छ ?

यो राष्ट्रव्यापी र ओपन प्रतियोगिता हुन्छ । यहाँ बढि भन्दा बढि बालबालिकाको सहभागिता अपेक्षित हुन्छ ।

अन्त्यमा नेपाली ब्याड्मिन्टनका सरोकारवालाहरूलाई केही भन्न चाहनुहुन्छ ?

खेलाडीको व्यक्तित्व विकासमा पनि म लागिरहेको छु । विदेशमा चाँही खेलाडीलाई कुनै पनि पदाधिकारीले त्यतिसारो सम्पर्क गर्न दिँदैन । किनभने मैले आएर एउटा कुरा भनेको हुन्छु, अर्कोले अर्को कुरा भन्छ । खेलाडीको मनस्थिती बिगारिदिन्छ । तर, हाम्रोमा चाँही त्यो एक्सेस सबैसँग भयो ।

म चाँही कस्तो भने खेलाडीबाट अली दुरी राखिरहेको हुन्छु । म एउटा अम्पायर पनि भएकाले मेरो नियमले पनि त्यही भन्छ । खेलाडीसँग आत्मियता बढ्यो भने कुनै बेला निर्णय गर्न गाह्रो हुन सक्छ भन्ने सिद्धान्त हो ।

खासमा एउटा खेलाडीलाई फोकल प्वाइन्ट भनेर संघको प्रतिनिधि राखिदिनुपर्छ । जे कुरा आए पनि त्यो माध्यमबाट आयो भने धेरै विकृती हुँदैन । भन्नु नपर्ने कुरा पछि छताछुल्ल हुने अथवा नभइरहेको कुरा पनि ‘ह्यापनिङ’ हुन्छ ।

अर्को चाँही एउटा खेलाडीको व्यक्तित्व विकास गर्यो भने आफूले आफूलाई नै बिक्री गर्ने हो । तपाईलाई कसैले लगेर बिकाइदियो भने पनि आखिर माल हेर्ने भन्छ नी त । त्यो प्रोडक्ट नै राम्रो छैन, विश्वसनीय छैन भने कसैले पनि पत्याउँदैन ।

त्यसकारण अहिले हामीले ब्याड्मिन्टन खेलाडीहरूलाई पनि समग्र व्यक्तित्व विकास अन्तरगत नै काम सुरु गरेका छौं । हाम्रो काठमाडौं ब्याड्मिन्टन एकेडेमीको कार्यक्रममा सबैजनाले देख्नुभयो नि, खेलाडीहरू कस्तो पोशाकमा आउँछन् र कसरी आफूलाई प्रस्तुत गर्छ भन्ने कुरा । भोलि डाइनिङको एडिकेट्सको हुन्छ । भोलि स्पिचको कुरा हुन्छ, उसले कुनै पनि अन्तरवार्ता दिँदा बोल्दा अथवा केही गर्दा पनि एउटा कस्तो तरिकाले आफूलाई प्रस्तुत गर्ने यो कुराको विकासमा हामी चाँही अब लाग्नेछौं ।