मंसिर ६, २०८१ बिहीबार | १५:५०:२२
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन नेपाली खेलकुद

कस्तो होला यो दशकको विश्व खेलकुद ?

काठमाडौं । खेलकुदको आफ्नै गति र विशेषता हुन्छ । यसलाई स्थानीय परिवेशमा अनुकूलन गराउने प्रयास गर्न सकिएला, तर बाँध्न सकिँदैन । यो दशक पनि विश्व खेलकुदमा केही अवसर र अवरोध देखिने छन् । जसलाई पहिचान र सामना गर्ने सामर्थ्य नेपाली खेलकुदले विकास गर्नैपर्छ ।

वर्ष २०८१ को पहिलो महिना वैशाख बित्न लागेको छ । बितेको वर्षको समीक्षा र यो वर्षको योजनामा घोत्लिँदा नेपाली खेलकुदमा प्रशासकीय बदमासीबाहेक बाँकी कुरा सकारात्मक, उत्साहजनक, उर्जाशील र आशालादो देखिन्छ । वर्ष २०८१ क्यालेण्डरको नियमित चक्र मात्रै नभएर नयाँ दशकको सुरुआत पनि हो । त्यसैले खेलकुदमा विगत र आगतबीच समरेखा कोर्ने नयाँ थालनीको वर्ष पनि हो ।  

यो दशक नेपाली खेलकुदका लागि पूर्वाधार र लगानी, औद्योगिकीकरण र व्यावसायिकता, नवीनतम सोच र प्रविधि, सहभागिता र सफलता अनि राष्ट्रिय गौरवको दशक बन्न सक्नुपर्छ । ०८० को दशक नेपाली खेलकुद कस्तो बन्नुपर्छ भन्ने सन्दर्भ भन्दा पनि आज हामी यो दशक विश्व खेलकुदले कस्तो मोड लेला भन्ने चर्चा गर्दैछौं ।

भविष्यको पूर्वानुमान लगाउनु निकै कठिन विषय हो । नयाँ प्रवृत्तिहरूको विश्लेषण, भूगोल र जनसंख्याको रणनीतिक बदलाव, प्रविधिहरूको बढ्दो प्रयोग, पहुँच र रुचि अनि विश्व खेलकुदको हरपल बदलिइरहने विशेषताको आधारमा खेलकुदमा आउन सक्ने केही बदलाव यस्ता हुन सक्छन्:

डिजिटल फर्स्ट-खर्चिलो हेराइ

अबको दशकमा खेलकुद सबैभन्दा बढी डिजिटल प्लेटफर्ममा हेरिनेछ । त्यसले खेलकुदका सामग्री उत्पादन गर्ने, वितरण गर्ने र उपभोग गर्ने तरिका बदल्ने छ । परम्परागत सञ्चारमाध्यम या त परिवर्तन हुनुपर्नेछ या विस्थापित ।

कुनै पनि खेलका समर्थकले आफूले चाहेको सामग्री मात्रै हेर्नेछन् र त्यसकै मात्र भुक्तानी गर्नेछन् । यसको अर्थ के हो भने केबल र परम्परागत टिभीको भन्दा लाइभ स्ट्रिमिङमा खेलकुद बढी हेरिनेछ । खेलकुदमा मात्रै केन्द्रित भएर नेटफ्लिक्स, प्राइम भिडियो जस्ता प्लेटफर्म अगाडि आउन सक्छन् ।

फिफाले सुरु गरेको ‘फिफा प्लस’ जस्ता प्लेटफर्म अझ प्रभावकारी हुनेछन् । खेलकुद महासंघ, संघ, लिग र क्लबहरूले आफ्ना उत्पादन आफैं बेच्न वा प्रसारण गर्न थाल्नेछन् । फ्रेन्चाइज प्रतियोगिताहरू बढ्नेछन् भने लामो समय र ढाँचामा खेलिने खेलहरू संकटमा पर्न सक्छन् ।

इ-स्पोर्ट्सको क्रान्ति , नयाँको उदय, पुरानाको विलय

इ-स्पोर्ट्स कान्छो पुस्ता ‘जेन-जी’ र ‘जेन-अल्फा’को विशेष रुचिको क्षेत्र हो । पछिल्लो एक दशकमा राम्रैसँग हुर्किएको इ–स्पोर्ट्सले यो दशक विश्व खेलकुदमा सबैभन्दा ठूलो हिस्सा ओगट्न सक्छ । अबको १० वर्षमा सक्रिय जनसंख्याको सबैभन्दा ठूलो हिस्सा कुनै न कुनै रूपले इ–स्पोर्ट्ससँग जोडिनेछ ।

आफ्नै कोठमा बसेर कम्प्युटर र इन्टरनेटको माध्यमबाट विश्वको कुनै पनि कुनामा बसेका जोकोहीसँग खेल्ने क्षमता नै इ–स्पोर्ट्सको मुख्य हतियार हुनेछ । हुन त इ–स्पोर्ट्स पूर्ण रूपले एउटा खेल हो कि होइन भनेर तर्क गर्ने बाटो खुला छ । तर युवापुस्ताको आकर्षण र कर्पोरेट सेक्टरको साथले यसलाई खेलकुदको मेनस्ट्रिम बनाउने छ ।

भर्चुअल रूपमा प्रतिस्पर्धा गर्ने भए पनि भिआर/एआर गगल्सको सहायताले यसलाई वास्तविक दुनियासँग निकै नजिक पुर्याइदिएको छ । अनुमान गरौं, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले इ-स्पोर्ट्सको लोकप्रियतालाई मान्यता दिनेछ र ओलम्पिकमा स्थान दिनेछ । यो दशकमा केही नयाँ खेलको उदय हुनेछ भने परम्परागत पुराना खेललाई संरक्षण गर्नुपर्ने अवस्था आउन सक्छ ।

औसत रंगशाला अझै पनि मानिसहरू भेला हुने ठाउँमा परिणत हुनेछन् । तर, अनुभव बिल्कूल फरक । चलचित्र हेर्दा जस्तै अब प्रत्यक्ष रूपले खेलकुद हेर्दा पनि भिआर/एआर जस्ता प्रविधिको प्रयोग हुन सक्छ । 

दीगोपना र पर्यावरणमैत्री

खेलकुदको बढ्दो प्रभाव र बजारले अब दिगोपना खोज्नेछ । वास्तविक सरोकारवालाहरूले खेलकुदलाई दिगो विकास र पर्यावरण मैत्री अभियानसँग जोड्न थालिसकेका छन् । यो दशक यसको प्रयोग ह्वात्तै बढ्नेछ ।

अब बन्ने रंगशालाहरु कार्बन न्यूट्रल हुन सक्छन् । अमेरिकी आइस हक्की टिम सियाटल क्रेकनको ‘क्लाइमेट प्लेज एरिना’ जस्तै विश्वका धेरै रंगशाला कार्बन न्युट्रल वा जिरो कार्बन प्रमाणित हुन सक्छन् । यस्ता रंगशाला र खेलस्थल पूर्ण रूपमा पुनः प्रयोगयोग्य हुनुपर्छ । जसले फोहरलाई पुनः प्रयोग गर्न सक्नुपर्छ भने आफ्नै ऊर्जा र पानीको उपयोग गर्ने तरिकाहरू खोज्नुपर्छ । अबको खेलकुद सम्भव भएसम्म पर्यावरणमैत्री हुनुपर्छ ।

बहुउद्देश्यीय पूर्वाधार

अब बन्ने खेलकुदमा पूर्वाधारहरू डिजाइनदेखि निर्माण सामग्री र उपयोगिताको हिसाबले पनि फरक हुनेछन् । एउटा खेलका लागि विशष्टिकृत रंगशाला अन्य प्रयोजनका लागि पनि तयार रहनेछन् । कभर्डहलहरू बहुउद्देश्यीय हुनेछन् ।

खेलकुद प्रतियोगिता आयोजनाको लागि मात्रै नभएर अन्य सामाजिक कार्य, विपतको समय, अस्थायी आवास र फरक प्रयोजनमा पनि काम आउने खालका भौतिक पूर्वाधारको निर्माण हुनेछ । कतारले विश्वकप फुटबल आयोजना गरेका रंगशालाहरूलाई विश्वविद्यालय, होटल, म्युजियमजस्ता अन्य पूर्वाधारमा बदलेका उदाहरण हामीले देखिसकेका छौं ।

औसत रंगशाला अझै पनि मानिसहरू भेला हुने ठाउँमा परिणत हुनेछन् । तर, अनुभव बिल्कूल फरक । चलचित्र हेर्दा जस्तै अब प्रत्यक्ष रूपले खेलकुद हेर्दा पनि भिआर/एआर जस्ता प्रविधिको प्रयोग हुन सक्छ । बढी भिडभाड हुने ठाउँहरू स्वतः आर्टिफिसियल इन्टेलिजेन्सले नियन्त्रण र सञ्चालन गर्ने हुँदा भविष्यको रंगशाला एआई सिकाउने एकेडेमी जस्तै हुनेछन् ।

दशरथ रंगशालाभित्र छिर्दै गर्दा तपाईंको टिकट जाँच्ने र बाटो देखाउने स्वयंसेवक कुनै व्यक्ति होइन, रोबोट हुनसक्छ । रंगशाला ठूला र बढी क्षमताभन्दा पनि साना र बढी सुरक्षित बन्न सक्छन् । ती पूर्वाधार खेलका लागि सधैं तयार हुन्छन् नै । कोभिड जस्ता महामारी, भूकम्प, युद्ध वा आप्रवासी समस्याका लागि अस्थायी सिविर बन्नेछन् ।

खेलाडी केन्द्रित

अबको दशक खेलाडी केन्द्रित हुनेछ । क्लब र प्रशिक्षकसँग भन्दा बढी अधिकार अब खेलाडीको रोजाइमा निर्भर गर्नेछ । विश्व खेलकुदको शक्ति सन्तुलन विस्तारै खेलाडीतर्फ सर्नेछ । खेलाडी अनुबन्धनहरू पूर्ण रूपमा डेटाद्वारा निर्धारित हुनेछन् । एजेन्टको लबिङभन्दा पनि कम्प्युटर डेटामा भर पर्नुपर्ने हुनसक्छ ।

डिजिटल दुनियाँले क्लबको भन्दा व्यक्तिगत खेलाडीको समर्थक बढाउने छ । कर्पोरेट हाउसहरूले क्लब वा राष्ट्रिय टोलीभन्दा स्टार खेलाडीलाई नै रोज्नेछन् । फुटबल, क्रिकेट जस्ता टिम खेलमा पनि व्यक्तिगत खेलाडीकै बढी चर्चा हुनेछ । व्यावसायिक डिलहरू अहिलेजस्तो अँध्यारो कोठामा हुने छैन । परादर्शी प्रक्रिया र पारदर्शी भुक्तानीको अभ्यास हुनेछ ।

एआइ, ब्लकचेन र डिजिटल मुद्राको आगमनले परम्परागत सट्टेबाजी व्यवसायको ढाँचा बदलिएको छ । बुकी अर्थात एजेन्टको भूमिका खुम्चिएको छ । 

खेलकुदमा प्रविधि, बायो मेडिकल र न्युरो साइन्स

सबैभन्दा ढुक्क भएर अनुमान लगाउन सकिने कुरा खेलकुदमा प्रविधिको उच्चतम प्रयोग हुनेछ । खेलाडीको तालिममा, प्रतियोगिता आयोजनामा, रेफ्री वा निर्णायकको काममा होस वा दर्शकको सहभागिता र हेराइमा प्रविधिको भूमिका मुख्य हुनेछ ।

अहिलेको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) वा डिजिटल रिभ्यू सिस्टम पूर्ण रूपले स्वचालित प्रणाली अर्थात एआईद्वारा चल्नेछ । प्रतिबन्धित शक्तिबर्धक औषधीको प्रयोग खेलकुदमा निषेधित छ । प्राकृतिक हिसाबले तिखारिएका खेलाडीमात्रै वास्तविक खेलाडी हुन् भन्ने बुझाइ अब बदलिन सक्छ । किनभने डोपिङविरुद्धको लडाईंमा कृत्रिम र प्राकृतिकबीचको भिन्नता झन् झन् साँघुरिँदै गएको छ ।

मानिसले विज्ञान र प्रविधिको सहायताले आफैंलाई पुनर्निर्माण गर्न सिकिरहेको छ । अंग प्रतिस्पाथन, प्रत्यारोपण र जेनेटिक वृद्धिलाई चिकित्सा विज्ञानले सहज र परिणाममुखी बनाइसकेको विश्वमा तिनै उपचार पद्धति खेलाडीहरूको चोटपटक घटाउने पूर्वतयारीको रूपमा ‘एडप्ट’ नहोला भन्न सकिन्न ।

शारीरिक तन्दुरुस्तीका लागि नियमित स्ट्रेचिङको ठाउँमा ‘क्रसफिट’ जस्ता विधाको प्रयोग हुन सक्छ । मानसिक तन्दुरुस्तीका लागि न्युरो साइन्स वा न्युरो ट्रेनिङले खेलकुदमा स्थान बनाउन सक्छ । खेलाडीको शरीरका कोषिका, अंग र प्रणाली चुस्त राख्न बायोमेडिकल साइन्सको प्रयोग पनि बढ्न सक्छ । मुढेबलमै भिड्नुपर्छ भन्ने केही पुरातन सोचहरू हराउने छन् ।

बेटिङको प्रभाव

पछिल्लो समय विश्व खेलकुदमा बेटिङ वा सट्टेबाजीको प्रभाव बढिरहेको छ । युरोप/अमेरिकाले दशकौं अगाडि यसलाई वैधता दिएर नियमनमा राखेका छन् । सट्टेबाजी प्रतिबन्धित नेपाल जस्तो देशमा पनि पछिल्लो दशक बेटिङको प्रभाव बढेको छ । कमजोर कानुनी व्यवस्था र प्रस्टता नहुँदा बेटिङ र खेल मिलेमतोलाई एउटै बास्केटमा हालेर हेरिएको छ ।

एआइ, ब्लकचेन र डिजिटल मुद्राको आगमनले परम्परागत सट्टेबाजी व्यवसायको ढाँचा बदलिएको छ । बुकी अर्थात एजेन्टको भूमिका खुम्चिएको छ । कानुनी वैधता पाएका ठाउँमा बेटिङको स्वरुप परिवर्तन हुनेछ भने नपाएका ठाउँमा ‘सेरोगेट’ ढाँचामा बेटिङ कम्पनीहरू फैलने छन् । अहिले नेपाली क्रिकेटमा प्रयोजक बनेर आएका ‘डाफा न्युज’, ‘वान एक्स ब्याट’ जस्ता उत्पादन यसका राम्रा उदाहरण हुन् ।

लैंगिक एवं रंगभेदको अन्त्य

अबको दशक खेलकुदले विभेद, व्यभिचार वा अन्याय सहने छैन । मैदानभित्र वा बाहिर हुने कुनै पनि रंगभेदी दुर्व्यवहार, लैंगिक विभेद, असमानता वा यौनहिंसाको खेलकुदमा स्थान हुने छैन ।

यो दशक खेलकुदमा महिलाको हिस्सा बढ्नेछ । महिलाको खेलकुद प्रतियोगिताको व्यावसायिक स्तर र लोकप्रियता बढ्नेछ । पारिश्रमिकमा समानता आउनुपर्छ । मार्केटिङ र ब्रान्डिङको दृष्टिकोणले हेर्ने हो भने पनि खेलकुदमा समानता यो दशकको नारा हुनेछ ।

रंगभेदी व्यवहारको निगरानी गर्न खेलस्थलमा यथेष्ट निगरानी हुनेछन् भने मैदानमा मात्रै नभएर समर्थक बस्ने ठाउँमा पनि विशेष निगरानी पक्कै हुनेछ । रंग, नश्ल, जाति वा लिंगको आधारमा गरिने कुनै पनि दुर्व्यवहार कानुनी रूपमा दण्डनीय हुने बाध्यकारी संहिता जुनसुकै खेलले लागू गर्नेछ ।

फ्यान इन्गेजमेन्ट (जेन-जी र जेन अल्फा)

यो दशक खेलकुदमा समर्थकको झुकाव झनै बढ्नेछ । व्यावसायिक खेलकुदको सुरुआत र अन्त्य समर्थकबाटै हुन्छ । फाइभ जी प्रविधिको सर्वसुलभ पहुँचले विश्वका जुनसुकै ठाउँमा भएका स्थानीय प्रतियोगितालाई पनि ग्लोबल बनाइदिएको छ ।

तर, भविष्यका फ्यानहरू अहिलेका फ्यानभन्दा फरक हुनेछन् । नयाँ पुस्ताका सर्मथकहरू स्क्रिनमा खेलाडी हेरेर चुप बस्ने स्वभावका हुँदैनन् । उनीहरू डिटिजल प्लेटफर्ममा सहज पहुँच राख्छन् । खेलाडी, क्लब वा टिमसँग उनीहरूको सिधा अन्तरक्रिया हुनेछ । सोझो भाषामा भन्दा खेलकुदका फ्यानहरू सबैभन्दा बलिया र हस्तक्षेपकारी सरोकारवालाको रूपमा स्थापित हुनेछन् । कुनै पनि खेल वा क्लबले उनीहरूको चाहनालाई नजर अन्दाज गर्न सक्ने छैनन् ।

आगामी दशक विश्व खेलकुदमा आउने जुनसुकै सम्भावित अवसरलाई सफलतामा बदल्ने र चुनौतीको सामना गर्ने क्षमता नेपाली खेलजगतले पनि विकास गर्नैपर्छ

काबुबाहिरको प्रभाव,  (युद्ध, महामारी, आर्थिक संकट)

खेलकुद सधैं आफ्नै गतिमा अघि बढ्छ । तर यसमा पनि कहिलेकाहीं बाधाअड्चन नआउने होइन । अघिल्लो दशकको कोभिड महामारीलाई उदाहरण मानौं । कहिलेकाहीं काबुबाहिरको परिस्थतिले खेलकुदमा प्रभाव पार्दछ ।

कोभिडले झन्डै दुई वर्ष प्रत्यक्ष खेल प्रतियोगिता प्रभावित भयो । ओलम्पिक नै सार्नुपर्यो । अर्को उदाहरण लिउँ, रुस-युक्रेन युद्धलाई । यसले रुसलाई अहिले विश्व खेलकुदको नक्साबाट बाहिर राखेको छ । आप्रवासी समस्या विकराल बन्दा ओलम्पिकमा तटस्थ खेलाडीको संख्या बढिरहेको छ ।

यी त केही उदाहरणमात्रै हुन् । अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि परिस्थतिजन्य प्रभाव देखिने गर्दछ । यो दशकको सुरु रुस-युक्रेन युद्धको निरन्तरता, इजरायल-हमास द्वन्द्व, इजरायल-इरान ध्रुवीकरण, विश्व आर्थिक संकटलगायतका घटनाबाट भइरहेको छ । यसको अर्थ विश्व खेलकुदमा यसले स्वभाविक उतारचढाव ल्याउने छ ।

खेलकुद परिणामको हिसाबले अनुमान लगाउन जति कठिन छ, यसमा आउने परिवर्तनबारे अनुमान लगाउन पनि त्यति नै कठिन छ । समयअनुसार खेलकुदमा पात्र फेरिन्छन् । प्रवृत्ति फेरिन्छ । यसको शैली फेरिन्छ । तर स्वस्थ प्रतिस्पर्धाको भावना, भाइचारा, एकता र आपसी मेलमिलापको खेलकुदको विश्वव्यापी चरित्र भने जहिले पनि उस्तै रहन्छ ।

आगामी दशक विश्व खेलकुदमा आउने जुनसुकै सम्भावित अवसरलाई सफलतामा बदल्ने र चुनौतीको सामना गर्ने क्षमता नेपाली खेलजगतले पनि विकास गर्नैपर्छ । त्यसका लागि हचुवाको खेलनीति, आसेपासे जमातले भरिएको नेतृत्व, स्रोतसाधनको अनुचित दोहन, थैलीअनुसारको भौतिक पूर्वाधार वा विदेश भ्रमणको लावालस्करभन्दा पनि खेलाडीलाई विज्ञान र प्रविधिमा आधारित तालिम, प्रशस्त प्रतियोगिता, समग्र खेल क्षेत्रको औद्योगिकीकरण, सम्भावनाअनुसारका संरचना, खेलकुद संघहरूको व्यावसायिकता र परिणामअनुसारको पुरस्कार र दण्ड जरिवानाको व्यवस्थालाई ‘दशकको खेल गौरव’को रूपमा स्थापित गर्न जरुरी छ ।