माघ ३, २०८२ शनिबार | ०१:३६:५४
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै
शनिबारको दिन शनिबारको दिन

मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो

काठमाडौं । त्यो तस्बिर संसारभर पुगे, जहाँ किलियन एमबाप्पे आफ्ना सहकर्मी खेलाडीलाई मैदान छाड्न भनिरहेको देखिन्थे । जबकि जाभी अलन्सोको खेलाडीलाई निर्देशन थियो, मैदानमै रहनुपर्छ । तर एमबाप्पे मानेनन् ।

अन्ततः जित एमबाप्पेकै भयो । प्रशिक्षक अलन्सो आफैं पनि आफ्ना स्टार खेलाडी एमबाप्पेको चाहनाअनुसार मैदानबाट निस्किए । रियल मड्रिडका सबै खेलाडी तथा प्रशिक्षक ड्रेसिङ रुमतर्फ लागे । यसको मतलब स्पेनिस सुपर कप जितेको बार्सिलोनाले रियल मड्रिडबाट गार्ड अफ अनर पाएन ।

गत आइतबारको यो दृश्य फुटबलमा देखिन लायकको थिएन । अझ अलन्सो जस्ता व्यक्ति त यस्तो दृश्यसँग सम्बन्धित कहिल्यै भएनन् । र, यही दृश्यले सन्देश पनि दियो, रियल मड्रिडमा प्रशिक्षक होइन, टिमको इन्चार्ज खेलाडी थिए ।

साउदी अरेबियाको जेद्दा सहरमा भएको खेलको ७३ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले डिफ्लेक्टेड गोल गरेपछि रियल ३–२ ले पछि परेको थियो । त्यही गोल अन्ततः निर्णायक बन्यो पुग्यो । खेलको अन्तिम सिठी बजेपछि अलन्सोले सोचेको हुनुपर्छ, अबचाहिँ पुग्यो ।

तर अलन्सोको यो राजीनामा होइन । अलन्सोले न त रियल छाड्ने कुनै योजना नै बनाएका थिएनन् । भर्खर त साढे सात महिना भएको थियो, उनी रियलको प्रशिक्षक बनेको । यति छोटो समयमा कसले किन रियल छाड्छ ?

अलन्सोको बर्हिगमनसँगै रियलले प्रेस विज्ञप्ति जारी गर्यो । जहाँ भनिएको छ, अलन्सोले क्लबसँग सल्लाह गरेरै आफ्नो पद त्यागेका हुन् । उनको यो बर्हिगमन योजना मुताबिक नभए पनि निश्चित प्रायः थियो ।

अलन्सोसँग रियल मड्रिडका हाकिमहरूले लगातार बैठक गरिरहे । बैठकमा मूलतः अलन्सोको खेल रणनीतिमाथि प्रश्न उठाइन्थ्यो । उनले रियलका स्टार खेलाडीहरूसँग कस्तो सम्बन्ध राखिरहेका छन्, प्रश्न त्यो पनि थियो । रियलका बोर्ड सदस्यहरू सोमबार फेरि भेला भए, यसपालिको विषय थियो, अलन्सोको बर्खास्तगी ।

अलन्सोलाई बर्खास्तगीका कारण सुनाइएको छ । जुन आफैं अस्पष्ट छ । बायर लेभरकुजनमा जस्तो फुटबल अलन्सोले खेलाएका थिए, त्यस्तो फुटबल रियलमा देखिएन, रियलको पूरै टिम थकित देखियो, अलन्सोले कुनै खेलाडीको प्रदर्शनमा सुधार ल्याउन सकेनन्, खेलाडीले अलन्सोका लागि खेल्न छाडे, आदि आरोप लगाइएको छ ।  

अलन्सो प्रशिक्षक रहँदा रियलले केही खराब हारको स्वाद चाख्यो । जस्तै, क्लब विश्वकप सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनसँग ५–२, ला लिगामा एट्लेटिको मड्रिडसँग ५–२ । यद्यपि यस्ता केही पीडादायी हारका बाबजुद रियल अझैं पनि च्याम्पियन्स लिगमा लिग चरणको शीर्ष आठभित्र छ । यो त्यही प्रतियोगिता हो, जसले रियलको परिचयको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । उता लिगमा रियल बार्सिलोनाभन्दा मात्र ४ अंकले पछि छ । र, लिगमा आधामात्र खेल सकिएको छ । गत अक्टोबरमा रियलले लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई हराएको पनि हो । यस्तोमा के रियल संकटमा छ भन्न मिल्छ ?

हुन त संकटभन्दा गहिरो समस्या अविश्वासको हो । अविश्वास क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजबाट । अहिले आएर पुष्टि भएको छ, पेरेजले अलन्सोमाथि विश्वास गरेकै थिएनन् । अलन्सोलाई प्रशिक्षक बनाउनुपर्छ भनेर पेरेजलाई सुझाव दिइएको थियो ।

पेरेज राजी त भए, तर पूर्ण रूपमा ढुक्क थिएनन् । उसो त अलन्सोप्रति लेभेरकुजनमा पनि सबैजना ढुक्क थिएनन् । तर जब नतिजा आउन सुरु भयो, तब लेभरकुजनमा सबैले अलन्सोमाथि विश्वास व्यक्त गर्न थाले । रियलमा पनि नतिजा त आइरहेकै हो, तर अलन्सोले सम्मान पाएनन् । उनलाई लगभग सधैँ एक्लो महसुस गराइयो ।

फुटबलमा सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारी रियल मड्रिडको प्रशिक्षकको हो । कुनै प्रशिक्षकले रियलको प्रस्ताव अस्वीकार गर्दैन । व्यक्तिगत प्रदर्शनमा जोड दिइने रियलमा प्रशिक्षक हुन संयुक्त प्रदर्शनको आवश्यकता  महत्त्व दिने प्रशिक्षक पनि राजी हुन्छ । रियल पुग्ने कुनै पनि प्रशिक्षक बलियो व्यक्तित्वको धनी हुने गर्छ । रियल यस्तो क्लबहो जसले प्रशिक्षकको अधिकारलाई सुरुबाटै कमजोर पारिदिन्छ ।

अलन्सो रियलको यात्रा क्लब विश्वकप सकिएपछि मात्र सुरु गर्न चाहन्थे । लामो युरोपेली क्लब फुटबल सिजन सकिएपछि सुरु भएको क्लब विश्वकप खेल्न खेलाडी मानसिक र शारीरिक रूपमा पूर्ण तयार थिएनन् । सिजन सकिन साथ बिदा मनाउन जाने योजनामा हुनेदेखि आफू अर्को सिजन अरू क्लबमा खेल्न तयार रहेका खेलाडी हुने हुँदा ठूला क्लबका लागि क्लब विश्वकप कम चुनौतीपूर्ण हुँदैन ।

त्यसमाथि रियलले त्यसबेला अनुबन्ध गरेका खेलाडीले पनि क्लब विश्वकपमा खासै गतिलो प्रदर्शन गर्न सकेनन् । जस्तै, फ्रान्को मास्टान्टटुनो । जसलाई लामिन यामलसँग प्रतिस्पर्धा गर्न सक्ने खेलाडीका रूपमा हेरिएको थियो ।

रियलमा अब अलन्सोको बसाइ अन्त्य हुँदै छ भन्ने संकेत थियो, भिनिसियस जुनियरको खराब लय । उनले अपेक्षाकृत स्तरमा खेल देखाउन नसक्नुको कारण नयाँ प्रशिक्षक अलन्सो भएको ठानियो । भिनिसियस आफैंले पनि त्यस्तो संकेत गरिरहे ।

अलन्सोसँग न्यानो सम्बन्ध राख्न नसकेका भिनिसियसले एल क्लासिकोमा आफू सब्स्टिच्युट हुँदा त विरोध नै गरे । पछि उनले माफी त मागे तर यो माफी प्रशिक्षकसँग मागिएको थिएन । त्यहीबीच उनीसँगको सम्झौता नवीकरणको कुराकानी पनि रोकियो । यसको कारण थियो, अलन्सोको अनिश्चित भविष्य ।

अलन्सोका लागि रियलको रक्षापंक्ति पनि टाउको दुखाइको विषय बन्यो । सधैं कोही न कोही घाइते भइरहेपछि अलन्सोले रक्षापंक्तिमा स्थायित्व ल्याउन सकेनन् । रक्षापंक्तिलाई सहयोग गर्नसक्ने मिडफिल्डर जुबीमेन्डीलाई भित्र्याउनुपर्ने उनको प्रस्ताव पनि क्लबले स्वीकार गरेन ।

फेरि सबै खेलाडीलाई टिममा एकताबद्ध बनाउन सक्ने लिडर पनि रियल मड्रिडको टिममा कोही भएन । फेडेरिको भाल्भार्डेले त्यो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो । तर उनको ध्यान नेतृत्वमा भन्दा आफू कुन पोजिसनमा खेल्न पाउँछु भन्नेमा मात्र गयो । उता टिमका स्टार फरवार्ड एमबाप्पे कीर्तिमान बनाउनेमै केन्द्रित भए ।

खासमा अलन्सोले रियलका खेलाडीलाई आफ्नो खेल रणनीतिमा सहमत गराउनै सकेनन् । खेलाडी रणनीतिमा विश्वस्त नभएपछि अलन्सोले रियलमा आफ्नो तरिकाको फुटबल खेलाउनै सकेनन् । उनको रणनीतिको हिस्सा मानिने हाई प्रेस, पोजिसनल प्ले रियलमा देखिएन ।

अब अलन्सोको भविष्य के ? उनले अब निर्णय लिनुपर्छ, केही समय आराम पो गर्ने कि ? उनलाई नजिकबाट चिन्नेहरू प्रस्ट छन्, रियलबाट बर्हिगमन अलन्सोका लागि ठूलो राहत हो । तर उनलाई आरामगर्न दिने पक्षमा युरोपका ठूला क्लब तयार छैनन् । कम्तीमा अर्को सिजन उनलाई प्रशिक्षक बनाउन तयार रहेका ठूला क्लबको सूची थोरै छैन ।

यही बीचमा रियल भने फेरि एकपटक अन्य ठूला क्लबभन्दा फरक शैलीमा सञ्चालित हुने तथ्य प्रमाणित भएको छ । रियलले जसलाई प्रशिक्षक बनाए पनि उसलाई पूर्ण अधिकार दिँदैन, प्रशिक्षकलाई बर्खास्तगी गर्न केही महिना अघिदेखि नै योजना बनाउँछ र यस्तो वातावरण सिर्जना गर्न स्थानीय प्रेसलाई परिचालन गर्छ भन्ने तथ्य पुनः उजागर भएको छ ।

रियलमा अलन्सोलाई अल्भारो अर्बेलोआले प्रतिस्थापन गरेका छन् । जो रियलको एकेडेमीमा प्रशिक्षण दिइरहेका थिए । अर्बेलोआसामु असाध्यै ठूलो पहाड छ । उसो त अलन्सो जस्ता ठूला लिजेन्डले त रियलमा खेलाडीको खराब संस्कृति परिवर्तन गर्न सकेनन् भने अर्बेलोआ त्यसमा के सफल होलान् र भन्नेहरू पनि छन् ।

यदि यो सिजन रियलले केही उपाधि नजिती समापन गर्यो भने युरोपका कुलीन क्लबहरूको विश्वास सुदृढ हुनेछ, रियलको क्लब सञ्चालन शैली सही छैन ।

तर फेरि एकपल्ट रियलले उपाधि जित्यो हामी सबै त्यही पुरानो निष्कर्षमा पुग्नेछौँ । निष्कर्ष हो, निश्चित प्रशिक्षकहरू निश्चित क्लबका लागि उपयुक्त हुन्छन् । अनि केही क्लबचाहिँ प्रशिक्षकद्वारा व्यवस्थित हुन तयार हुँदैनन् ।

(बीबीसीबाट)