मंसिर ३, २०८२ बुधबार | १०:२१:०१
एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन
शनिबारको दिन

दशैं रौनकबाट टाढिएर प्रशिक्षणमा व्यस्त खेलाडी

काठमाडौंं । नेपालमा अहिले दशैंको उमंग चलिरहेको छ । दशैं अर्थात् नेपालीको महान चाड । दशैं त्यो चाड हो, जहाँ परिवारको पुनर्मिलन हुन्छ । ठूलाबडाबाट आशीर्वाद लिइन्छ । विभिन्न उत्सवहरूमा संलग्न भइन्छ ।

नेपालीहरू सम्पूर्ण कार्यहरूलाई ‘ब्रेक’ लगाउँदै दशैं मनाउन आ-आफ्नो घर फर्कने चलन छ । फूलपाती मुखैमा आइपुग्दा उपत्यकामा मानिसको लर्को स्वाट्तै घटेको छ । नेपालीहरू अब ५ दिनसम्म सरकारले दशैंका लागि भनेर छुट्याएको बिदामा रमाउँदै छन् ।

तर, एकाध पेसा यस्ता हुन्छन्, जसलाई दशैं वा कुनै पनि चाडपर्वले छेक्दैन । त्यो एकाध पेसाभित्र पर्छ व्यावसायिक खेलाडी । देशमा दशैंको चटारोबीच नेपाली खेलाडी अहिले आ-आफ्ना जिम्मेवारीमा व्यस्त छन् ।

सुरुमा फुटबल । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा राष्ट्रिय यु-१७ महिला टोली दुई चरणमा दैनिक चार घण्टा प्रशिक्षण गरिरहेको छ । खेलाडीहरू आउँदै गरेको एएफसी एसियन कप छनोटका लागि तयारी गरिरहेको छ । यही अक्टोबर १३ बाट थाइल्यान्डमा हुने छनोट प्रतियोगिताका लागि नेपाली टोली २२ दिनयता बन्द प्रशिक्षणमा छ ।

कलिला किशोरीले यसअघि कहिल्यै परिवारभन्दा टाढा रहेर दशैं मनाएका थिएनन् । मोबाइल फोन विरलै चलाउन पाइरहेका किशोरीका सामाजिक सञ्जालहरूमा अचेल दशैंका कन्टेन्ट/गीतहरू, शुभकामना इत्यादिका पोस्ट आइरहेका हुन्छन् । जसले पक्कै पनि उनीहरूको मन खिन्न बनाएको छ । तर, उनीहरूले आफ्नो जिम्मेवारीलाई राम्ररी बुझेका छन् ।

एएफसी यु-१७ महिला एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा, तस्विरः सरोज सापकोटा/खेलाडी ।

‘दशैंको माहोलमा यसरी बन्द प्रशिक्षणमा बिताउन पर्दा केही गाह्रो अवश्य भएको छ । तर, हामी सबैमा आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने भावना र जोस छ । त्यसैले बाहिरी कुराले विचलित छैनौं,’ टोलीकी मिडफिल्डर आशिका कार्कीले भनिन् ।

टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले सुरुमा दशैं टीकाको दिन भए पनि खेलाडीलाई घर पठाउने योजना बनाएका थिए । पछि खेलाडीकै सल्लाहअनुरुप श्रेष्ठले आफ्नो विचार फेरेका थिए ।

‘खेलाडी आफैंले घरमा हामी आउन सक्दैनौं भनेर भनेका रहेछन् । घरमा देशका लागि केही गर्नुपर्छ भन्ने संवाद खेलाडी र अभिभावकबीच भएको रहेछ । अभिभावक र खेलाडीको सल्लाहअनुरुप हामी बन्द प्रशिक्षणमै रहने निर्णयमा पुगेका हौं,’ श्रेष्ठ सुनाउँछन् ।

सिनियर पुरुष फुटबल टोली पनि एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध दुई लेग खेल्न अहिले बन्द प्रशिक्षणमा छन् । समूह ‘एफ’मा रहेको नेपालले अक्टोबर ९ र १८ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ । त्यसैका लागि अहिले ३३ सदस्यीय प्रारम्भिक छनोट टोली बन्द प्रशिक्षणमा छ । यी खेलाडीसँग पनि यसपालि महान चाडलाई माया मार्नेबाहेक विकल्प छैन ।

सिनियर पुरुष टोलीका चर्चित अनुहार कप्तान किरण चेम्जोङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुश घलानलगायत व्यावसायिक फुटबलका लागि बंगलादेशमा छन् । राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी, मिडफिल्डर प्रीति राई, रक्षक पूजा राना पनि विदेशी भूमिमा फुटबल खेलिरहेका छन् । दशैं सकिएलगत्तै नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा महिला टोली बन्द प्रशिक्षणमा बस्दै छ । अक्टोबर २६ गते टोलीले सिक्किममा भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

काभा यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली बन्द प्रशिक्षणमा, तस्विरः सरोज सापकोटा/खेलाडी ।

भलिबलको सिनियर पुरुष टोली र महिला टोली मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा थियो । यी खेलाडीलाई भने शुक्रबारदेखि बिदा दिइएको छ । उता यु-१९ महिला टोली भने अक्टोबर ३ देखि १० सम्म श्रीलंकाको कोलम्बोमा हुने काभा च्याम्पियनसिपको तयारीमा छ । मुख्य प्रशिक्षक कुमार राईको नेतृत्वमा रहेको टोली एक सातायता राष्ट्रिय खेलकुद परिषद (कभर्डहल)मा प्रशिक्षण गरिरहेको छ । राईले खेलाडीको इच्छाअनुसार घर पठाउने निर्णय गरेका छन् ।

‘दशैंमा खेलाडीको शरीर कभर्डहलमा भए पनि मन घरतिर भएपछि प्रशिक्षण गर्नुको औचित्य रहन्न । नानीहरू स्वतन्त्र रूपमा घर जान्छु भन्छन् भने जान दिन्छु,’ राईले भने ।

क्रिकेटमा पुरुष र महिला सिनियर टोली विदेशी भूमिमा छन् । महिला टोली यही अक्टोबर २ देखि ८ सम्म हुने पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि मलेसियामा छ भने पुरुष टोली वेस्ट इन्डिजविरुद्ध शनिबार (आज) देखि सुरु हुने तीन ट्वान्टी-२० शृंखला खेल्न संयुक्त अरब इमिरेट्स (युएई)मा छ ।

वेस्ट इन्डिज शृंखलापछि नेपाली क्रिकेट टोली विश्वकप छनोटका लागि ओमान प्रस्थान गर्नेछ । ओमानमा नेपालले अक्टोबर ८ मा कुवेत र १० मा जापानसँग खेल्ने तालिका छ । ओमानमा विश्वकप छनोट खेलेपछि टोली पुनः युएई फर्किने छ । युएईमा नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलामा सहभागिता जनाउने छ । अतः खेलाडी करिब डेढ महिनापछि स्वदेश फर्किने छन् ।