मंसिर ३, २०८२ बुधबार | १०:२०:५९
एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन
शनिबारको दिन

नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल

काठमाडौं । घरेलु फुटबलमा ‘सन्तोष साहुखल’को पहिचान बेग्लै छ । २०६० सालतिर भक्तपुर बोडेका यी स्ट्राइकरको घरेलु शीर्ष डिभिजन लिगमा एकछत्र राज रह्यो ।

स्कुल पढ्दै गरेका सन्तोषको प्रदर्शनबाट प्रभावित भएरका तत्कालीन थ्री स्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठले उनलाई क्लबमा भित्र्याएका थिए । थाहा थियो, सन्तोषको प्रदर्शनले नेपाली फुटबललाई उचाइ दिनेछ भन्ने ।

खुकुरी कप फुटबलमा भक्तपुर जिल्ला च्याम्पियन भएपछि भीमसेन युथ क्लब क्षेत्रीय प्रतियोगिताका लागि विराटनगर गएको थियो । विराटनगरमा स्थानीय खेलाडीले भरिएको भीमसेनले पहिलो खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेललाई हरायो । दोस्रो खेल नीराजन रायमाझी, शुक्र तामाङ, बालगोपाल महर्जन, उपेन्द्रमान सिंहसम्मिलित फ्रेन्ड्स क्लबविरुद्ध थियो । स्टारले भरिएको टोलीसँग भीमसेनलाई हारको विकल्प थिएन । तर, उक्त खेलपछि नेपाली फुटबलले जब्बर स्ट्राइकर पाउँदै थियो । फ्रेन्ड्ससँगको खेलपछि श्रेष्ठले सन्तोषलाई थ्री स्टारबाट खेल्न प्रस्ताव गरेका थिए ।

सन्तोष साहुखल, बालगोपाल साहुखल ‘आर्काइभ’, तस्वीर सौजन्यः बालगोपाल साहुखल ।

ती त्यस्ता दिन थिए, जतिबेला सन्तोष परीक्षा दिएर स्कुल ड्रेसमै दशरथ रंगशाला धाउँथे ।

‘परीक्षा सकिनेबित्तिकै रंगशाला जान्थें । फटाफट जर्सी लगाउँथे अनि दोस्रो हाफमा खेल्न तयार हुन्थें,’ सन्तोष सम्झिन्छन्, ‘दोस्रो हाफमा मैदान छिरेर गोल पनि गर्थें ।’

घरेलु फुटबलमा सन्तोषको नाममा एउटा दुर्लभ कीर्तिमान छ । उनी सहिद स्मारक ए डिभिजन लिगमा १०० गोलको आँकडा पूरा गर्ने एकमात्र खेलाडी हुन् । 

सन्तोष लिगको डेब्यू खेलमै गोल गर्ने भाग्यमानी खेलाडीमा पर्छन् । थ्री स्टारबाट २०६० सालमा साहुखलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा गोल गरेका थिए । जतिबेला उनी ९ कक्षामा पढ्थे ।

बलिष्ठ शरीर, विपक्षी पोस्टमा पुगेपछि गोलको भोक, शट प्रहारमा एकुरेसी सन्तोषको परिचय थियो । ‘साहुखल’ शब्दलाई नेपाली फुटबलमा अमर बनाउने यही परिचय हो । यही परिचय जसले उनलाई लिगकै महँगो खेलाडी पनि बनायो ।

सन्तोष साहुखल ‘आर्काइभ’, तस्वीर सौजन्यः बालगोपाल साहुखल ।

घरेलु फुटबलमा सन्तोषको नाममा एउटा दुर्लभ कीर्तिमान छ । उनी सहिद स्मारक ए डिभिजन लिगमा १०० गोलको आँकडा पूरा गर्ने एकमात्र खेलाडी हुन् । उनले यो उपलब्धि २०७६ को लिगमा पाएका थिए, जतिबेला उनी च्यासल युवा क्लबको जर्सीमा मैदानमा खेलिरहेका थिए ।

घरेलु फुटबलमा थ्री स्टार, एपिएफ, मनाङ मस्र्याङ्दी र च्यासलबाट खेलेका सन्तोष व्यावसायिक करिअरको २२औं वर्षमा छन् । उमेरले ३९ वर्ष पुगिसकेका सन्तोषले दुई वर्षअगाडि जेठमा सम्पन्न पछिल्लो लिग पनि खेलेका थिए ।

देशको फुटबल विकास र राष्ट्रिय टोलीको सफलताको एउटै आधार हो, घरेलु फुटबल लिग । लिग देशको फुटबलको मेरुदण्ड हो । देशको फुटबल स्तर बुझ्ने माध्यम हो । घरेलु लिग फस्टायो भने देशमा फुटबल संस्कृति बसाल्ने काम गर्छ, जसले युवा खेलाडी खेलप्रति आकर्षण हुन प्रेरित गर्दछ । राष्ट्रिय टोलीका लागि प्रतिभाशाली खेलाडीहरू दिने माध्यम लिग नै हो ।

पछिल्लो एक दशक सन्तोष आफूले सिकेको कुरा युवा खेलाडीलाई हस्तान्तरण गर्ने अभियानमा छन् । उनी फुटबलमा सम्भावना बोकेका खेलाडीलाई अवसर दिन चाहन्छन् ।

लिगको महत्व सन्तोषभन्दा बढी कसलाई थाहा होला र ?

गोलको खुसीः सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९/८० मा चिरप्रतिद्धन्द्धी मनाङ मस्र्याङ्दीविरुद्ध गोल गरेपछि सन्तोष साहुखल, तस्वीर सौजन्यः एन्फा ।

एक दशकयता सन्तोष जापानमा बसोबास गर्दै आएका सन्तोष हरेक लिग खेल्न नेपाल फर्किने गर्छन् । नेपाली खेलाडीहरू विदेश पुगेपछि उतै हराउँदा सन्तोषलाई भने घरेलु लिगले तानिरह्यो ।

‘नेपाली फुटबलप्रति माया लाग्छ । मेरो हरेक अंगमा नेपाली फुटबलको माया छ । नेपाली समर्थकसँग खेल्ने चाहनाले गर्दा देश फर्किरहेको हुन्छु,’ सन्तोष भावुक हुन्छन्, ‘फुटबल पहिले जस्तो रहेन । अहिले स्टार प्लेयरलाई हेर्न रंगशाला धाउने माहोल छैन । नेपाली फुटबलको स्तर घटिसक्यो ।’

पछिल्लो एक दशक सन्तोष आफूले सिकेको कुरा युवा खेलाडीलाई हस्तान्तरण गर्ने अभियानमा छन् । उनी फुटबलमा सम्भावना बोकेका खेलाडीलाई अवसर दिन चाहन्छन् । फुटबलको बाटो देखाउन मन छ उनलाई । एक सय गोलको कीर्तिमानलाई सामान्य बनाउन चाहन्छन् । अर्को ‘साहुखल’ जन्माउन मन छ उनलाई ।

सातौं रियले कप, तस्वीर सौजन्यः एफसी रियले नेपालको फेसबुकबाट ।

सन्तोषको यो अभियानको सारथि बनेको छ एएफसी रियले नेपाल । एफसी रियले नेपाल जापानको गैरनाफामूलक संस्था ‘रियले वर्ल्ड ’ को एउटा परियोजना हो, जसको मुख्य उद्देश्य भनेको फुटबलको माध्यमबाट युवा नेतृत्वको विकास गर्नु हो ।

एफसी रियलेले नेपालले बर्सेनि ‘समर’ र ‘विन्टर’गरी दुईचोटि उपत्याकाव्यापी यु-१०, यु-१२ र यु-१४ लिग पनि सञ्चालन गर्दै आएको छ । 

बालबालिकाको पृष्ठभूमि, जातीयता, संस्कृति र आर्थिक अवस्था जस्तोसुकै भए पनि उनीहरूलाई समाजमा उभ्याउन मद्दत गर्ने लक्ष्य बोकेको संस्था हो, रियले वर्ल्ड ।

रियले वर्ल्डको ‘एफसी रियले जापान’को सफलतापछि सन् २०१३ मा एएफसी रियले नेपालको स्थापना भएको थियो ।

सन्तोषका दाजु बालगोपल साहुखल एएफसी रियले नेपालका वर्तमान अध्यक्ष हुन् । १३ वर्ष अगाडि दाइ साहुखल र रियले वर्ल्डका बोर्ड अध्यक्ष आया मियोसीबीच भेटघाटको अवसर जुरेको थियो । त्यही अवसरमा यी दुईबीच फुटबलको माध्यमबाट नेपाली बालबालिकालाई जीवन जिउन र समाजका लागि राम्रो मान्छे बन्न सकिने प्रेरणा दिने योजनाको छलफल भयो । यही छलफलले मूर्त रूप लिएपछि एफसी रियलेको स्थापना भएको हो । पछि सन्तोष जापान गइसकेपछि ‘रियले वल्र्ड’ र ‘एफसी रियले जापान’सँग प्रत्यक्ष संलग्न हुन पाए ।

सातौं रियले कप, तस्वीर सौजन्यः सन्तोष साहुखलको फेसबुकबाट ।

‘फुटबल प्रशिक्षणबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य त छँदै थियो । त्यो भन्दा पनि भाइबहिनीलाई राम्रो मान्छे बनाउने र भावी दिनमा समाजलाई राम्रो प्रभाव पार्न सकोस् भन्ने मुख्य उद्देश्य बोकेर हामीले एकेडेमी सुरु गरेका थियौं,’ साहुखलले भने ।

एफसी रियले नेपालले बर्सेनि ‘समर’ र ‘विन्टर’गरी दुईचोटि उपत्याकाव्यापी यु-१०, यु-१२ र यु-१४ लिग पनि सञ्चालन गर्दै आएको छ । एकेडेमीले समर लिगमा व्यक्तिगत रूपमा दर्ता भएका बालबालिकालाई क्लबले आन्तरिक ड्राफ्टमार्फत टिम बनाइ लिग सञ्चालन गर्ने गरेको छ भने विन्टर लिगमा विभिन्न फुटबल एकेडेमी, विद्यालय तथा अन्य सहभागी टोलीबीच प्रतिस्पर्धा गराउने गरेको छ । खेलाडी प्रशिक्षण र फुटबल प्रतियोगिताबाहेक एकेडेमीले युवा प्रशिक्षकलाई पनि सशक्तीकरण गर्दै आएको छ ।

अर्को साताबाट सुरु हुने एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पनि एफसी रियलेले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । यो एकहिसाबमा एकेडेमीका लागि एउटा नयाँ अध्याय हो । 

डिभिजन फुटबलको पिरामिडभित्र प्रवेश गर्न रियलेले तीन पटक प्रयास गरिसक्यो । तर, सफलता भने हासिल गर्न सकेको छैन । चार वर्षअघि सम्पन्न ‘सी’ डिभिजन क्वालिफायरमा रियले छनोटको निकै नजिक पुगेको थियो । तर, सेमिफाइनलमा नुवाकोट युनाइटेड एफसीसँग ५-४ ले पराजित भएपछि रियलेको सपना तुहिएको थियो । यो वर्ष हुने भनिएको ‘सी’ डिभिजन क्वालिफायरमा रियलेले आफ्नो चौथो सहभागिता जनाउँदै छ ।

एफसी रियले नेपाल महिला फुटबल टोली, तस्वीरः सरोज सापकोटा/खेलाडी । 

अर्को साताबाट सुरु हुने एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पनि एफसी रियलेले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । यो एकहिसाबमा एकेडेमीका लागि एउटा नयाँ अध्याय हो । टोलीको नेतृत्व बालगोपाल आफैंले गरिरहेका छन् ।

टोली प्रतियोगिताका लागि विगत एक महिनायता तयारीमा व्यस्त छ । टोलीमा ४-५ जना एकेडेमीका खेलाडी छन् भने बाँकी भक्तपुर, पनौती र ललितपुरबाट ‘स्काउटिङ’ गरेर ल्याइएका खेलाडी हुन् । २-३ खेलाडीबाहेक अरू खेलाडीसँग ठूलो मैदानमा खेलेको अनुभव छैन । त्यसैले तत्कालका लागि एकेडेमीले छनोट प्रतियोगितामा ठूलो लक्ष्य बोकेको छैन ।

सन्तोषले जसरी जिल्ला, क्षेत्रीय हुँदै देशकै प्रतिष्ठित क्लबबाट खेल्ने अवसर पाए । साहुखल दाजुभाइ भावी पुस्तालाई फुटबलमा लाग्न बाटो सहज बनाउन चाहन्छन् । खेलाडीले राम्रो गर्दै गए ‘हिरो प्रोजेक्ट’ को माध्यमबाट बाहिर देशमा लाने पनि उनीहरूको योजना छ ।

एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त एफसी रियले, तस्वीरः सरोज सापकोटा/खेलाडी ।

 सन्तोष अझै पनि फुटबललाई बिट मार्ने निर्णयमा पुग्न सकिरहेका छैनन् । उनीमा अझै खेल्ने जोस छ । हाँस्दै भन्छन्, ‘४-५ वर्ष अझै खेल्छु ।’

रियले नेपाललाई जापानबाट नैतिक रूपमा साथ दिइरहेका सन्तोष अहिले पनि उत्तिकै उर्जाका साथ जापानमा एमेच्योर लिग खेलिरहेका छन् । उनका राष्ट्रिय टोलीका सहकर्मी भोला सिलवाल, जुमनु राई, अनिल गुरुङ, चेतन घिमिरे, सन्दीप राई आदिले भने बुट थन्क्याइसकेका छन् । प्रायः सबैले प्रशिक्षण करिअर अँगालिसकेका छन् भने पुस्ता हस्तान्तरणको बाटोमा लागिसकेका छन् ।

अनिल ग्रासरुटमा केन्द्रित छन् भने भोला र चेतन सिनियर फुटबलको फ्रन्टलाइनमै आइसकेका छन् । तर, सन्तोष अझै पनि फुटबललाई बिट मार्ने निर्णयमा पुग्न सकिरहेका छैनन् । उनीमा अझै खेल्ने जोस छ । हाँस्दै भन्छन्, ‘४-५ वर्ष अझै खेल्छु ।’

सन्तोष साहुखल र जुमानु राई, तस्वीरः खेलाडी ।

लिग भयो भने फेरि नेपाल फर्कने होला नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘नेपालमा लिगकै लागि भने चाहिँ फर्किंदैन । नेपाली लिगको स्तर घटिसक्यो । अहिले पहिला जस्तो चार्म छैन । कम्पिटेटिभ छैन । बरू सुपर लिगमा अफर आयो भने नाइँ चाहिँ भन्दिनँ । एनएसएल एक सिजन खेल्ने चाहना छ ।’