माघ २३, २०८१ बुधबार | ०९:५६:३२
शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी आयोजक टोलीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा लगातार तेस्रो जितसँगै महावीर सेमिफाइनलमा शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी आयोजक टोलीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा लगातार तेस्रो जितसँगै महावीर सेमिफाइनलमा
शनिबारको दिन नेपाली खेलकुद

विश्वकप उपविजेताको साख टिकाउने चुनौतीमा खो खो

काठमाडौं । भर्खरै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न पहिलो खो खो विश्वकपमा नेपालले एतिहासिक उपलब्धि हासिल गरेको थियो । पहिलो संस्करणमै उपविजेता बनेको नेपाली महिला र पुरुष टोलीले सबैतिरबाट वाहवाही पाइरहेको छ ।

विश्व च्याम्पियनसिपमा पाएको यो उपलब्धिसँगै दुवै टोली सरकारबाट आकर्षक पुरस्कार राशिले सम्मानित हुने चर्चा चुलिरहेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको अभिव्यक्तिलाई मान्ने हो भने खेलाडीले छिटै कानुन बमोजिम झन्डै एक करोड रुपैयाँ प्राप्त गर्नेछन् । तर, के खो खो खेलका सम्बन्धितले खेलकुदको नियामक निकायबाट चाहेको कुरा यति मात्र हो त ?

खेलाडीलाई एउटै कुराको डर छ, कतै आफूहरूको यो उपलब्धि एउटा इतिहास बन्ने त होइन ?

 नेपाली महिला र पुरुष टोलीले विश्वकपको पहिलो सहभागितामै देशको नाम उँचो बनाएका छन् । अब उनीहरूलाई हामी पावरहाउस बनेर टिकिरहन सक्छौं कि सक्दैनौं भन्ने कुरामा डर बढेको छ ।

विश्व खेलकुदको इतिहास पल्टाएर हेर्ने हो भने कुनै पनि खेलका शक्तिशाली राष्ट्र आवश्यक लगानी र कमजोर पूर्वाधारका कारण कमजोर राष्ट्रमा परिणत भएका उदाहरण प्रशस्त छन् । नेपाली खेलकुदकै कुरा गरौं न, कुनै बेला नेपाली फुटबलको उमेर समूहलाई दक्षिण एसियाकै पावरहाउसको रूपमा लिइन्थ्यो । तर, अहिले स्थिति फेरिएको छ । अब त नेपालले तुलनात्मक रूपमा कमजोर मानिने भुटानलाई हराउन पनि संघर्ष गर्नुपर्ने तीतो यथार्थ छ ।

खो खोको हकमा पनि यो कुरा लागू हुनसक्छ । अझ खो खो त झन् हेपिएको खेलमध्ये एक हो । यो खेल नेपाली खेलकुदमा यतिसम्म गुम्सिएको छ कि विश्वकप अघिसम्म खो खो कस्तो प्रकारको खेल भन्ने कुरा धेरैलाई थाहा थिएन । अहिले पनि कयौंलाई यो कस्तो खालको खेल हो भनेर सोध्दा उत्तर दिन गाह्रो मान्छन् । नेपाली महिला र पुरुष टोलीले विश्वकपको पहिलो सहभागितामै देशको नाम उँचो बनाएका छन् । अब उनीहरूलाई हामी पावरहाउस बनेर टिकिरहन सक्छौं कि सक्दैनौं भन्ने कुरामा डर बढेको छ ।

‘हामी विश्वकपको उपविजेता त बन्यौं । तर, अब के त ? आउने दिनमा खो खो खेललाई एकदमै चुनौती छ । सम्बन्धित निकायबाट निरन्तर सहयोग नगर्ने हो भने खो खोले अबको विश्वकपमा पदक ल्याउन निकै गाह्रो हुनेछ,’ विश्वकप उपविजेता पुरुष टोलीका खेलाडी सुरज पुजारा भन्छन्, ‘अन्य राष्ट्रमा खो खोको चर्चा बल्ल सुरु भएको छ । हामीलाई त्यसैले पनि उपाधि नजिक पुग्न गाह्रो भएन ।’

सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्दै नेपाली पुरुष टोली । 

उपलब्धि हासिल गरेको भोलिपल्ट नै नेपाली टोली स्वदेश फर्किएको थियो । टोलीलाई राखेपले धिमेबाजा र ब्यान्डबाजासहित स्वागत गरेको थियो । टोलीलाई सदस्यसचिव घिसिङसँगै नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन र अन्य पदाधिकारीले फुलमाला र खादाका साथ स्वागत गरेका थिए । टोलीका शुभचिन्तक, सहकर्मी, खेलकुद संघका पदाधिकारी र खेलप्रेमीको सीमित संख्याले खुसीयाली मनाएका थिए ।

घरेलु भूमिमा खो खोको पुरुषतर्फ ७ र महिलातर्फ ६ पटक राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ । संघले यही माघमा पुरुषको आठौं राष्ट्रिय र फागुनमा महिलाको सातौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।

कार्यक्रमपश्चात विश्वकप यात्राको अनुभव साटेका सुरज केही निराश देखिए अनि मनको कुरा पोखिहाले । भने, ‘विश्वकपजस्तो मञ्चमा यति ठूलो सफलता हासिल गर्दा पनि हामीलाई स्वागत गर्न बाक्लो उपस्थितिमा शुभचिन्तक ओर्लिएनन् । हाम्रो ठाउँमा क्रिकेट वा फुटबल भएको भए जमघट र उल्लास बेग्लै हुन्थ्यो । राखेपले पनि अरू खेललाई झैै हामीलाई पनि समान रूपमा हेरिदिएको भए यस्तो हुने थिएन ।’

खो खोलाई किन समान रूपमा हेरिएन त ? जवाफ सहज छ, संघको इतिहास त्यति बलियो छैन । खो खो कहिलेदेखि खेल्न थालिएको, त्यसको पनि यकिन तथ्यांक छैन । यो खेल २०३८ सालदेखि विद्यालयको पाठ्यक्रममा समावेश गरिसकिएको थियो । २०५१ सालमा डा. रामृकष्ण महर्जनको अध्यक्षतामा खो खो संघ गठन भएको थियो । संघ गठन भएको दुई वर्षपछि अर्थात सन् १९९६ मा कोलकातामा भएको पहिलो एसियन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाएको थियो । यो प्रतियोगितालाई नै अन्तर्राष्ट्रिय मञ्चमा खो खोको पहिलो सहभागिता मान्न सकिन्छ ।

घरेलु भूमिमा खो खोको पुरुषतर्फ ७ र महिलातर्फ ६ पटक राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ । संघले यही माघमा पुरुषको आठौं राष्ट्रिय र फागुनमा महिलाको सातौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । दुवै प्रतियोगिता सुनसरीको इनरुवामा हुनेछ । यसबाहेक चैतमा कर्णालीमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुदमा पनि खो खो समावेश गरिएको छ । यसअघि पाँचौं, सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुदमा पनि खो खो समावेश थियो ।

दयनीय आर्थिक अवस्थामा भारत पुगेको खो खो टोली पदक जित्नेमा आत्मविश्वासी थिए । अन्ततः टोलीले देशका लागि ऐतिहासिक उपलब्धि हासिल गरेरै छाडे । यो उपलब्धिपछि संघले भावी दिनमा राज्यबाट आवश्यक सहयोगको अपेक्षा राखेको छ । 

नेपालले सन २०१६ मा पहिलो अन्तर्राष्ट्रिय पदक हासिल गरेको थियो । भारतको गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला र पुरुष टोलीले कांस्य पदक हासिल गरेको थियो । त्यही वर्ष भारतको इन्दोरमा सम्पन्न तेस्रो एसियाली च्याम्पियनसिपमा नेपाली महिला र पुरुष टोली दुवैले पुनः कांस्य पदक जित्यो । तीन वर्षपछि घरेलु भूमिमै भएको १३औं सागमा नेपाली महिलाले रजत र पुरुष टोलीले कांस्य पदक हासिल गरेको थियो ।

फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली पुरुष टोली । 

दुई वर्षअघि भारतको आसाममा भएको चौथो एसियाली च्याम्पियनसिपमा दुवै टोली रजत पदक जित्न सफल रह्यो । यस वर्षको सुरुमै भारतले विश्वकपको पहिलो संस्करण आयोजना गरेको हो । खो खो खेल्ने देशहरूलाई सिधै विश्वकपमा समावेश गराइएको थियो । जसअनुसार ३४ मध्ये २३ देशले सिधै विश्वकपमा प्रवेश पाएका थिए । पुरुषतर्फ २० टोलीले प्रतिस्पर्धा गरेको थियो भने महिलातर्फ १९ देशले भाग लिएको थियो ।

नेपाली खेलाडीले प्रतियोगिताका लागि ६ साता बन्द प्रशिक्षणमा बिताए । सुरुमा संघले सबै प्रदेशबाट खेलाडीको खुला छनोट गरेको थियो । त्यसपछि ५०/५० जनाको महिला र पुरुष प्रारम्भिक टोली बनाएर भारतसँग अभ्यास सिरिज खेलाइएको थियो । त्यसबाट २५/२५ खेलाडी छनोट भएका थिए । अन्तिममा १५–१५ जनाको टोली भारत प्रस्थान गरेको थियो । यो प्रक्रियामा खो खोले सरकारबाट एक रुपैयाँ पनि सहयोग प्राप्त गरेन । जसका कारण संघले ४ लाख रुपैयाँ ऋण लिनुपर्ने अवस्था सिर्जना भयो ।

दयनीय आर्थिक अवस्थामा भारत पुगेको खो खो टोली पदक जित्नेमा आत्मविश्वासी थिए । अन्ततः टोलीले देशका लागि ऐतिहासिक उपलब्धि हासिल गरेरै छाडे । यो उपलब्धिपछि संघले भावी दिनमा राज्यबाट आवश्यक सहयोगको अपेक्षा राखेको छ । संघका अध्यक्ष प्रदीप महर्जन भन्छन्, ‘हामीले राज्यलाई एउटा ठूलो उपहार दिइसकेका छौं । आउने दिनमा सम्बन्धित निकायबाट निरन्तर सहयोग अपेक्षा राखेका छौं ।’

फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टोली । 

खो खोलाई अबको दिनमा विश्वकप उपविजेताको प्रतिष्ठा जोगाइराख्ने चुनौती छ । आफ्नो साख टिकाइराख्ने चुनौती छ । नेपाली खो खो अबका दिनमा सहभागितामा मात्र सीमित हुनुहुँदैन । आवश्यक पूर्वाधार अहिलेदेखि नै जोहो गर्ने कुरामा अब कत्ति पनि ढिला गर्नुहुन्न । अझै पनि खो खोलाई समान रूपले नहेरिने हो भने नेपाल शक्तिशाली देशबाट कमजोर देशमा परिणत हुनेछ । गुम्सिएको यो खेल लोप हुने खतराबाट भने अहिले बाहिर छ । तर, के थाहा खो खोको भविष्य के होला भनेर । खो खोको प्रतिष्ठा जोगाइरहन के सम्बन्धित निकाय तयार छ त ?

राखेप सदस्यसचिव टंकलाल घिसिङ भन्छन्, ‘विश्वकपको पहिलो संस्करणमा हामी दोस्रो भयौं । दोस्रो संस्करणमा हामीलाई योभन्दा तल पुग्ने छुट छैन । आगामी दिनमा खो खोलाई रणनीतिक रूपमा सरकारले उच्च प्राथमिकताका साथ विस्तार गर्ने कुरामा प्रतिबद्धता जनाउन चाहन्छु । हामी सबैलाई बधाई ।’