कस्ले सुन्ने रेफ्रीका पीडा ?

‘फुटबलको विकास गर्न राम्रा क्लब र खेलाडी मात्रै भएर पुग्दैन । त्यसका लागि मैदानमा खेल खेलाउने रेफ्रीको स्तरवृद्धि गर्नुपर्छ,’ च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखलले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो खेलमा नै नेपाली रेफ्रीको स्तरमाथि प्रश्न उठाए ।

स्टार खेलाडीले भरिएको थ्री स्टार क्लबसँग ३-० को लज्जास्पद हार बेहोरेपछि प्रशिक्षक साहुखलले पोस्टम्याच कन्फ्रेन्समा हारको सबै दोष रेफ्रीको निर्णयमाथि थुपारेका थिए ।

प्रत्येक खेलपछि प्रशिक्षकले असफलताको सबै दोष रेफ्रीमाथि थुपार्नु नेपाली फुटबलमा नौलो विषय होइन । हरेक खेलमा खेलाडी, प्रशिक्षक र क्लबको रेफ्रीमाथि गुनासो भइरहन्छ । खासगरी आफूले हार्दा रेफ्रीमाथि दोष थोपर्न प्रतिस्पर्धीहरू अगाडि सर्ने गर्छन् ।

जित्दा रेफ्री ठीक, हार्दा रेफ्रीको स्तर छैन भन्ने अभिव्यक्ति घरेलु फुटबलमा सामान्य बन्दै गएको छ । सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक मेघराज केसी यसको राम्रो उदाहरण हुन सक्छन् । थ्री स्टारसँगको खेलदौरान टचलाइनमा प्रशिक्षक केसी रेफ्रीको निर्णयप्रति निकै नै असन्तुष्टि जनाइरहेका थिए । तर, थ्री स्टारमाथि १-० को साँघुरो जितपछि केसीको अभिव्यक्ति बदलियो । टचलाइनमा आक्रामक देखिएका उनले पोस्टम्याच कन्फ्रेन्समा भने रेफ्रीमाथि कराउनुलाई प्रशिक्षकको कर्तव्य निर्वाह गरेको रूपमा बयान गरे ।

नेपाली फुटबलमा त्यस्ता प्रशिक्षक बिरलै भेटिएलान्, जसले रेफ्रीको निर्णयमाथि प्रश्न नगरेका होलान् । मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले पनि रेफ्रीको निर्णायमाथि प्रश्न गरेका थिए । हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राई नेपाली रेफ्रीको स्तरमाथि झनै बढी आक्रामक छन् । रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै उनी मैदान नै प्रवेश गरेका थिए ।

त्यसैले पनि साहुखलले उठाएको एक प्रश्न हारको रिस मात्रै थिएन । उनले नेपाली फुटबलमा सधैं विवादित बन्दै आएको रेफ्रीको स्तरमाथिको बहसलाई ब्युँत्याइएको छ ।

साँच्चै नेपाली रेफ्रीको स्तर कमजोर नै हो त ?

रेफ्रीहरूले खेल सकिएपछि त्यसको बिरलै क्रेडिट पाउँछन् । खेलदौरान रेफ्रीका प्रायः खराब निर्णयहरू सबैको नजरमा पर्छ । उनीहरूले खेलको क्रममा राम्रो निर्णय गर्दा पनि प्रायः प्रशंसा प्राप्त गर्दैनन् । तर सानो गल्तीमा पनि रेफ्री निकै नै आलोचित बन्न पुग्छन् ।

९० मिनेटको खेलमा रेफ्री ‘मैदानको न्यायाधीश’ हो । जसको निर्णय नै अन्तिम हुन्छ । तर, फुटबल मैदानको न्यायमूर्ति भने अदालतको भन्दा फरक छ । अदालतमा न्यायाधीशले कुनै निर्णय गर्नुअघि पर्याप्त समय खर्च गर्न पाउँछन् । पक्ष-विपक्षका वकिलका जिकिरहरू सुन्न पाउँछन् । कानुनको अध्ययन गर्न पाउँछन् । मुद्दाको थप अनुसन्धान गर्न पाउँछन् ।

तर, फुटबल रेफ्रीले घटना भएको सेकेन्डभित्र आफ्नो निर्णय गरिसक्नुपर्छ । तत्काल निर्णय गर्नुपर्ने भएकाले पनि होला । रेफ्रीबाट गल्ती हुने गरेका छन् । तर रेफ्रीका कुरा कस्ले सुन्ने ?

‘रेफ्रीका गल्ती नहुने हैन, हुन्छन् । तर, हाम्रोमा आफू पराजित हुँदा मात्रै रेफ्रीलाई दोष दिने परम्परा छ । जितमा त्यही रेफ्रीले गरेको निर्णय सही लाग्छ,’ पूर्वफिफा रेफ्री दीलिप रजकले भने, ‘रेफ्रीले फाउल भएको सेकेन्डभित्र आफ्नो निर्णय लिइसक्नुपर्छ । ऊसँग धेरै सोच्ने समय हुँदैन ।’

रजककै भनाइ आधार मान्ने हो भने सेकेन्डभित्र निर्णय गर्न सक्ने क्षमता भएकै कारण उनीहरूलाई रेफ्रीको रूपमा मैदानमा जिम्मेवारी दिइएको हो । त्यसैले आधुनिक फुटबलमा प्रविधि प्रयोग भइरहेका बेला रेफ्री स्वयंले पनि आफ्नो स्तरवृद्धि गर्न आवश्यक छ । उनीहरूले देखेन र सोच्ने समय मिलेन भनेर पन्छिन मिल्दैन । उनीहरूको काम नै मैदानमा सही फुटबल खेलाउनु हो । जुन नेपाली फुटबलमा बिरलै भेटिन्छ ।

‘हाम्रो पालामा र अहिलेको रेफ्रीमा धेरै अन्तर छ । उनीहरूले पाउने रकममै धेरै सुधार आइसक्यो । तर एन्फाले गरेको लगानीअनुसार प्रतिफल भएन,’ फिफा एलिट प्यानलका पूर्वरेफ्री ज्ञानीराजा श्रेष्ठले भने, ‘रेफ्रीले गरेको गल्तीमा संघ बोल्ने प्रयास गर्दैन । रेफ्रीको गल्तीको जवाफदेहिता रेफ्री एसेसरले लिनुपर्योे‍ । तर, त्यो छैन ।’

नेपाली रेफ्रीहरूको आलोचनाले दुःखी बनेका श्रेष्ठ समयसँगै रेफ्रीले पनि आफ्नो स्तरवृद्धि गर्नुपर्ने तर्क गर्छन् । बर्सेनि एन्फाले फिफा र राष्ट्रिय रेफ्री उत्पादन गर्दै आएको छ । तर, ती बर्सेनि उत्पादन गरिएका रेफ्री संख्यामा मात्रै सीमित बने । उनीहरूले आफ्नो स्तरवृद्धि गर्न सकेनन् । न त यसप्रति एन्फाले नै चासो दियो । रेफ्रीको स्तरवृद्धिका लागि जति प्रतियोगिता हुनुपर्ने हो, नेपालमा त्यति प्रतियोगिता हुन नसकेका एक पूर्वफिफा रेफ्रीले बताए । उनले फुटबल काठमाडौं केन्द्रित भएकाले नेपाली रेफ्रीको स्तरवृद्धि हुन नसकेको बताए ।

कोभिड १९ को महामारीका कारण पछिल्लो दुई वर्षदेखि देशभित्रको फुटबल गतिविधि सुस्ताएका कारण पनि रेफ्रीबाट जारी लिगमा केही गल्ती भएको अर्का एक रेफ्री स्वीकार्छन् । भन्छन्, ‘लामो समयदेखि फुटबल भएका छैनन् । अहिले मैदानमा खेल गराउने अधिकांश नयाँ रेफ्री छन् । उनीहरूले पर्याप्त मात्रामा खेल अनुभव पाएका छैनन् । त्यसैले केही समस्या देखिएको साँचो हो । तर आलोचना भएजस्तो अवस्थाचाहिँ होइन ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) का शीर्ष पदाधिकारीको भाषण सुन्ने हो भने देशभित्र सयौं स्तरीय रेफ्री उत्पादन भइसकेका छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको भाषणमा पछिल्लो समय नछुट्ने विषय बनिसकेको छ, रेफ्री कोर्स ।

एन्फा नेतृत्वले स्तरीय प्राविधिक जनशक्ति उत्पादन गरिरहेको भन्दै गर्ने दाबीलाई दशरथ रंगशालामा जारी लिग र त्यसमाथि प्रशिक्षक, खेलाडी तथा फुटबलकर्मीले दिने अभिव्यक्तिले गिज्याइरहेको छ ।

तर पूर्वफिफा रेफ्री रजक भन्छन्, ‘पर्याप्त संख्यामा रेफ्री उत्पादन भएको कुरा साँचो हो । तर उनीहरूले आवश्यक खेल अनुभव पाएका छैनन् । रेफ्रीलाई नियमित रूपमा प्रतियोगिता खेलाउने अनुभव चाहिन्छ । त्यसो भयो भनेमात्र रेफ्री निखारिँदै जान्छन् । कोर्स गर्ने रेफ्रीहरू विभिन्न जिल्लामा छन्, जहाँ प्रतियोगिता छैनन् । काठमाडौंमा प्रतियोगिता छन्, पर्याप्त रेफ्री छैनन् ।’

नेपालमा शीर्ष डिभिजनको खेल खेलाउने रेफ्रीको संख्या पर्याप्त नहुँदा समस्या हुने गरेको लिगका खेल गराइरहेका एक रेफ्री बताउँछन् । एउटै खेल गराउन चार रेफ्री आवश्यक पर्छ । एउटा खेल गराएपछि कम्तीमा दुई दिनको आराम आवश्यक हुन्छ । नेपाली लिगमा दिनमा दुई खेल हुँदा कम्तीमा आठ रेफ्री तम्तयार हुनुपर्छ । अझ आज खेलाएकाले भोलि खेलाउन नसक्ने हुँदा त्यो संख्या दोब्बर चाहिन्छ ।

‘तर हामीकहाँ त्यो संख्यामा रेफ्री छैनन् । ८-१० जनाको भरमा लिग गराउनुपर्छ । हामीले पर्याप्त मात्रामा आराम पाइरहेका छैनन् । जसको असर प्रदर्शनमा स्वाभाविक रूपमा पर्छ,’ ती रेफ्रीले भने, ‘एउटा खेल खेलेपछि खेलाडीको कम्तीमा ४८ घण्टाको आराम भनेजस्तै रेफ्रीलाई पनि आराम चाहिन्छ नि । तर यहाँ हामीले नियमित खेल गराउनुपर्छ । हाम्रो समस्या सुनिदिने कस्ले ?’

लिग निर्देशक सञ्जिव मिश्र भने सात रेफ्री र १७ सहायक रेफ्री गरी २४ जनाको प्रयोग गरिरहेको बताउँछन् । तथापि रेफ्रीको संख्या पर्याप्त नभएका कारण समस्या परेको भने उनले स्वीकारे ।

‘हामीकहाँ रेफ्रीको संख्या एकदमै कम छ । यो हाम्रो वास्तविकता हो । यही वास्तविकताबीच बसेर हामीले काम गर्नुपरिरहेको छ । संख्या कम हुँदा रेफ्रीलाई गाह्रो भएको साँचो हो,’ मिश्रले भने, ‘लामो समयदेखि फुटबल नभएका कारण पनि सुरुआती खेलहरूमा केही समस्या भयो । हामीले अवस्था हेरेर एक दिनको आरामका भरमा पनि रेफ्रीलाई खेलको जिम्मेवारी दिनुपरेको छ । तर अब त्यस्ता समस्याको समाधान खोज्नुपर्छ ।’

सामान्यतया रेफ्रीले एउटा खेल खेलाएपछि दुई दिन आराम गर्नुपर्छ । कोभिड १९ महामारीपछि अन्तर्राष्ट्रिय फुटबलमा त्यसलाई बढाएर तीन दिन बनाइएको छ । तर नेपालमा भने जारी लिगमा रेफ्रीलाई एक दिनको मात्र आराम दिएर खेल गराउन लगाइएका कारण पनि समस्या आएको रेफ्रीहरू बताउँछन् ।

रेफ्री पेसा कि सोख ?

नेपाली फुटबलमा राम्रो भविष्य बोकेका भनेर प्रचारित रेफ्री सुदीश पाण्डे दुई वर्षअघि अस्ट्रेलिया गएका थिए । कार्यक्रम विशेषका लागि गएका फिफा ब्याचधारी पाण्डेले देश फर्किएर फेरि फुटबल खेलाउने चाहना राखेनन् । उतै बसे ।

पाण्डेका निकट मित्रहरूका अनुसार नेपालमा फर्किने इच्छा भए पनि अनिश्चित भविष्यका कारण उनले उतै पलायन हुने विकल्प रोजेका हुन् । कुनै बेला निकै आशा गरिएका अर्का रेफ्री सौगेश श्रेष्ठले पनि यो कामलाई निरन्तरता दिन चाहेनन् । आफ्नै व्यवसायमा रमाए । अर्थात उनले पनि रेफ्री भूमिकालाई पनि पेसा बन्न सक्छ भन्नेमा विश्वास गरेनन् । किनकि सौगेश र सुदीशहरूलाई नेपाली फुटबल समग्रमा एउटा उद्योग बन्ने विश्वास थिएन । र, छैन ।

पूर्वफिफा रेफ्री दीलिप रजक नेपाली फुटबलमा रेफ्री पेसा बन्न नसकेको स्वीकार्दै थप्छन्, ‘रेफ्रीमात्र गरेर जीवनयापन गर्ने कोही एकजना देखाइदिनुस् त ? यहाँ सबैको अर्को कुनै पेसा वा काम छ । म पनि रेफ्रीमात्र गरेको भए फुटबलमा टिक्न सक्दिन थिएँ । त्यसैले म मैदान व्यवस्थापनको पनि काम गर्छु ।’

खेलाडी वा प्रशिक्षकको जस्तो रेफ्रीले कतैबाट नियमित पारिश्रमिक नपाउने, प्रतियोगिता हुँदा मात्र गराएको खेलअनुसार निश्चित पारिश्रमिक पाउने, नियमित प्रतियोगिता नहुनेलगायतका कारण यो अपजसे पेसाले फुटबलकर्मीलाई तान्न सकिरहेको छैन ।

एक फिफा रेफ्री भन्छन्, ‘अन्य काम गरेर फुर्सदको समयमा रेफ्री काम गर्नुपरेको छ । कोही अध्यापन पेसामा छन् । कोही व्यापार गर्छन् । कोही जागिर खान्छन् । अनि फुर्सदको समयमा सोखका लागि रेफ्री गर्ने हो । रेफ्रीको काम पेसा नै बन्न नसकेपछि कसरी स्तर हुन्छ ?’

पेट पाल्न गरेको पेसाबाट आक्कलझुक्कल हुने फुटबल प्रतियोगिताका लागि बिदा नपाएर समेत खेलाउन नसकेको अनुभव सुनाउँदै उनले थपे, ‘मलाई रेफ्री गर्नका लािग नियमित अभ्यासलाई अफिसले किन बिदा दिने भनेर सोध्छ । प्रतियोगिता खेलाउन दुई/तीन हप्ता वा लिग हुँदा त तीन महिना बिदा कसरी मिलाउने भन्ने चिन्ता हुन्छ । यस्तो अवस्थामा काम गर्नुपरेको छ । तैपनि जस पाइन्न ।’

फुटबलमा मात्र होइन, निर्णय गर्ने काम सबैतिर अपजसे पेसा मानिन्छ । यस्तो पेसामा आर्थिक वा अन्य कुनै आकर्षण पनि नहुँदा नेपालमा रेफ्रीको अवस्था दिनानुदिन संकटमा पर्दै गइरहेको जानकारहरू बताउँछन् ।

‘फुटबलप्रतिको आफ्नो लगाव र सोखका लागि मात्र वर्षैभर फिट रहिरहनुपर्छ । सधैंभर फिट हुनका लागि प्रत्येक दिन कम्तीमा तीन घण्टा कडा अभ्यास गर्नुपर्छ । त्यहीअनुसार खानपिन र अन्य जनजीवनमा ध्यान पुर्या‍उनुपर्छ,’ एक रेफ्री भन्छन्, ‘त्यो गरेवापत पाउने भनेको गालीमात्र हो । फिफाको ब्याच पाउने १० जनाले मासिक १० हजार रुपैयाँ पाउँछन्, बाँकीले केही पाउँदैनन् । पाउनेले पनि अलि राम्रो रकम पाउने भएको भए फिफा ब्याचका लागि प्रतिस्पर्धा हुन्थ्यो होला । त्यसले स्तर सुधार हुन्थ्यो होला । तर १० हजारका लागि कसैले किन मिहिनेत गर्ने ? जतिले गरेका छौं, आफ्नो फुटबल लगावका कारणमात्र हो ।’

एन्फाका महासचिव इन्द्रमान तुलाधर रेफ्रीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको बताउँछन् । एन्फाले ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरेको छ । ‘ए’ श्रेणीमा ३० रेफ्री रहेको र तिनैबाट काम गरिरहेको बताउँदै उनले भने, ‘हामीसँग रेफ्रीको संख्या थोरै भएकै हो । तथापि सिजनमा त प्रतियोगिताहरू धेरै भएर रेफ्रीहरूलाई सिजनमा भ्याइनभ्याई नै छ । सिजनमा राम्रो कमाइ हुन्छ ।’

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar