जेष्ठ २०, २०८२ सोमबार | १६:५३:१०
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
शनिबारको दिन महिला फुटबल

असमानता, अभाव अनि अनुपम अनु

काठमाडौं । नेपाली खेलकुदको केन्द्रस्थल दशरथ रंगशाला अचेल शीर्ष डिभिजनको सहिद स्मारक लिग फुटबलमा रमाइरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक रातिको समय (फ्लडलाइट) मा समेत लिग गरेर फुटबलमा नयाँ तामझाम भित्र्याउन खोजेको छ ।

विदेशमा जस्तै सप्ताहन्त लिगको अभ्यास सुरू गर्न खोज्दा यसपालि हप्तामा चार दिनमात्र खेल भइरहेको छ । जहाँ सहभागी १४ टोलीले सातामा एकमात्रै खेल खेल्छन् । पुराना खेलाडी प्रशिक्षक वा अन्य प्राविधिक तथा प्रशासनिक जिम्मेवारीमा काम गरिरहेका छन् । चार सयभन्दा बढी खेलाडी मैदानभित्रको प्रतिस्पर्धामा व्यस्त छन् ।

आउँदो केही महिनासम्म दशरथ रंगशालाले यसैगरी हजार हाराहारीमा फुटबलकर्मी र दसौं हजार समर्थकलाई आतिथ्यता दिइरहने छ । एन्फाको योजनाअनुसार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र पोखरा रंगशाला पनि धेरथोर फुटबलको यो माहौलमा रमाउने छ ।

पुरुष फुटबलले यसरी प्रतिस्पर्धा र तामझामबीच उल्लास मनाइरहँदा यही सुन्दर खेलको अर्को पाटो भने निरीह र निरस छ । हो, लैंगिक समानताका नारा चर्को रूपमा उठाइए पनि यो सुन्दर खेलले महिलामाथि न्याय गर्न सकेको छैन । खासगरी नेपाली महिला फुटबलको दृश्य त झनै दुरूह छ । अझ प्रस्ट हुने हो भने महिला फुटबलको नेपालमा कुनै रूप नै छैन । कुनै आकार नै छैन ।

महिला फुटबलमा प्रतियोगिता र अन्य गतिविधि नहुँदा महिला खेलाडीको रंगशाला जाने कारण पनि आफ्नो खेलमा प्रतिस्पर्धा गर्नभन्दा बढी पुरुषको खेल हेर्नु बन्ने गरेको छ । यही हो नेपाली महिला फुटबलले वर्षौदेखि भोग्दै आएको नियति ।

पुरुषको जस्तै लामो लिग, निरन्तरका प्रतियोगिताहरू, आकर्षक पारिश्रमिक अनि प्यारापिटभरिका दर्शकको ताली नेपाली महिला खेलाडीको सपना हो, जुन अहिलेसम्म पूरा हुन सकेको छैन । नेपाली फुटबल प्रशासनको कार्यशैली र योजना हेर्दा अझै अनिश्चित समयसम्म त्यो पूरा हुने कुनै छाँट पनि देखिन्न ।

राष्ट्रिय महिला टोलीकी पूर्वकप्तान अनु लामा भन्छिन्, ‘पुरुष खेलाडी जस्तो हामी (महिला खेलाडी) कहिल्यै हुन सकेनौं । हामीले खेल्नै पाउँदैनौं । रिजल्ट राम्रो आएको छ । तर निरन्तर खेल्न पाउँदैनौं । काठमाडौं केन्द्रित प्रतियोगिता हुन्छ । त्यो पनि वर्षको एउटा । हाम्रो पनि देशव्यापी खेल भयो भने धेरैभन्दा धेरै अवसर पाउँछौं र नयाँ-नयाँ खेलाडी आउने थिए ।’

पुरुषको दाँजोमा देशका लागि बढी पदक जिते पनि महिला खेलाडीले त्यसको पहिचान पाएका छैनन् । उनीहरूले राज्यबाटै विभेद खेपिरहेका छन् । पुरुषको दाँजोमा धेरै पछाडि पर्दा उनीहरू आफैलाई धिक्कार्न बाध्य छन् ।

अखिल नेपाल फुटबल संघले राष्ट्रिय टोलीको हकमा लैंगिक समानताको नारा घन्काउँदै पारिश्रमिक पुरुष र महिलाको बराबर गरेको छ । तर, हेर्ने नजरमा समानता छैन । गर्ने व्यवहारमा समानता छैन । पुरुषको दाँजोमा प्रतियोगिता नगन्य हुँदा भने महिला खेलाडीले थप कुनै अवसर पाइरहेका छैनन् । राष्ट्रिय टिममा नपर्ने बाँकी सयौं खेलाडीका लागि फुटबल खेल्ने कुनै आकर्षण छैन । उसै पनि गतिविधि नहुँदा महिला खेलाडीका लागि फुटबल मैदान सधैं बिरानो बनिरहेको छ ।

‘अहिले कोभिड–१९ महामारीका कारण प्रतियोगिता भएन भन्ने तर्कमा दम होला । तर, पुरुषको गतिविधि गर्न सक्नेले महिलालाई थोरैमात्र पनि ध्यान दिएको देखिन्न । प्रतियोगिताहरू नहुँदा अधिकांश महिला खेलाडी राम्ररी मैदानको मुख नदेखिकन खेलबाटै बिदा हुने अवस्था छ,’ अनुले सुनाइन्, ‘विभागीय टोलीले महत्व नदिने हो भने नेपालमा महिला फुटबल भन्ने चिज नै हुँदैनथ्यो होला ।’

अनुको गुनासोमा दम छ । नेपाली फुटबलको सर्वोच्च निकाय (एन्फा) ले महिलाका लागि लिग बर्सेनि गर्नुपर्ने थियो । तर आक्कलझुक्कल पदाधिकारीको मुड चलेका बेलामात्र महिलाको लिग हुने गरेको छ । भएका लिगमा पनि कुनै मापदण्ड र लिगका आधारभूत मूल्य मान्यताको पालना गरिँदैन ।

पुरुष प्रधान समाजमा एउटी छोरीले खेलाडी बन्न गर्नुपरेको ठूलै संघर्षको कथा छ अनुसँग । समाजलाई छोरीले जर्सी र कट्टु लगाएर बुटको तुना कस्दै बल बोकेर मैदान उत्रिएको स्वीकार्य थिएन । खेल्नका लागि सबैभन्दा पहिला समाजको त्यो अवरोध पन्छाउनुपर्थ्यो । समाजको कुरा काट्ने प्रवृत्तिविरूद्ध विद्रोह गर्न सक्नुपर्थ्यो ।

अनुले त्यही गरिन् । जति कुरा काटिए पनि त्यसको वास्ता गरिनन् । फुटबलकर्ममा एकोहोरो आफूलाई होमिरहिन् । तर, अनुको उज्यालो फुटबल करियरमा उनको संघर्ष र विद्रोहसँगै पारिवारिक माहौलले पनि भूमिका खेलेको छ ।

मकवानपुरमा जन्मेकी अनुको परिवार रौतहट बसाइँ सर्‍यो । रौतहटको माहौल उनको जन्मथलोभन्दा महिला फुटबलप्रति थोरै उदार थियो । २०५५ सालमा रौतहट बसाइँ सरेपछि त्यहाँका अन्य केटीहरूजस्तै केटाहरूसँग खेलेर उनको फुटबल जीवन सुरु भयो ।

नेपाली महिला फुटबलको लागि उर्बरभूमिका रूपमा स्थापित रौतहटको गाउँमा खेल्दै गर्दा अनुमा फुटबलको नसा लागिसकेको थियो । उनीसँग प्रतिभा पनि थियो । त्यसैले गाउँघरका सानातिना प्रतियोगितामा अनु नियमित सहभागी बन्न थालिन् । खेल्न पाउँदा खेलाडी बनेर, नपाउँदा ‘बल गर्ल’ को रूपमा भए पनि प्रत्येक प्रतियोगितामा उनको उपस्थिति अनिवार्यजस्तै हुन थाल्यो ।

१४ वर्षको उमेरमा पुग्दा उनी रौतहटको महिला फुटबलमा मज्जासँग छाइसकेकी थिइन् । दिवंगत शेरबहादुर दर्लामीले चन्द्रनिगाहपुरमा सुरु गरेको बहुचर्चित रौतहट महिला फुटबल एकेडेमीकी उनी तेस्रो ब्याच हुन् । अनुले त्यही एकेडेमीबाट २०६० सालमा पहिलो पटक रौतहटबाट मैदान उत्रने मौका पाएकी थिइन् । १४ वर्षको उमेरमा स्थानीयस्तरमा पाएको त्यो मौकाले अनुलाई महिला फुटबलको मूलधारमा होमिने आधार बनाइदियो ।

दुई वर्षपछि अनुसहित रौतहटको टोलीले काठमाडौंमा स्कुलस्तरीय प्रतियोगितामा सहभागिता जनायो । एन्फा मुख्यालय सातदोबाटोमा भएको प्रतियोगितामा अनुको प्रदर्शन लोभलाग्दो थियो । त्यसैले त १६ वर्षकी अनु चीन भ्रमणको तयारीमा रहेको १९ वर्षमुनिको राष्ट्रिय टोलीका लागि छानिइन् ।

चीनमा पनि अनुको प्रदर्शन आसलाग्दो थियो । त्यसैले २०६३ सालमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला फुटबल टोली बनाउने निर्णय गर्दा पहिलो ब्याचमै अनु विभागीय टोलीको रोजाइमा परिन् । जसले अनुलाई व्यावसायिक रूपमै फुटबल अगाडि बढाउने मौका दियो । अब फुटबलका लागि समाजको बाधा चिर्दै विद्रोह गर्ने अवस्थाबाट अनु रोजगारीका लागि फुटबल खेल्ने अवस्थामा पुगिन् ।

कसैको रोकटोकबिना फुटबल खेल्न पाउनु नै पनि अनुका लागि एउटा ठूलो युद्ध जितेजस्तो थियो । एपिएफबाट उनी र उनका थुप्रै साथीहरूले त्यो माहौल पाएका थिए । विभागबाट पाएको त्यही उत्साहका कारण स्थापनादेखि अहिलेसम्म नेपाली घरेलु फुटबलमा हुने सबै प्रतियोगिताको मुख्य दाबेदार र अधिकांश प्रतियोगिताको च्याम्पियन अनु र उनको टिम एपिएफ हुने गरेको छ ।

एपिएफमा प्रदर्शन राम्रो भए पनि अनुले राष्ट्रिय टोलीको ढोका खोल्न चार वर्ष प्रतीक्षा गर्नुपर्‍यो । कमी उनमा थिएन । कमी थियो त महिला फुटबलको गतिविधिमा । अन्तर्राष्ट्रिय स्तरमा पनि पुरुषको दाँजोमा महिलाका प्रतियोगिता नगन्य मात्रामा हुन्थे, हुन्छन् । जसका कारण उनी २०६६ सालमात्र बंगलादेशको ढाकामा भएको पहिलो महिला साफ च्याम्पियनसिपलाई घोषित राष्ट्रिय उनी छानिइन् ।

ढाकामा माल्दिभ्सविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्दा नै गोल गरेकी अनुले त्यसपछि लगातार ९ वर्षसम्म पछाडि फर्केर हेर्नुपरेन । चोटले सताएको बेलाबाहेक राष्ट्रिय टोलीमा २०७५ सालसम्म उनी आक्रमणको मुख्य हतियारका रूपमा छाइरहिन् ।

२०७५ साल माघ २६ गते भारतविरुद्ध मञ्जलीकुमारी योञ्जनको स्थानमा इन्जुरी समयमा मैदान प्रवेश गरेयता भने अनु राष्ट्रिय टोलीबाट बाहिर छन् । नेपालमै भएको महिला साफ च्याम्पियनसिपको पाँचौ संंस्करणमा खेल्दै राष्ट्रिय टोलीबाट बिदा लिने अनुको योजना प्रशिक्षक हरि खड्काको टोलीमा नअटाएपछि अधुरै रह्यो ।

राष्ट्रिय टोलीबाट पछिल्ला वर्षमा बाहिर रहे पनि राष्ट्रका लागि अनुले गरेको योगदान स्मरणीय छ । नेपालको जर्सीमा ३५ अन्तर्राष्ट्रिय गोल गरेकी अनुको योगदानको कदरस्वरूप एन्फा दिवसमा उनी १५ लाखको नगद पुरस्कारबाट सम्मानित भइसकेकी छन् । २०७६ सालमा त्यो पुरस्कार पाएपछि अनुले अन्तर्राष्ट्रिय फुटबलमा बुट थन्क्याउने संकेत गरिसकेकी थिइन् ।

नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने फरवार्डको सूचीमा अनु दोस्रो स्थानमा छन् । उनीभन्दा बढी अन्तर्राष्ट्रिय गोल सावित्रा भण्डारी (साम्बा) ले मात्र गरेकी छन् । साम्बाले राष्ट्रिय टोलीका लागि ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । सावित्राले नेपालमै दुई वर्षअघि भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अनुको कीर्तिमान तोडेकी हुन् ।

घरेलु फुटबलमा महिलाका प्रतियोगिताको तथ्यांक कसैले राख्दैन । खेलाडीलाई आफूले खेलेका प्रतियोगिताको समेत हेक्का रहँदैन । सहभागी क्लबहरूमा पनि डकुमेन्टेसनको संस्कार छैन । आयोजक अखिल नेपाल फुटबल संघलाई त त्यो आफ्नो काम हो जस्तै लाग्दैन । त्यसैले नेपाली महिला फुटबलकी सर्वाधिक सफलमध्येकी एक खेलाडी अनुसँग पनि अरूजस्तै आफूले खेलेका खेलसंख्या, जितेका उपाधि र गरेका गोलको कुनै लेखाजोखा छैन । उनी चाहन्छिन्, जसलाई सम्झिएर बुढेसकालमा पनि रोमाञ्चित हुन पाइयोस् ।

फुटबलकै कारण घरबार बसाउन समेत नभ्याएकी अनु अहिले खेलाडी जीवनको उत्तरार्धमा छन् । उमेरले ३४ पुगे पनि उनले घरेलु फुटबलमा भने निरन्तरता दिइरहेकी छन् । सक्रिय खेल जीवनमा बाँकी केही वर्ष अनु पनि पुरुष खेलाडीजस्तै नियमित मैदानमा रमाउन चाहिन्छन् । आफूपछि आउँदै गरेको नयाँ पुस्ताका महिला खेलाडीका लागि अवस्था परिवर्तन होस् भन्ने चाहन्छिन् । आफूजस्तै नयाँ पुस्ताले प्रतियोगिताको प्रतीक्षामै वर्षौं बिताउनु नपरोस् भन्ने कामना गर्छिन् । त्यसो भए नयाँ पुस्ताले खेलेरै जीवनयापन गर्नसक्ने उनको विश्वास छ ।

‘नियमित प्रतियोगिता भए, पुरुष खेलाडीसरह प्रशिक्षण र अनुभवको मौका पाए, मैत्रीपूर्ण खेलकोे अवसर पाए, महिला खेलाडी पनि फिट रहिरहन्छन् । आर्थिक समस्या पनि हुँदैन । अनि नयाँ पुस्तामा खेलप्रति आकर्षण बढ्छ र नयाँ खेलाडी निस्कन्छन् । तर, त्यसो नहुँदा नेपाली महिला फुटबल प्रचुर सम्भावना भए पनि आफैभित्र पिल्सिइरहेको छ,’ सशस्त्र प्रहरीमा हबल्दार पदमा कार्यरत अनु भन्छिन् ।

अनुमात्र होइन नेपालमा कुनै पनि महिला फुटबलरले पुरुष खेलाडीले झैं खुलेर खेल्न पाएका छैनन् । घरपरिवार र समाजको बाधा नाघे पनि नियमित हुने महिनावारीले पनि पिरोल्ने अर्को समस्या सबै महिला खेलाडीले भोग्नैपर्ने अनिवार्य नियति हो । ती सब समस्या जितेर पनि उनीहरूले निर्धक्कसँग खेल्न पाउँदैनन् । प्रशासनले नियमित प्रतियोगिता नै नगर्दा महिलाजन्य समस्या र सामाजिक संकुचन पन्छाए पनि पुरुषसरह आफूलाई उभ्याउन नसकेको अनुभव अनु सुनाउँछिन् ।

‘पुरुषले बिना कुनै दबाब खेल्न पाउँछ । पुरुषले दिन र रातमात्र होइन, महिनौं घर छाडेर खेल्न पाउँछ । हामीलाई ‘बाउन्ड्री’ हुन्छ । खेल्न गए किन गइस् भन्ने प्रश्न आउँछ । यद्यपि अहिले धेरै सहज भएको छ । हामीले सुरु गर्दा यस्तो अवस्था थिएन । घरबाट सहजै खेल्न जान पाइँदैनथ्यो । जागिर खान आउँदा पनि ७ जना मिलेर बल्लबल्ल आएका थियौं,’ अनु विगत सम्झिन्छन् ।

संघर्षका पहाड पन्छाउँदै निरन्तर फुटबलमा लागिरहनुको फल पाएको भने अनु दंग छिन् । फुटबलकै कारण कुनै बेला आफूलाई धिक्कार्ने समाजले अहिले इज्जतका साथ राष्ट्रिय नायकको रूपमा सम्मान गर्न थालेको उनलाई लाग्छ ।

सञ्चारमाध्यमको विकासका कारण सहरी क्षेत्रमा धेरै परिवर्तन आएको आफैले भोगेकी अनु दुर्गममा भने अझै पनि महिलाका कष्ट पहाडभन्दा अग्लो भएको बताउँछिन् ।

‘पुरुषको दाँजोमा त केही पनि छैन । सहरी क्षेत्रमा अहिले फुटबल खेल्न महिलालाई पहिलाभन्दा थोरै सहज भएको छ,’ नयाँ पुस्तालाई संघर्षका लागि प्रेरित गर्दै उनले भनिन्, ‘निरन्तरको संघर्षकै कारण आज समाजले मलाई अनु लामा भनेर चिन्ने अवस्था आएको छ । पैसा कमाइनँ होला तर नाम कमाएँ । फुटबलले गर्दा पढाइ त्यति राम्रो हुन सकेन, तर अरू धेरै कुरा राम्रो भएको छ । सबैभन्दा ठूलो कुरा देशका लागि केही गर्न सकें भन्ने आत्मसन्तुष्टि मिलेको छ ।’