श्यरबको एउटै लक्ष्य पुल्चोकलाई ‘बी’ डिभिजनमा उकाल्ने

काठमाडौं । घरेलु फुटबल पछ्याउने नेपाली समर्थकका लागि श्यरब लो तामाङ नौलो नाम नहुन सक्छ । अझ नजिकबाट बुझ्ने  समर्थकका लागि त झन् उनी यस्ता खेलाडी हुन्, जसबाट प्रत्येक खेलमा स्तरीय प्रदर्शनको अपेक्षा राख्न सकिन्छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा अहिले सहिद स्मारक ‘सी’ डिभिजन लिग चलिरहेको छ । यही लिगमा उच्च गोलकर्ताको दौडमा पहिलो नम्बरमा रहेका खेलाडी हुन् २१ वर्षे श्यरब । पुल्चोक स्पोर्टस क्लबका कप्तान उनी सेन्ट्रल फरवार्डमा छाउँछन् ।

श्यरबले ९ खेलमा ८ गोल गरिसकेका छन् । अन्तिम चरणका चार खेल बाँकी रहँदा पुल्चोक १९ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ । बाँकी खेलमा शतप्रतिशत जित निकाल्ने हो भने पुल्चोकले दोस्रो प्रयासमै ‘बी’ डिभिजनमा पुनरागमन गर्नेछ ।

प्रशिक्षक राजेश शाहीको नेतृत्वमा रहेको पुल्चोक जारी लिगमा सबैभन्दा धेरै गोल गर्ने क्लब हो । अहिलेसम्म टोलीले २३ गोल गरेको छ, प्रतिखेल साढे दुई गोलको औसतमा ।

पुल्चोकले तीन वर्षअघि मात्र दोस्रो डिभिजनको हैसियत गुमाएको थियो । कोरोना भाइरस महामारीबीच २०७७ को फागुनमा सकिएको ‘बी’ डिभिजन लिगमा तालिकाको पुछारमा रहँदै पुल्चोक रेलिगेसनमा परेको थियो । श्यरबले त्यतिबेला पहिलो पटक लिग फुटबलमा डेब्यू गरेका थिए ।

तस्वीर: एन्फा

‘पुल्चोकले मलाई १७ वर्षको हुँदा नै खेल्ने मौका दिएको थियो । त्यतिबेला एउटा टोली मात्र रेलिगेसनमा पर्ने नियम थियो । करिअरकै पहिलो लिगमा रेलिगेसन पर्दा निकै नरमाइलो महसुस भयो । अहिले मलाई क्लबले कप्तानी जिम्मेवारी दिएको छ । आफ्नो नेतृत्वमा पुल्चोकलाई फेरि पनि दोस्रो डिभिजनमा फर्काउने लक्ष्य छ,’ श्यरबले आफ्नो लक्ष्य सुनाए ।

आफ्नो पहिलो लिग अनुभवमा स्यारबले ९ खेल खेल्दा ५ गोल गरेका थिए । गत संस्करण ‘सी’ डिभिजन लिगमा १० गोल गरेपछि भने उनको परिचय फेरिएको थियो । त्यति बेलादेखि नै उनले घरेलु फुटबल पछ्याउने समर्थकसामु आफू असाधारण खेलाडी रहेको प्रमाणित गरेका थिए ।

तर, उनको प्रभावशाली प्रदर्शन बावजुद पुल्चोकले पाँचौं स्थानमा रहेर लिग अन्त्य गरेको थियो । अहिले सी डिभिजनको दोस्रो अनुभवमा पुल्चोक माथि उक्लिन मात्र चार जित टाढा छ । यो चुनौतीका लागि कप्तान श्यरब तयार छन् ।

‘फागुनमा मलाई क्लबबाट फोन आउँदा नै मैले परिवारलाई भनेको थिएँ, जसरी भए पनि यसपालि लिगमा सबैभन्दा धेरै गोल मैले गर्छु र टोलीलाई ‘बी’ पु¥याएर नै छाड्छु,’ श्यरब भन्छन्, ‘गर्व महसुस भइरहेको छ आफ्नो नाम यसरी पहिलो नम्बरमा देखिँदा । यस्तै कुराले नै हो मलाई थप हौसला मिल्ने । तर, मेरो व्यक्तिगत प्रदर्शनभन्दा टोलीको समग्र प्रदर्शनले मान्यता राख्छ । हामीले अन्य टोलीको तुलनामा बढी गोल गर्न सकेका छौं । अबको हाम्रो लक्ष्य जसरी पनि बी डिभिजन पुग्ने हो ।’

तस्वीर: एन्फा

प्रशिक्षक राजेश शाहीको नेतृत्वमा रहेको पुल्चोक जारी लिगमा सबैभन्दा धेरै गोल गर्ने क्लब हो । अहिलेसम्म टोलीले २३ गोल गरेको छ, प्रतिखेल साढे दुई गोलको औसतमा ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ मा जन्मिएका श्यरब सानैबाट खेलकुदमा सक्रिय थिए । फुटबलभन्दा अघि उनी कराते खेल्थे । त्यसपछि समय बित्दै जाँदा करातेबाट कसरी उनको मोह फुटबलतिर जाग्यो, उनले पत्तो नै पाएनन् ।

एन्फामा रहँदा आफ्नै साथीहरूले देशको प्रतिनिधित्व गरिरहँदा आफू भने उक्त अवसरबाट वञ्चित हुनुपरेको पीडा अझै पनि श्यरबमा कता-कता लुकेको छ । 

सुरुमा श्यरबले घर नजिकै रहेको नव जनजागृति युवा क्लब (एनजेजेवाइसी) बाट फुटबल खेल्न सुरु गरेका थिए । सन् २०१५ मा एन्फाले एकेडेमीका लागि १४ वर्षमुनिको खेलाडी छनोट कार्यक्रम गरेको थियो । त्यसमा उनी बारा जिल्लाबाट छानिएर काठमाडौं आए । केन्द्रीय छनोटमा पनि प्रशिक्षकको नजरमा परेपछि श्यरब एकेडेमीको २६ सदस्यीय अन्तिम टोलीमा समेटिए । शीर्ष डिभिजनको अनुभव बटुलिसकेका दर्शन गुरुङ, विशाल सुनार, रन्दीप पौडेल उनका ब्याचमेट हुन् ।

एकेडेमीमा स्यारबले तीन वर्ष बिताए । जहाँ उनले प्राविधिक ज्ञानहरू सिक्ने अवसर पाए अनि आफूलाई थप निखारे ।

‘क्लोज क्याम्पमा हुँदा हामीलाइ हरि (खड्का) सर, सनोज (श्रेष्ठ) सरहरूले प्राविधिक कुराहरू सिकाउनुभयो । त्यसमाथि जापानी टेक्निकल डाइरेक्टरबाट थप कुराहरू सिक्न पायौं,’ स्यारबले एन्फाका ती दिनहरू सम्झिए ।

तस्वीर: एमडीएसी स्पोर्ट्स

उनी सेप्टेम्बर २०१७ मा  घरेलु भूमिमै भएको एएफसी यु-१६ च्याम्पियनसिप २०१८ छनोट प्रतियोगिताका लागि अन्तिम २३ सदस्यीय टोलीमा छानिएका थिए । तर, अन्तिममा अवसर पाएनन् । त्यतिबेला इराक, भारत र प्यालेस्टाइनसम्मिलित समूहमा नेपाली टोली एकमात्र अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

त्यसको एक महिनाअघि नेपालले घरेलु भूमिमा साफ यु-१५ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यतिबेला भने स्यारब अन्तिम टोलीमा अटाएका थिएनन् । साफमा नेपाल फाइनलमा भारतसँग २-१ ले पराजित भएको थियो । दुवै प्रतियोगितामा नेपाली टोलीका प्रशिक्षक थिए, सुनिल श्रेष्ठ ।

यी दुई ठूला प्रतियोगिताअघि नेपाली टोलीले तयारीस्वरुप श्रीलंकामा मैत्रीपूर्ण खेल खेलेको थियो । भुटानसँगको मैत्रीपूर्ण खेलमा भने श्यरबले पहिलो पटक देशको जर्सी लगाएर खेल्ने मौका पाएका थिए ।

आफ्नै नेतृत्वमा पुल्चोकलाई दोस्रो डिभिजन फर्काउने लक्ष्य बोकेका श्यरबसँग अहिले एउटै मात्र चुनौती छ, त्यो हो आफ्नो टोलीलाई उपाधि दाबेदार दुई टोली बागमती र आरसी ३२ विरुद्धको खेलमा बलियो नेतृत्व गर्ने ।

एन्फामा रहँदा आफ्नै साथीहरूले देशको प्रतिनिधित्व गरिरहँदा आफू भने उक्त अवसरबाट वञ्चित हुनुपरेको पीडा अझै पनि श्यरबमा कता-कता लुकेको छ । भन्छन्, ‘एकेडेमीमै रहेका बेला हामीलाई ताजकिस्तान फुटबल फेस्टिबलमा लगिएको थियो । तर, २६ खेलाडीमा १८ जना छनोट हुँदा म परिनँ । सायद सानो कदको भएर होला, त्यतिबेला मैले त्यो अवसर गुमाएँ । त्यसपछि नेपालमै साफमा अवसर नपाउँदा दुःख नलाग्ने कुरै भएन ।’

‘कद भनेको हाम्रो नियन्त्रणबाहिरको कुरा हो । त्यसैले जुन कुरा हाम्रो नियन्त्रणमा छ, त्यसमा मिहिनेत गरिरहेको छु । अहिले शारीरिक पक्षलाई पनि प्राथमिकता दिइरहेको छु । अहिले राम्रो प्रदर्शन गरिरहँदा एन्फाका सरहरूबाट प्रशंसा पाइरहेको छु,’ श्यरब खुसी बाँडछन् ।

तस्वीरः एन्फा

बाराबाट छानिएर यसरी एकेडेमीमा बस्ने उनी पहिलो खेलाडी हुन् । तर, यो अवसर परिवारको साथविना सम्भव थिएन । श्यरब आफैं भन्छन्, ‘कहिल्यै घरबाट बाहिर नबसेको १३ वर्षको बच्चा यसरी एक्कासि काठमाडौंमा होस्टेल बस्नुपर्ने भएकाले आमाले चाहिँ छनोट नभए पनि हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो । त्यतिबेला आमालाई एन्फा भनेको के हो भन्ने थाहा थिएन । पछि बुझ्दै जाँदा पूरा साथ दिनुभयो । अहिले त राष्ट्रिय टोलीमा पर्नुपर्छ है भनेर हौसला दिनुहुन्छ ।’

श्यरबका बुवा भने एन्फा र फुटबल गतिविधिबारे जानकार थिए । छोराको फुटबल मोह बुझिसकेका बुवाले छनोट कार्यक्रममा दिएको साथले जोकोहीलाई पनि प्रेरणा दिन सक्छ । ‘बारा जिल्लाको छनोट कलैया उपमहानगरपालिकामा भएको थियो । त्यो समयमा मेरो परीक्षा चलिरहेको थियो । केही विषयमा सहभागी पनि भइसकेको थिएँ । त्यतिबेला बुवाले मलाई परीक्षा छाडेर छनोट खेल्न जाऊ भन्नुभयो,’ स्यारब बुवाको साथलाई सम्झिए ।

एन्फामा तीन वर्ष बिताइसकेपछि उनले २०१८ मा च्यासल क्लबबाट ललित स्मृति यु-१८ प्रतियोगिता खेल्ने मौका पाए । त्यतिबेला एकेडेमीका खेलाडीलाई एन्फाले सहभागी १६ क्लबमा बाँडेको थियो । समूह चरणमा ३ गोल गरेका श्यरबले दोहोरो पहेँलो कार्ड खाएका कारण क्वार्टरफाइनल खेल्न पाएनन् । टोली पनि आफ्नो प्रमुख खेलाडी नहुँदा क्वाटरफाइनलबाटै बाहिरियो । त्यसको एक वर्षपछि पनि श्यरब सोही प्रतियोगितामा च्यासलकै जर्सीमा देखिए । तर, त्यस पटक टोलीले समूह चरण पार गर्न सकेन ।

बागमती अहिले श्यरबका एन्फा एकेडेमीमा रहँदाका प्रशिक्षक सुनिल श्रेष्ठको नेतृत्वमा छ । यो एकहिसाबले गुरुचेलाको भिडन्त पनि हुनेछ । जेहोस्, खेल रोचक र प्रतिस्पर्धात्मक हुनेमा कुनै शंका छैन ।

च्यासलको टोलीपछि श्यरब पुल्चोकमा जोडिएका हुन् । पुल्चोकका अध्यक्ष रवीन्द्र जोशी स्यारबसम्मिलित एएफसी छनोट खेल्ने नेपाली यु-१८ टोलीका व्यवस्थापक थिए । जोशी हाल एन्फाका कोषाध्यक्ष समेत हुन् । श्यरबको खेल कौशलता नजिकबाट बुझेका जोशीले उनलाई पुल्चोक भित्र्याएका हुन् । लिग हुने नहुने टुंगोबीच यसपालि पनि जोशीकै टेलिफोन संवादमा श्यरब ‘सी’ खेल्न राजधानी आइपुगेका थिए ।

आफ्नै नेतृत्वमा पुल्चोकलाई दोस्रो डिभिजन फर्काउने लक्ष्य बोकेका श्यरबसँग अहिले एउटै मात्र चुनौती छ, त्यो हो आफ्नो टोलीलाई उपाधि दाबेदार दुई टोली बागमती र आरसी ३२ विरुद्धको खेलमा बलियो नेतृत्व गर्ने ।

तस्वीरः एन्फा

एक खेल बढी खेलेको आरसी ३२, २२ अंकका साथ तालिकाको पहिलो स्थानमा छ भने बागमती र पुलचोक क्रमशः दोस्रो र तेस्रो स्थानमा ।

पुल्चोकले आइतबार गोलबजारविरुद्ध खेल्ने छ । गोलबजार आफैं रेलिगेसनबाट जोगिन संघर्षरत छ । टोलीलाई जितबाहेक विकल्प छैन । त्यसैले गोलबजारविरुद्ध जित्न त्यति सजिलो हुने छैन । 

बागमती अहिले श्यरबका एन्फा एकेडेमीमा रहँदाका प्रशिक्षक सुनिल श्रेष्ठको नेतृत्वमा छ । यो एकहिसाबले गुरुचेलाको भिडन्त पनि हुनेछ । जेहोस्, खेल रोचक र प्रतिस्पर्धात्मक हुनेमा कुनै शंका छैन ।

यी सबै कुरालाई एकातिर राख्दै श्यरबलाई सोध्नैपर्ने महत्त्वपूर्ण प्रश्न हो, लिगपछि लक्ष्य के हुनेछ ? यसमा श्यरबको जवाफ छ, ‘लक्ष्य त सिनियर टोलीबाटै खेल्ने छ । जबसम्म त्यहाँ पुग्दिनँ, तबसम्म हार मान्दिनँ । अहिलेका लागि मेरो ध्यान लिगमै केन्द्रित छ । यही साता दुई ठूला टोलीसँग प्रतिस्पर्धा गर्नु छ । जसरी पनि ‘बी’ डिभिजनमा पुग्ने हो ।’ 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar