काठमाडौं । यसै साता विश्व त्रिकेटले एउटा ठूलो व्यक्तित्व सधैंका लागि गुमाएको छ । तिनी कोही खेलाडी थिननन् । तर कोही स्टार खेलाडीको अगाडि पनि सुपरस्टार थिए । तिनी हुन्, डिकी बर्ड । उनी क्रिकेट अम्पायरका पर्याय थिए । इङ्ल्यान्डको ब्रान्डसीमा उनको निधन हुँदा ९२ वर्षका थिए । पछिल्लो समय उनी बुढेसकालमा शारीरिक अभ्यासबारे जनचेतना बढाउन सक्रिय थिए ।
नेपाली मिडियामा उनको निधनबारे खासै चर्चा पनि भएन । अचेलका क्रिकेट समर्थकले उनलाई चिन्न पनि सकेनन् । यसले देखाउँछ, विश्व क्रिकेट इतिहासप्रति नै कमजोर ज्ञान । जेहोस्, जतिले उनीबारे सुनेका थिएनन्, अब कम्तीमा एकपल्ट डिकी बर्डबारे जान्ने प्रयास गरे राम्रो । एक क्रिकेट अम्पायरका रूपमा उनी आफ्नो समय असाध्यै लोकप्रिय थिए । उनी अम्पायर बस्दा खेलाडीको प्रतिक्रिया नै बेग्लै हुने गथ्र्यो ।
त्यति मात्र होइन, उनी आम क्रिकेटप्रेमीमाझ पनि उत्तिकै प्रिय थिए । डिकी बर्डको एउटा बानी थियो, क्रिकेटप्रेमीसँग कुराकानी गरिरहनुपर्ने । ख्यालठट्टा पनि गरिरहनुपथ्र्यो । तर उनी असाध्यै भलाद्मी पनि थिए । उनले कुल ६६ टेस्ट र ६९ एकदिवसीय खेलमा अम्पायरिङ गरे । अरू धेरैले जस्तो उनको सुरुआत पनि एउटा खेलाडीकै रूपमा भएको थियो । ठीकठाकका खेलाडीका रूपमा थिए ।
उनको समयमा प्रथम श्रेणीको क्रिकेट मात्र हुन्थ्यो । उनी पक्का योर्कसायरवाला थिए, सुरुमा यही योर्कसायर काउन्टीका लागि खेले । त्यसपछि लंकासायरका लागि खेले । ओपनर थिए उनी खासमा । खेल्न छाडेपछि उनी अम्पायर बने । एक खेलाडीका रूपमा पाउन नसकेको अद्वितीय सफलता उनले अम्पायरका रूपमा पाए । उनले सन् १९७० तिर पहिलो पटक अम्पायरको काम सुरु गरेका थिए ।
डिकी बर्डले तीन एकदिवसीय विश्वकपको फाइनल खेलाए । यो उनको अम्पारिङ जीवनको सबैभन्दा उल्लेखनीय पक्ष थियो ।
त्यसको केही वर्षपछि सन् १९७३ तिर नै टेस्ट क्रिकेटमा अम्पायरिङको अवसर पाए । त्यो भनेको न्युजिल्यान्डको इङ्ल्यान्ड भ्रमण थियो । त्यही वर्ष उनले वेस्ट इन्डिजविरुद्धको सिरिजमा पनि निर्णायकको भूमिका निभाए । त्यही सिरिजको लर्डसमा भएको टेस्टको एउटा घटना सबैलाई रोमाञ्च बनाउने खाले छ ।
टेस्टको शनिबारको दिन लर्डसमा के हल्ला चल्यो भने त्यहाँ बम राखिएको छ । यस्तोमा दर्शक जति मैदानमा छिरे दर्शकदीर्घाबाट । अम्पायरिङ गरिरहेका डिकी बर्डले पनि मैदान छाडेनन् । बरू पिचमाथि राखिएको कभरमै बसिरहे । त्यो कस्तो दृश्य थियो भने कभरको वरिपरि हजारौं दर्शक थिए, पिचमा डिकी बर्ड । एक घण्टाभन्दा बढी समय त्यो स्थिति रह्यो र यसबीच उनले आम दर्शकसँग कुराकानी गरिरहे । यो विश्व क्रिकेटको एउटा ‘आइकोनिक मुभमेन्ट’ थियो ।
डिकी बर्डले तीन एकदिवसीय विश्वकपको फाइनल खेलाए । यो उनको अम्पारिङ जीवनको सबैभन्दा उल्लेखनीय पक्ष थियो । सुरुआती तीनै विश्वकप इङ्ल्यान्डमा भएको थियो, त्यसको फाइनल पनि लगातार लर्डसमै भएको थियो । वर्ष थियो, सन् १९७५, १९७९ र १९८३ । त्यसमध्ये सुरुआती दुई संस्करणमा वेस्ट इन्डिज विजयी रह्यो भने तेस्रोमा कपिल देवको भारत च्याम्पियन भएको थियो ।
पहिलो संस्करणको फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई हराएको थियो । फाइनलमा अत्यधिक दर्शक जति मैदानमा ओर्लिए । त्यसमध्ये दर्शकले डिकी बर्डले लगाइरहेको ‘ह्याट’ नै चोरे । पछि कुनै दिन उनी लन्डनको एउटा बसमा डिकी बर्ड गइरहेका थिए, ड्राइभरले त्यस्तै ‘ह्याट’ लगाइरहेको देखे । उनी नजिक गएर सोधे, ‘तपार्इंले यो ह्याट कहाँबाट लिनुभएको हो ?’
ती ड्राइभरले पछाडि नै फर्कन आवश्यक मानेनन् र भने, ‘के तपाई डिकी बर्डलाई चिन्नुहुन्छ ? सन् १९७५ को लर्डसमा भएको फाइनलपछि मैले उनको त्यो ह्याट चोरेको थिएँ ।’
साँच्चै यस्ता थिए, यी डिकी बर्ड । उनका यस्ता कथा धेरै पो पाइन्छ । अब उनी पनि सम्झनामा मात्र रहनेछ । त्रिकेटको एउटा पारखीको रूपमा उनीप्रति हार्दिक श्रद्धान्जली ।