काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् ।
शुक्रबार सुपर फोरअन्तर्गत खेलमा जित निकाल्दै एपिएफ र सुदूरपश्चिम उपाधि नजिक पुगेका हुन् । फाइनल खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार बिहान ९ बजे सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगिताको ११औं संस्करणमा दुई विभागीय टोली(एपिएफ र आर्मी) सहित सात प्रदेशको सहभागिता थियो ।
एपिएफ नवौं र सुदूरपश्चिम तेस्रो पटक फाइलन खेल्दैछन् ।
आर्मीले पहिलो पटक प्रतियोगितामा भाग लिएको हो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा एपिएफ, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश तथा समूह ‘बी’मा आर्मी, बागमती, कोशी र मधेश प्रदेश रहेका थिए ।
सबै टोलीले एकअर्काविरुद्ध खेलेपछि हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुगेका गरेका थिए । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम तथा समूह ‘बी’ बाट आर्मी र बागमती अन्तिम चारमा पुगेका थिए । सुपर फोरमा अर्को समूहबाट आएका टोलीसँग प्रतिस्पर्धा गरेपछि फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
एपिएफ र सुदूरपश्चिम दोस्रो पटक यो प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । यसअघि पाँचौं संस्करणको फाइनलमा सुदूरपश्मिविरुद्ध एपिएफले बाजी मारेको थियो । यसैगरी जारी प्रतियोगितामा पनि यी दुई टोली दोस्रो पटक आमने सामने हुँदैछन् । समूह चरणको खेल एपिएफले आफ्नो पक्षमा पारेको थियो ।
फाइनल पुग्ने टोलीको यात्राएपिएफ क्लब
प्रतियोगिताको सर्वाधिक सफल टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै फाइनल पुगेको छ । साबिक विजेता एपिएफ नवौं पटक फाइनल खेल्दै छ । यसअघि ८ फाइनल खेल्दा एपिएफ ६ पटक च्याम्पियन बनेको छ ।
एपिएफ पहिलो संस्करणमा क्षेत्र नम्बर २ (जनकपुर) र छैटौं संस्करणमा कोशीसँग पराजित भएको थियो । एपिएफ आठौं संस्करणमा मात्र फाइनल पुग्न सकेन ।
यस संस्करणको एपिएफले समूह चरणमा कर्णाली प्रदेशलाई ११ रन, गण्डकीलाई ८ विकेट र सुदूरपश्चिमलाई ५९ रनले पराजित गरेको थियो । लुम्बिनीसँगको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
२ अंकसहित सुपर फोरमा पुगेको एपिएफले पहिलो खेलमा बागमतीविरुद्ध १० विकेट र विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ६९ रनले पराजित गरेको थियो ।
इन्दु बर्माको कप्तानीमा रहेको एपिएफलाई ममता चौधरी, राजमति ऐरी, कविता जोशी, रेखा रावल जस्ता खेलाडीको साथ रहनेछ ।
एपिएफका लागि ममताले ५ खेलमा ९७.९४ को स्ट्राइक रेटमा एक अर्धशतकसहित १६६ रन जोडेकी छन् । उनी प्रतियोगितामा सर्वाधिक रन जोड्नेमा अगाडि छन् । रेखाले ५ खेलमा ३.५० को इकोनोमीमा ७ विकेट लिएकी छन् । उनी सर्वाधिक विकेट लिने खेलाडी सूचीमा चौथो स्थानमा छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश भाग्यमानी ठहरिँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । सुपर फोरमा आर्मी र बागमती प्रदेशसँग समान अंक रहे पनि नेट रनरेटमा अघि रहँदा सुदूरपश्चिम फाइलन पुग्यो ।
सुदूरपश्चिम तेस्रो पटक फाइलन खेल्दै छ । यसअघिका दुई फाइनलमा सुदूरपश्चिमले समान १ जित र हार नतिजा सामना गरेको छ ।
पाँचौं संस्करणमा एपिएफसँग हार बेहोरेको सुदूरपश्चिम आठौं संस्करणमा कोशीलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । समूह चरणमा ३ जित र १ हारको नतिजा निकालेको सुदूरपश्चिम उपविजेताका रूपमा सुपर फोरमा प्रवेश गरेको थियो ।
विना अंक सुपर फोरमा पुगेको सुदूरपश्चिमले पहिलो खेलमा आर्मीसँग १४ रनको हार बेहोर्दा दोस्रो तथा अन्तिम खेलमा बागमतीलाई ३० रनले हराएको हो ।
त्यसअघि समूह चरणमा गण्डकीलाई ७ विकेट, लुम्बिनीलाई ५७ रन र कर्णालीलाई १० विकेटले पराजित गरेको सुदूरपश्चिमले एपिएफसँग ५९ रनको हार बेहोरेको थियो । विन्दु रावलको कप्तानीमा रहेको सुदूरपश्चिमलाई कविता कुँवर, रेवती धामी, ऋतु कनौजिया, आशिका महराजस्ता खेलाडीको साथ रहनेछ ।
कविताले ६ खेलमा ११४.४० को स्ट्राइकरेटमा एक अर्धशतकसहित १३५ रन बनाएकी छन् । उनी शीर्ष रन बनाउनेको सूचीमा तेस्रो स्थानमा छन् । रेवतीले ६ खेलमा ४.१५ को इकोनोमीमा ८ विकेट लिएकी छन् । उनी सर्वाधिक विकेट लिने खेलाडी सूचीमा दोस्रो स्थानमा छन् ।