काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताको आकार लिइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने प्रतियोगितामा विराटनगर र जनकपुरसँगै काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिको दौडमा छन् ।
अबको करिब एक महिना नेपाल क्रिकेटमय बन्ने छ । एनपिएल नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने गतिलो प्लेटफर्म हो ।
खेलाडी डटकमले पनि एनपिएलमा चम्कन सक्ने आठ खेलाडीको सूची तयार पारेको छ । यहाँ कुनै पनि टोलीका मार्की खेलाडी समावेश गरिएको छैन । एउटा टोलीबाट एक खेलाडीमात्रै राखिएको छ ।
यस्ता छन् एनपिएलमा चम्कन सक्ने नेपाली खेलाडीको प्रदर्शन: शाहब आलम (काठमाडौं गुर्खाज)
शाहब आलम काठमाडौं गुर्खाजका प्रमुख बलर हुन् । काठमाडौंको बलिङ केही हदसम्म शाहबमै निर्भर रहनेछ । राष्ट्रिय टोलीमा खासै मौका नपाए पनि स्पिनर शाहबले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
शाहबले गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा २३ विकेट लिएका थिए । त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्ने शाहबसँग एभरेस्ट लिग, धनगढी लिग, पोखरा प्रिमियर लिग र नेपाल टी-२० लिग खेलेको पनि अनुभव छ । उनले सन् २०१९ को पोखरा र २०२१ मा इभेस्ट प्रिमियर लिगको उपाधि जितेका थिए ।
शाहबले ६ अन्तर्राष्ट्रिय ट्वान्टी-२० खेलमा ९.२२ को इकोनोमीमा ४ विकेट लिएका छन् ।
रिजन ढकाल (चितवन राइनोज)
चितवन राइजोनको बलिङ आक्रमण तीव्र गतिका बलर रिजन ढकालमा निर्भर रहने छ । युवा बलर रिजन वागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेल्ने गर्छन् । उनीसँग नेपाल टी-२० लिग खेलेको अनुभव छ । रिजनले गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा १५ विकेट लिएका थिए ।
उनले नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियका ६ खेलमा ७.६१ को इकोनोमीमा ६ विकेट लिएका छन् ।
गुलशन झा (कर्णाली याक्स)
युवा अलराउन्डर गुलशन झाबाट कर्णाली याक्सले ठूलो अपेक्षा राखेको छ । पछिल्लो समय राम्रो लयमा देखिएका उनी ब्याट र बल दुवैबाट टोलीलाई योगदान दिन सक्छन् ।
गुलशनले सन् २०२२ मा नेपाल ट्वान्टी-२० लिग जितेका थिए । नेपाल पुलिस क्लबाट घरेलु प्रतियोगिता खेल्ने उनी पछिल्लो समय राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।
उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियका ३० खेलमा १३९.८८ को स्ट्राइक रेटमा एक अर्धशतकसहित ४७७ रन प्रहार गरेका छन् । गुलशनले ७.२५ को इकोनोमी रेटमा २२ विकेट पनि लिएका छन् ।
सन्दीप जोरा (लुम्बिनी लायन्स)
सन्दीप जोरा आक्रमक ब्याटिङका लागि परिचित छन् । लुम्बिनीको ब्याटिङ आक्रमण केही हदसम्म सन्दीपमै निर्भर रहनेछ । मध्यक्रमका ब्याटर सन्दीपले गत महिना सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा नेपालको कप्तानी गरेका थिए । उनले प्रतियोगिताका ४ खेलमा १०८ रन बनाएका थिए ।
सन्दीपसँग एभरेस्ट प्रिमियर लिग र नेपाल ट्वान्टी-२० लिगको अनुभव छ । नेपाल एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्ने सन्दीपले गत वर्ष प्रधानमन्त्री कपमा १८५ रन बनाएका थिए ।
सन्दीपले नेपालका लागि ३१ ट्वान्टी-२० खेलमा ११८.२ को स्ट्राइक रेटमा तीन अर्धशतकसहित ३८८ रन बनाएका छन् ।
प्रतिश जिसी (सन्दीप जोराकिंग्स)
युवा बलिङ अलराउन्डर प्रतिश जिसी विराटनगर किंग्सका महत्त्वपूर्ण खेलाडी हुन् । तीव्र गति बलरसँग जुनसुकै बेला ब्याटरमाथि हाबी हुनसक्ने क्षमता हुन्छ । प्रतिशले गत महिना सम्पन्न हङकङ सिक्सेसका चार खेल खेल्दा ७ विकेट लिएका थिए ।
वागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेल्ने प्रतिशसँग नेपाल ट्वान्टी-२० लिगको अनुभव छ । उनले गत वर्ष प्रधानमन्त्री कपमा १० विकेट लिएका थिए ।
प्रतिशले नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रियका १० खेलमा ८.०८ औसत इकोनोमीमा ८ विकेट लिएका छन् ।
ललितनारायण राजवंशी (जनकपुर बोल्ट्स)
जनकपुरले बलिङ आक्रमण ललित राजवंशीकै भरोसा गर्नेछ । स्पिनर ललित नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने गर्छन् । उनीसँग इपिएल, धनगढी प्रिमियर, पोखरा प्रिमियर र नेपाल ट्वान्टी-२० लिगको अनुभव छ ।
उनले सन् २०१७ मा धनगढी र २०१८ मा पोखरा प्रिमियर लिगको उपाधि जितेका थिए । गत वर्ष पुलिसलाई प्रधानमन्त्री कपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ललितले २३ विकेट लिएका थिए ।
उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियका ३३ खेलमा ६.३० को इकोनोमीमा २१ रन लिएका छन् ।
आरिफ शेख (सुदूरपश्चिम रोयल्स)
आरिफ शेख मध्यक्रमका भरपर्दा ब्याटर हुन् । सुदूरपश्चिमको इनिङ्स अगाडि बढाउने जिम्मेवारी आरिफकै काँधमा हुनेछ । ट्वान्टी-२० मा पछिल्लो समय लय समात्न नसके पनि आरिफ जुनसुकै बेला बलमाथि घातक बन्न सक्ने क्षमता राख्छन् ।
नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने आरिफसँग इपिएल, धनगढी, पोखरा प्रिमियर र नेपाल ट्वान्टी–२० लिगको अनुभव छ । आरिफले सन् २०१६ मा एभरेस्ट र २०१७ मा धनगढी प्रिमियर लिगको उपाधि जितेका थिए ।
आरिफले गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा २५६ रन प्रहार गरेका थिए । उनले नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियका ४१ खेलमा १०८.८१ को स्ट्राइक रेटमा ४९४ रन प्रहार गरेका छन् ।
सागर ढकाल (पोखरा एभेन्जर्स)
स्पिनर सागर ढकाल पोखरा एभेन्जर्सका प्रमुख खेलाडी हुन् । राष्ट्रिय टोलीका लागि खासै मौका नपाएका उनले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । नेपाल पुलिस क्लबाट घरेलु प्रतियोगिता खेल्ने सागरसँग इपिएल, धनगढी प्रिमियर लिग र नेपाल ट्वान्टी-२० लिगको अनुभव छ ।
सागरले सन् २०२१ मा इपिएल र २०२२ मा नेपाल ट्वान्टी-२० लिगको उपाधि जितेका छन् । उनी इपिएलको च्याम्पियन बन्दा सर्वोकृष्ट खेलाडी पनि चुनिएका थिए । सागरले गत वर्ष पुलिसलाई प्रधानमन्त्री कपको च्याम्पियन बनाउने क्रममा १९ विकेट लिएका थिए ।
उनले नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियका ६ खेलमा ८.१० को इकोनोमीमा दुई विकेट लिएका छन् ।