मंसिर ६, २०८१ बिहीबार | १५:३५:३९
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन रञ्जन खड्का

महिला भलिबललाई प्रेरित गर्दै खड्का

काठमाडौं । पेसाले बैंकर, पूर्व प्रधानपञ्चका पुत्र हुनुको नाताले समाजसेवा जन्मँदै रगतमा लिएर आएका थिए अनि प्रेमचाहिँ भलिबल खेलसँग । उनी हुन एनआईसी एसिया बैंकका सहायक सिइओ रञ्जन खड्का । खड्काको परिचयमा यत्ति मात्र भनियो भने त्यो कहिल्यै पूर्ण हुँदैन ।

उनी सात वर्षअघि राष्ट्रिय खेलको मान्यता पाएर ‘छुनमुन’ गरिरहेको भलिबलका पूर्वखेलाडी हुन् । १५ वर्षसम्म उनले राष्ट्रिय/ अन्तर्राष्ट्रिय स्तरमा थुप्रै प्रतियोगिता खेलेका छन् ।

भलिबलमात्र नभई स्कुले जीवनमा उनी एथलेटिक्समा छोटो दुरीका राम्रा धावक थिए । लङजम्प र हाइजम्पमा पनि उनको राम्रो दखल थियो । केही समय कराते खेले भने तेक्वान्दोमा पनि केही महिना बिताए । काठमाडौं उपत्यकामा जन्मिएर हुर्केका खड्काले फुटबल नखेल्ने त कुरै भएन । ऊबेलाको काठमाडौंमा फुटबलको संस्कार नै त्यस्तो थियो ।

तर, भलिबल उनका लागि खेलभन्दा माथि थियो । यो खेलसँग विशेष लगाव थियो । खासमा भलिबल त उनको प्रेम नै थियो । यसकारण करियर भलिबलमा अगाडि बढ्यो । युवावस्था पूरै यही खेलसँग लुट्पुटिँदै बिताए ।

खेल्न छोडेपछि उनी एभरेस्ट बैंकको जागिरे हुँदै कर्पोरेट करियरमा रम्न थाले । पेसाले बैंकिङ रोजे पनि भलिबलसँगको प्रेम छुटेको थिएन । खेलाडीको रूपमा नाता टुट्यो । तर, प्रेम यथावत थियो । माया भएपछि खेलाडीकै भूमिका किन चाहियो र ? अब खड्का नेपालको भलिबलमा सहयोगी र प्रायोजकका रूपमा रूपान्तरित भए । अझ योभन्दा पनि माथि उनले भलिबल उकास्ने अभियन्ताको भूमिका रोजे ।

सामाजिक काममा खेलकुदको क्षेत्रमा गरिएका योगदान पनि थपिँदा प्रतिष्ठानलाई २०७९ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनसेवाश्री पञ्चम’बाट विभूषित गरेकी थिइन् ।

देशको सबै भूगोलमा, सबै आर्थिक हैसियतले सहजै जीवनशैली बनाउन सक्ने लोकप्रिय खेललाई राष्ट्रिय खेलको हैसियत हासिल गर्ने अवस्थामा पुर्याउन आधार खडा गर्नेमध्ये एकका रूपमा खड्काले आफूलाई उभ्याए ।

भलिबल उकास्ने अभियानको बिर्सनै नसकिने संस्था शेरबहादुर खडका स्मृति प्रतिष्ठानका मियो हुन्, उनी । स्वर्गीय पिताको नाममा खड्काले २०७० सालमा स्थापना गरेको संस्था हो, शेरबहादुर खड्का स्मृति प्रतिष्ठान ।

तत्कालीन बालकोट गाउँ पञ्चायतका प्रधानपञ्च पिताको नाममा खोलेको संस्था भएकाले सुरुआती उद्देश्य समाजसेवा नै थियो । बालकोटलाई सुन्दर र समृद्ध बनाउन पिताले देखेर पूरा गर्न नभ्याएका अधुरा सपना पूरा गर्नु थियो ।

उद्देश्यअनुरुप सामाजिक काममा प्रतिष्ठानको समर्पण उदाहरणीय छ । प्रतिष्ठानले गरेका कामको सूची लामै छ । भुइँचालोले स्थानीय बालकोट निमावि भत्काउँदा विद्यालयका लागि भाडामा लिएर जग्गा उपलब्ध गराउनु, पढाइमा राम्रो भएर पनि कमजोर आर्थिक अवस्थाका कारण समस्यामा रहेका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु, ज्येष्ठ नागरिक सम्मान र पशुपति आर्यघाटमा शैय्या दान गर्नु प्रतिष्ठानले गरेका कामका केही प्रतिनिधि नमुना हुन् ।

यस्तै सामाजिक काममा खेलकुदको क्षेत्रमा गरिएका योगदान पनि थपिँदा प्रतिष्ठानलाई २०७९ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनसेवाश्री पञ्चम’बाट विभूषित गरेकी थिइन् ।

बुवालाई बालकोटमा अहिले पनि पूरा गाउँ पञ्चायतभर पानी खुवाउने, बत्ती बाल्ने, हनुमन्तेमा पुल हाल्ने, बाटो बनाउने र आवतजावत सजिलो पार्ने सामाजिक नेताका रूपमा बालकोटले बढी चिन्थ्यो । सामाजिक अभियन्ता बुवाको नाममा प्रतिष्ठान अनि प्राथमिकतामा चाहिँ भलिबल किन ?

उनका अनुसार बुवा शेरबहादुरले सामाजिक काम गर्न सजिलो होस भनेर स्थानीयस्तरमा क्लब स्थापना गर्न पनि भूमिका खेलेका थिए । 

खड्काले यो प्रश्नको सामना गरिरहनुपर्छ । यो आफैंमा यस्तो प्रश्न हो, जसको उत्तर दिँदा खड्का सधैं भावुक हुन्छन्, उत्साहित हुन्छन् र बेग्लै उर्जा प्रवाह भएको महसुस गर्छन । स्वर्गवासी पिताले समाजका लागि गरेको योगदान, आफूहरूमा भरेको प्रेरणा र रोलमोडल पितासँगका सम्झनाको पुनर्ताजगी हुने भएकाले खड्का यो प्रश्न आउँदा थप उज्यालिन्छन् । उसै गोरो वर्ण र ह“सिलो मुहारमा खड्काको त्यतिबेला अझै बढी उर्जा, जोस, भावना र भविष्यमा थप केही गर्ने प्रतिबद्धता झल्किन्छ । आफ्ना पिता र  उहाँले गरेका कामप्रतिको गौरव आँखामै पढ्न सकिन्छ ।

‘बुवाले १५ वर्ष बालकोटमा प्रधानपञ्च भएर सेवा गर्नुभयो । त्यसपछि साढे तीन वर्ष भक्तपुर जिल्ला किसान संघको अध्यक्ष भएर पनि कृषि क्षेत्रमा नमुना काम गर्नुभयो,’ खड्का पिताको योगदान सम्झँदै जोसिन्छन्, ‘त्यसक्रममा उहाँले बालकोटलाई कौशलटारसँग जोड्ने पुल निर्माणमा नेतृत्व प्रदान गर्नुभयो । बाटोघाटो बनाउने, पानी खान नपाएर काकाकुलझै रहेको बालकोटलाई पानी खुवाउने र पूरा गाउँभर एकसाथ बिजुली बत्ती बाल्ने काम पनि उहाँकै नेतृत्वमा भयो । तर, बुवालाई हामीले चिन्ने चाहिँ उहाँका यी योगदान र खेलकुदको भावनासँग पनि हो । त्यसकारण हामीले भलिबललाई प्राथमिकतामा राखेका हौं ।’

बुवाकै कारण आफू राष्ट्रियस्तरको खेलाडी भएको खड्काको बुझाइ छ । उनका अनुसार बुवा शेरबहादुरले सामाजिक काम गर्न सजिलो होस भनेर स्थानीयस्तरमा क्लब स्थापना गर्न पनि भूमिका खेलेका थिए । युवालाई कुलतमा नफसुन र स्वास्थ्य राम्रो होस भनेर खेलकुदमा लाग्न उनी प्रेरित गरिरहन्थे ।

एकदिनको घटना बडो रोचक छ । रञ्जन खड्का त्यो बेला आठ कक्षामा पढ्थे । स्कुलबाट घर फर्किंदैथिए । स्थानीय मैदानमा एउटा फुटबल प्रतियोगिताको फाइनल चलिरहेको थियो । बुवा प्रमुख अतिथि । किशोरावस्थामा पाइला हाल्दै गरेका रञ्जन घरतिर नलागी मैदानमै भुलिए ।

खेल सकिँदा दुवै टिमका खेलाडीहरू पसिनाले निथ्रुक्कै भिजेका थिए । अहिलेजस्तो खेलाडीले खेल सकिँदा पानी वा अन्य पेय पाउने अवस्था थिएन । अझ गाउँस्तरको खेलमा त त्यो कल्पना बाहिरको विषय भइहाल्यो । पसिनामा लतपत खेलाडी दाइहरूलाई देखेर रञ्जनको मन रसायो । उनले नजिकैको पसलमा गएर १५ वटा फ्रुटी उधारो मागे । पसलेले प्रधानपञ्चका छोरालाई नदिने कुरै भएन । उनले त्यो फ्रुटी पसिनाले भिजेका खेलाडीलाई दिए ।

तत्कालका लागि रञ्जनको मन शान्त भयो । तर ऊबेला कहाँबाट तिर्नु १५ वटा फ्रुटीको पैसा ? उनले बुवासँग त्यो माग्ने आँट गरेनन् । आमासँग मागे । उतिबेलाको काँठमा प्रधानपञ्चकै श्रीमती भए पनि त्यति पैसा नहुने ।

 प्रतिष्ठानले स्थापनाको दुई वर्षमै २०७२ सालबाट राष्ट्रिष्य स्तरको महिला भलिबल प्रतियोगिताको आयोजना थाल्यो । जसको सात संस्करण भव्यताका साथ सम्पन्न भइसकेको छ ।

केही दिनपछि पसलेले बुवासँग त्यो पैसा मागेछन् । छोराले १५ वटा फ्रुटी उधारोमा किन किन्यो ? सम्झँदै रिसले प्रधानपञ्चको पारो तात्यो । छोरालाई बोलाएर सोध्दा रञ्जनले उत्तर दिएका थिए, ‘मैले ती खेलाडी दाइहरू पसिनामा डुबेको देखेपछि माया लागेर किनेर दिएको ।’

छोराको उत्तर सुनेपछि बावुको रिस पूरै शान्त भयो । बरू उनी त खुसी पो भए । उनलाई लाग्यो, ‘छोराले मेरो बिँडो थाम्ने भयो । मेरा सद्गुणहरू उसमा सरेछ ।’ त्यसपछि शेरबहादुरको भावना बोल्यो, ‘स्याबास छोरा । यो सहयोगी भावना जीवनभर कायम राख्नु । आफ्ना लागि त सबैले केही न केही गरेकै छन् । समाजका लागि र आवश्यकतामा रहेकाका लागि केही गर्न सके जीवन सार्थक हुन्छ ।’

‘बुवाले त्यतिबेला भनेका भारी शब्दहरू मेरो बाल मस्तिष्कले ठ्याक्कै समाउन सकेन । तर बुवाको कुराबाट सानै उमेरमा मलाई समाज र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने कुरा चाहिँ मनमा गहिरोसँग गड्यो । खासमा मलाई खेलाडी बनाएको पनि बुवाले नै हो । बुवाले खेलकुदमा लाग्न निकै हौस्याउनुहुन्थ्यो । गाउँमा खेल्ने वातावरण गाउँ पञ्चायतकै तर्फबाट मिलाइदिनुहुन्थ्यो,’ रञ्जन सम्झन्छन्, ‘अहिले हामीले उहाँको नाममा प्रतिष्ठान चलाएर सामाजिक कामका साथै भलिबलमा केही गर्न खोज्दा पक्कै पनि बुवाले माथिबाट स्याबास भनिरहनुभएको होला ।’

पिताका त्यस्तै भावनाबाट प्रेरित भएरै रञ्जनले प्रतिष्ठान खोलेका थिए । प्रतिष्ठानलाई सामाजिक कामसँगै खेलकुदमा समर्पित गर्ने निधो गरेका थिए । रञ्जनले त्यस्तो निर्णय एक्लै चाहिँ लिएनन् । आमा गमली खड्कासँग अनुमति लिए । श्रीमती सीतासँग राय मागे । दिदीबहिनी र परिवारका अन्य सदस्यको ऐक्यबद्धता जुटाए ।

त्यसपछि प्रतिष्ठानको शुभारम्भ भयो । र, सामाजिक कामसँगै भलिबल, त्यसमा पनि महिला विधामा प्रतिष्ठानले आफूलाई केन्द्रित गर्यो ।

किन त ?

अध्यक्षका रूपमा प्रतिष्ठानको नेतृत्व गरिरहेका रञ्जन प्रस्ट छन् । भन्छन्, ‘मैले डेढ दशक सक्रिय खेलाडीका रूपमा भलिबलमा बिताएँ । त्यो बेला मैले टिम खेलको सट्टा अर्को कुनै व्यक्तिगत विधाको खेल रोजेको भए देशका लागि पदक जित्न सक्थें । देशको नाम राख्न सक्थें । तर भलिबल नै मेरो पहिलो रोजाइ रह्यो । यही खेलका कारण हो, मैले कर्पोरेट क्षेत्रमा काम गर्ने अवसर पाएँ । आफूले पूरा युवावस्था बिताएकै खेलमा केही गरौं भन्ने लाग्यो । महिला भलिबल रोज्ने क्रममा चाहिँ बुवाको वाणी याद आयो । उहाँले आवश्यकतामा रहेकाका लागि केही गर्नू भन्नुभएको थियो । पुरुषको तुलनामा नेपालमा महिलाले कम अवसर पाउने भएकाले हामीले अवसर दिने निर्णय गर्यौं ।’

प्रतिष्ठानले प्रत्येक वर्ष एक खेलाडीलाई प्रोत्साहित गर्न स्पेसल अवार्डको शीर्षकमा ५० हजार रुपैयाँ प्रदान गर्छ ।

दिवंगत पिताबाट पाएको संस्कारमा खड्का परिवारको संकल्प मिसिएर सुरु भएको प्रतिष्ठानले स्थापनाको दुई वर्षमै २०७२ सालबाट राष्ट्रिष्य स्तरको महिला भलिबल प्रतियोगिताको आयोजना थाल्यो । जसको सात संस्करण भव्यताका साथ सम्पन्न भइसकेको छ । आठौं संस्करणको तयारीमा प्रतिष्ठान लागिसकेको छ ।

महामारीका रूपमा २०७७ सालको सुरुमा पूरा विश्वलाई आक्रान्त बनाएको कोभिड महामारीका कारण तीन वर्ष प्रतियोगिता आयोजना सम्भव भएन । त्यसबाहेक प्रत्येक वर्ष प्रतियोगिताका साथै प्रतिष्ठानका खेलकुद गतिविधिले निरन्तरता पाइरहेकै छन् ।

२०७२ सालमा विजेता टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगितामा अहिले च्याम्पियनले ५ लाख रुपैयाँ पाउने भइसकेको छ । उपविजेतालाई २ लाख ५० हजार रुपैयाँ दिइन्छ । सँगै प्रतिष्ठानले प्रत्येक वर्ष एक खेलाडीलाई प्रोत्साहित गर्न स्पेसल अवार्डको शीर्षकमा ५० हजार रुपैयाँ प्रदान गर्छ । प्रतियोगितामै विभिन्न सात फरक विधामा खेलाडी र प्रशिक्षकलाई प्रदर्शनका आधारमा जनही २५ हजार रुपैयाँबाट पुरस्कृत गरिन्छ ।

विदेशमा भलिबल प्रतियोगिता हुँदा ग्रासरुटमा काम गरेका प्रशिक्षकलाई अनुभव हासिल होस भनेर आफूले लगानी गरेर पठाउने, राष्ट्रिय खेलाडीलाई अध्ययनमा सहयोग पुगोस भनेर छात्रवृत्ति प्रदान गर्ने, खेलाडीसँगै तिनलाई निखार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षकलाई समेत समेटेर गुरुचेली सम्मान गर्ने, एक्सिलेन्सी अवार्डलगायतका विभिन्न शीर्षक खोज्दै भलिबलकर्मीलाई नगदबाटै सम्मान गर्ने जस्ता प्रतिष्ठानले गरेका कामका सूची निकै लामो छ ।

छुटाउनै नहुने चाहिँ महिला खेलाडी उत्पादनमा अतुलनीय योगदान रहेको न्यु डायमन्ड एकेडेमीलाई प्रायोजन, १२औं साग खेल्न भारत जाँदै गरेको राष्ट्रिय टिमलाई खेल पोसाक प्रायोजन अनि आवश्यकता पर्दा नेपाली भलिबलको सर्वोच्च निकाय भलिबल संघलाई नै लाखौं रुपैयाँ नगद सहयोग गरेका प्रसंग प्रतिष्ठानको यात्रामा संरक्षित छन् ।

पछिल्लो समय महिला भलिबलमा प्रतिष्ठानले बर्सेनि पुरस्कार र सम्मानका लागि खर्च गर्ने रकम मात्र १४ लाख रुपैयाँ पुगिसक्यो । उल्लेख गर्नैपर्ने अर्को पक्ष के भने प्रतिष्ठानका कुनै पनि पुरस्कार वा सम्मानको रकम उधारोमा हुँदैन । तत्काल ठाउँका ठाउँ सम्बन्धित खेलाडी, प्रशिक्षक, भलिबलकर्मी वा संस्थालाई हस्तान्तरण गरिन्छ ।

 देशका प्रत्येक कुनाकाप्चामा हुने स-साना गतिविधिदेखि त्रिपुरेश्वरमा हुने ठूला अन्तर्राष्ट्रिय प्रतियोगितासम्म राष्ट्रिय खेल भलिबल ठूला व्यावसायिक प्रतिष्ठानको प्रायोजनबाट सुसज्जित छ ।

नेपालको भलिबलमात्र नभई समग्र खेलकुदमै पुरस्कार घोषणा गर्ने तर वर्षौं झुलाउने, सके दिँदै नदिने कुप्रथा जस्तो बनिसकेका बेला प्रतिष्ठानले भने नयाँ थालनी गरेको छ । यही कारण त्यस्तो कुप्रथालाई संस्कारका रूपमा स्थापित गर्नेहरूले नै भलिबल वा समग्र खेलकुदमा आफूलाई मसिहाको रूपमा प्रस्तुत गर्दा भने प्रतिष्ठानका अध्यक्ष खड्काको मन कुँडिन्छ ।

‘वर्षौंदेखि खेलाडी र खेललाई खेलकै नाममा ठगिरहनेहरूको पारा देख्दा दुःख लाग्छ । कम्तीमा हामीले चाहिँ त्यस्तो नगर्ने संकल्प लिएका छौं । खेलाडी र भलिबललाई केही योगदान गरौं भन्ने उद्देश्य राखेर काम गर्ने, अनि खेलाडी र टिमलाई नै वर्षौंसम्म दुःख दिने त्यो असल नियत होइन । यसले त आफैले भनेको उद्देश्यलाई घात गर्छ नि,’ उनी भावुक सुनिए ।

खड्काले आफ्नै पारिवारिक ढुकुटीबाट सुरु गरेको प्रतियोगिता तथा सम्मानका गतिविधिहरू अहिले झन्डै आत्मनिर्भर भइसकेको छ । नहोस पनि किन ? सरकारी अनुदान, दाताको सहयोग र सामुदायिक प्रयासमा घिस्रिइरहेको भलिबलमा कर्पोरेट भित्र्याउँदै नयाँ सम्भावना खोजीको थालनी खड्काले नै गरेका थिए ।

खड्काले प्रतियोगिताको पहिलो संस्करणमा बर्जर पेन्ट्स र एसियन पेन्ट्सलाई प्रायोजकका रूपमा भित्र्याएका थिए ।  गत वर्ष सातौं संस्करण सम्पन्न हुँदासम्म देशका थुप्रै अग्रणी व्यावसायिक प्रतिष्ठानहरू शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको साथमा छन् ।

अनि खड्काले सुरु गरेको व्यावसायिक प्रतिष्ठानलाई प्रायोजकका रूपमा भित्र्याउने संस्कार देशव्यापी भइसकेको छ । देशका प्रत्येक कुनाकाप्चामा हुने स-साना गतिविधिदेखि त्रिपुरेश्वरमा हुने ठूला अन्तर्राष्ट्रिय प्रतियोगितासम्म राष्ट्रिय खेल भलिबल ठूला व्यावसायिक प्रतिष्ठानको प्रायोजनबाट सुसज्जित छ ।

जसले थापाथलीस्थित ट्रेड टावरको भुईतलास्थित एनआइसी एसिया बैंकको कार्यकक्षमा बस्दा होस वा बालकोटमै एकाबिहानै ब्याडमिन्टन कोर्टमा पसिना चुहाइरहँदा खड्कालाई बेग्लै आत्मसन्तुष्टि दिन्छ । आखिर सामाजिक कामबाट पाउने भनेकै आत्मसन्तुष्टि त हो । खेलकुदमा एउटा अभियन्ताका रूपमा गरिएका इमानदार योगदानको फल आत्मसन्तुष्टि नै त हो । खड्काले पनि त्यही आत्मसन्तुष्टिका लागि त यी सबथोक गरेका हुन नि ।